close

जनप्रतिनिधिले अधिनायकवादी भनेलगत्तै कार्यकर्ताले जलाए प्रधानमन्त्री ओलीकाे पुत्ला

जनप्रतिनिधिले अधिनायकवादी भनेलगत्तै कार्यकर्ताले जलाए प्रधानमन्त्री ओलीकाे पुत्ला

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– प्रतिनिधिसभा विघटनलाई प्रतिगमनको संज्ञा दिँदै ताप्लेजुङको फुङलिङमा सत्तारुढ दलकै विद्यार्थी घटक अनेरास्ववियु र युवा दस्ता युवा संघ नेपालले प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएका छन् ।


वीरेन्द्र चोकबाट नाराबाजीसहित निस्किएको र्‍यालीले तोक्मेमा पुगेर प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो । कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य प्रजिन हाङ्वाङले जनमतविपरीत गरिएको संसद् विघटन कुनै पनि हालतमा स्वीकार्न नसकिने बताए ।


अनेरास्ववियुका जिल्ला संयोजक डिल्लीराम न्यौपानेले दुई तिहाइ नजिकको जनमत प्राप्त पार्टीकै सरकारका नेतृत्वकर्ताबाट भएको संसद् विघटन अराजनीतिक भएको टिप्पणी गरे ।


विरोध कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन, नेकपाका प्रदेश कमिटी सदस्य, जिल्ला कार्यालय सदस्यलगायत सहभागी रहेको अनेरास्ववियुका जिल्ला सह–संयोजक किरण लिङ्देनले जानकारी दिए ।


जनप्रतिनिधिको एउटै बोलीः प्रतिनिधिसभा विघटन जनमतको अपमान


२०७४ सालको स्थानीय तह निर्वाचनमा ताप्लेजुङका ९ स्थानीय तहमध्ये फुङलिङ नगरपालिकासहित ५ तहको प्रमुखमा तत्कालीन नेकपा एमालेले जित हात पारेको थियो । नेपाली कांग्रेस ४ स्थानीय तहका अध्यक्ष पदमा विजयी भयो ।


तत्कालीन नेकपा माओवादी (केन्द्र) ले दुई उपप्रमुख÷उपाध्यक्ष पद मात्र जित्यो । स्थानीय तहका १८ प्रमुख पदमध्ये एमालेले प्रमुख र उपप्रमुख ५–५, कांग्रेसले ४ प्रमुख र २ उपप्रमुख तथा तत्कालीन माओवादी केन्द्रले २ उपप्रमुख पद जितेका थिए ।

तत्कालीन एमालेले मैवाखोला, पाथीभरा याङ्बरक र फक्ताङलुङ गाउँपालिकाका दुइटै प्रमुखमा जित हात पा¥यो । तत्कालीन एमालेले फुङलिङ र मिक्वाखोलामा प्रमुख पद मात्र जित्यो ।


कांग्रेसले सिरिजंघामा प्रमुख–उपप्रमुख दुवै पद जित्यो भने आठराई त्रिवेणी, मेरिङ्देन र सिदिङ्वाका अध्यक्ष पद जित्यो । आठराई र मेरिङ्देनमा तत्कालीन एमालेले उपाध्यक्ष पद जित्यो भने सिदिङ्वा गाउँपालिका भने तत्कालीन माओवादी केन्द्रले उपाध्यक्ष पदमा विजयी भयो ।


फुङलिङ, सिदिङ्वा र मेरिङ्देन गाउँपालिकामा प्रमुख पद दिएर कांग्रेससँग सहकार्य गरेको तत्कालीन माओवादी केन्द्रले नगरपालिका र सिदिङ्वामा मात्र उपप्रमुख पद आफ्नो पक्षमा पारेर मेरिङ्देन गुमायो ।


तत्कालीन माओवादी केन्द्रसँग चुनावी सहकार्य गरे पनि कांग्रेसले फुङलिङको नगरप्रमुख पद नै गुमायो । फुङलिङको नगरप्रमुखमा कांग्रेसलाई धक्का लागेजस्तै मेरिङ्देनमा तत्कालीन माओवादी केन्द्रलाई उपाध्यक्ष पदमा विजय हुन सकस परेको हो ।


तत्कालीन एमाले र माओवादीको पार्टी एकतापछि ताप्लेजुङका १८ प्रमुख दुई पदमध्ये नेकपाका पक्षमा १२ पद छन् । तर, अहिले फुङलिङ नगरप्रमुख छत्रपति प्याकुरेल मात्रै आफूलाई ओली पक्षधर भन्छन् ।


पाथीभरा याङ्बरक गाउँपालिका अध्यक्ष केशरकुमार मेन्याङ्वोले त खुलेरै प्रतिनिधिसभा विघटनको विरोध गरेका छन् । उनले सामाजिक सञ्जालमा ओलीप्रति पहिल्यै शंका लागेको भए पनि महाधिवेशनबाट निर्वाचित भएकाले आफूहरूले मानेको तर प्रतिनिधिसभा विघटन गरेर पार्टी तहसनहस बनाएको आरोप लगाए ।


जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले त प्रधानमन्त्री ओलीलाई नालायकसम्म भन्न भ्याए । संसद बिगठन प्रति संकेत गर्दै उनले यस कार्यले सिङ्गो जनमतको अपमान भएको प्रतिक्रिया सामाजिक सञ्जालमा दिएका छन् ।

 

फुङलिङ नगर उपप्रमुख बमबहादुर भट्टराईले प्रतिनिधिसभा विघटनप्रति रोष प्रकट गर्दै ‘ठाडो घाँटी पारेर जति थुके पनि आफ्नै अनुहारमा’ भनेका छन् । पूर्वसांसद तिलकुमार मेन्याङ्बोले प्रतिनिधिसभा विघटन जनादेशको अपमान र ऐतिहासिक भूल भएको बताए ।