close

गाउँपालिका प्रहरीमा भर्ती हुन युवा–युवतीको ताँती

गाउँपालिका प्रहरीमा भर्ती हुन युवा–युवतीको ताँती

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गाउँपालिका प्रहरी भर्ना छनोट परीक्षा सुरु गरेको छ । १ गाउँपालिका हवल्दार र ४ जना गाउँपालिका प्रहरी जवान भर्नाका लागि गाउँपालिकाले शनिबारदेखि छनोट परीक्षा सुरु गरेको हो ।

 

हवल्दारका लागि गाउँपालिकाभित्रका १० युवाको आवेदन परेकामा २ जना अनुपस्थित भएका छन् भने प्रहरी जवानका लागि ४५ जनाको आवेदन परेकामा २९ जना मात्र छनोट परीक्षामा सामेल भएका छन् ।

 

प्रहरी जवानतर्फ १६ जना आवेदक अनुपस्थित भएको गाउँपालिकाका आइटी अफिसर मनिचन्द्र राईले बताए । ३ दिनसम्म सञ्चालन हुने परीक्षाको पहिलो दिन आवेदकको बेयरिङ चेक (उचाइ, तौल, छाती नाप जाँच) तथा फिजिकल फिटनेसका लागि फ्री मेडिकल चेक गरिएको छ ।

 

छनोट चरणमा उचाइ नपुग्दा प्रहरी जवानतर्फका १ जना आवेदक बाहिरिएका छन् । गाउँपालिका प्रहरीका लागि ३ युवतीको आवेदन गरेको छ ।

 

१ युवतीले हवल्दार र प्रहरी जवान दुवै पदका लागि आवेदन दिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको शान्ति–सुरक्षा एबं दैनिक कार्य सम्पादनका क्रममा सहयोगीका रूपमा उपयोग गर्ने गरी अस्थायी (करार) गाउँपालिका प्रहरी भर्नाको तयारी गरेको हो ।

 

७ वडा रहेको गाउँपालिकामा पालिका प्रहरी ऐन पास गरेरै गाउँपालिका प्रहरी हवल्दार र गाउँपालिका प्रहरी जवान भर्ना गर्न लागिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।

 

‘गाउँ प्रहरी हवल्दारका लागि एसईई वा सोसरह उत्तीर्ण तथा प्रहरी जवानका लागि कक्षा ८ उत्तीर्ण महिला र पुरुषबाट दरखास्त आह्वान गरेका हौँ’, अध्यक्ष राईले भने ।

 

हवल्दार वा प्रहरी जवानका उम्मेदवार १८ वर्ष पूरा गरी ४० वर्ष ननाघेको हुनुपर्ने गाउँपालिकाको मापदण्ड छ । उम्मेदवारको आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको र शारीरिक रूपमा स्वस्थ हुनुपर्नेछ ।

 

जिल्लाका २ नगरपालिका र ८ गाउँपालिकामध्ये ऐँसेलुखर्क गाउँपालिकाले गत वर्ष नै ३ जना गाउँपालिका प्रहरी भर्ना गरिसकेको छ । यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पनि नगर प्रहरी भर्नाका लागि विज्ञापन आह्वानलगायतका प्रक्रिया सुरु गर्ने तयारी थालेको छ ।