close

देवदहमा भूमिहीन तथा सुकुम्बासी लगत संकलन कार्यालय स्थापना

देवदहमा भूमिहीन तथा सुकुम्बासी लगत संकलन कार्यालय स्थापना

Trulli
ADVERTISEMENT

रुपन्देही- रुपन्देहीको देवदह नगरपालिकामा भूमिहीन तथा सुकुम्बासी लगत संकलन इकाइ कार्यालय स्थापना भएको छ । इकाइको भूमिहीन सुकुम्बासी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले उद्घाटन गरे ।

 

कार्यक्रममा अध्यक्ष ज्ञवालीले अहिलेको भूमिसम्बन्धी समस्या समाधान आयोग विगतका आयोगजस्तो नभएको बताए । उनले भने, ‘यो सदाका लागि नेपालको समग्र भूमिसम्बन्धी समस्या समाधान गर्ने अधिकारसम्पन्न आयोग हो । सोहीअनुसार काम अगाडि बढाएका छौँ ।’


विगतका आयोग गठन आदेशका भरमा तथा मन्त्रिपरिषद् र मन्त्रीस्तरीय निर्णयका आधारमा गठन भएको बताउँदै अध्यक्ष ज्ञवालीले वर्तमान आयोग संसद्ले गठन गरेकाले यसको कानुनी आधार बलियो रहेको तर्क गरे ।

 

अध्यक्ष ज्ञवालीले आयोगले वन-जंगल क्षेत्र, प्रति, ऐलानी जस्तोसुकै जग्गामा बसोबास गरेका भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न सक्ने अधिकार रहेको जानकारी दिए ।

 

देवदह नगरप्रमुख हिराबहादुर केसीले अव्यवस्थित बसोबासीको हकमा फाराम भर्दा उनीहरूको देशभर रहेका घरजग्गा, गाडी घोडा, नगद तथा गरगहना र बैंक तथा वित्तीय संस्थामा रहेको कर्जासमेत उल्लेख हुने गरी ढाँचा तयार गर्न आयोगका अध्यक्ष ज्ञवालीलाई सुझाए ।

 

तत्कालीन अवस्थामा पर्वतका बाढीपीडितलाई देवदहमा ल्याएर बसोबास गराएका चमबहादुर गुरुङले आफ्नो पालामा भए÷गरेका कामसम्बन्धी कागजपत्र आयोग अध्यक्ष ज्ञवालीलाई हस्तान्तरण गरे ।

 

‘भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन इकाइ स्थापनासँगै देवदहमा रहेको भूमिसम्बन्धी समस्या सदाका लागि समाधान हुने विश्वास छ’, नगरप्रमुख केसीले भने । 


भूमिहीन दलित, सुकुम्बासीलाई भूमि उपलब्ध गराउने र अव्यवस्थित बसोबास व्यवस्थित गर्ने उद्देश्यले देवदह नगरपालिकाले भूमिसम्बन्धी समस्या समाधान आयोगसँग सम्झौता गरी अनुसूची २ बमोजिम विवरण संकलन गर्ने, इकाइ गठन, आवश्यक जनशक्ति व्यवस्थापन, नगर र वडास्तरीय समन्वय समिति गठनलगायतका काम भइरहेको नगरप्रमुख केसीले बताए ।

 

लगत संकलनका लागि नगरबाट खटाइएका कर्मचारीले घरदैलोमा पुग्नेछन् । सही र सत्य विवरण दिन केसीले नगरबासीलाई अनुरोध गरे ।

 

‘गलत विवरण दिए दण्ड-सजायको व्यवस्था छ । लगत प्रविस्ट गर्ने, जग्गा नापजाँच गर्ने, प्रमाणीकरण गर्ने कार्य स्थानीय सरकारले निःशुल्क गर्नेछ’, नगरप्रमुख केसीले भने ।

 

देवदह नगरकी उपप्रमुख विद्यालक्ष्मी गुरुङले सरकार परिवर्तनपिच्छे बल्झिरहने सुकुम्बासी समस्या समाधान आयोगले काम गर्ने विश्वास व्यक्त गरिन् ।