close

साकेलामा मुन्दुम पदमार्ग निर्माण

साकेलामा मुन्दुम पदमार्ग निर्माण

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको साकेला गाउँपालिकामा मुन्दुम ट्रेल (पदमार्ग) निर्माण सुरु गरिएको छ ।
 

पूर्वका चार पहाडी जिल्लाको पर्यटन प्रवद्र्धनका लागि परिकल्पना गरिएको मुन्दुम ट्रेलको सुरुआती बिन्दुका रूपमा रहेको साकेला वडा नम्बर ३ खिदिमास्थित तावाभञ्ज्याङबाट साकेलाकै वडा नम्बर १ बाँझेच्यानडाँडाको चखेवाभञ्ज्याङसम्मको १० किलोमिटर दूरीको पदमार्ग निर्माण सुरु गरिएको हो ।

 

आगामी ३० वैशाख २०७८ मा सम्पन्न गर्ने सम्झौता गरिएको मुन्दुम पदमार्ग प्रवद्र्धन परियोजना प्रदेशसभा सांसद रामकुमार राईले शिलान्यास गरे ।

 

पर्यटन प्रवद्र्धनका लागि खोटाङ र भोजपुरको सीमामा पर्ने तावाभञ्ज्याङबाट मैयुडाँडा, बगरेभञ्ज्याङ, जुगेडाँडा, लौरेडाँडा हुँदै साल्पापोखरी पुग्ने ६० किलोमिटर दूरीको मुन्दुम पदमार्गअन्तर्गत साकेलाभित्र पर्ने खण्डको काम सुरु गरिएको हो ।

 

‘स्थानीय सरकारको ३० प्रतिशत, प्रदेश सरकारको ३५ प्रतिशत र स्वीस सरकार विकास सहयोगको ३५ प्रतिशत गरी ९१ लाख ४५ हजार दुई सय ५२ रुपैयाँमा पूरा गर्ने गरी गाउँपालिकाभित्र पर्ने मुन्दुम पदमार्ग निर्माण सुरु गरिएको हो’, साकेला गाउँपालिका अध्यक्ष अर्जुन खड्काले भने ।

 

मुन्दुम पदमार्गको साकेलाभित्र पर्ने खण्डको कामका लागि गत ३० मंसिरमा उपभोक्ता समितिसँग सम्झौता गरिएको हो ।

 

मुन्दुम पदमार्गको तावाभञ्ज्याङ–चखेवाभञ्ज्याङ खण्डमा पदमार्गको नयाँ ट्र्याक खोल्ने, पदमार्ग चौडा गर्ने, सुक्खा ढुंगाको सिँढी निर्माण गर्ने, सोलिङ गर्ने, जालीको सिँढी निर्माण गर्ने, पदयात्री विश्राम चौतारो निर्माण गर्ने, सूचनापाटी राख्नेलगायत काम गरिने मुन्दुम पदमार्ग निर्माण तथा व्यवस्थापन समितिले जनाएको छ ।

चखेवाभञ्ज्याङभन्दा माथि केपिलासगढी गाउँपालिकाको सिमानासम्मको मुन्दुम पदमार्ग निर्माण भोजपुरको टेम्केमैयु गाउँपालिकाले गर्ने मुन्दुम पदमार्ग प्रवद्र्धन परियोजना संयोजक हीराबाबु थापाले जानकारी दिए ।

 


आन्तरिक तथा बाह्य पर्यटकलाई तावाभञ्ज्याङबाट टेम्केमैयु, केपिलासगढी, साल्पा सिलिछो गाउँपालिका, साल्पापोखरी हुँदै साल्पा सिलिछो पिक पु¥याउने र ताराखसे पोखरीबाट भोजपुरको षडानन्द नगरपालिका, भोजपुर नगरपालिका हुँदै मध्यपहाडी लोकमार्गको साम्पाङ चोकमा झार्ने लक्ष्यका साथ मुन्दुम पदमार्गको परिकल्पना गरिएको छ ।
 

 

ताराखसे पोखरीबाट साम्पाङ चोकको दूरी करिब २५ किलोमिटर छ । स्थानीय आर्थिक विकासका लागि प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमार्फत मुन्दुम पदमार्ग प्रवद्र्धन परियोजनाको काम सुरु गरिएको हो ।

 

खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभाको रमणीय स्थल चखेवाभञ्ज्याङ, मैयुङडाँडा, हाँसपोखरी, सातदोबाटो, रावाधाप, साल्पापोखरी, सिलिचुङडाँडालगायतको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले २०७५ सालमा मुन्धुम ट्रेलको अवधारणा अघि सारिएको थियो ।

 


साकेला गाउँपालिका–३ खिदिमाको तावाभञ्ज्याङ आसपासमा चिया रोप्ने तयारी गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको युवा रूपान्तरण कार्यक्रमअन्तर्गत तावाभञ्ज्याङ आसपासमा चिया रोप्ने तयारी गरिएको हो ।