close

गाउँपालिकाको निर्णय उच्च अदालतले उल्ट्यायो

गाउँपालिकाको निर्णय उच्च अदालतले उल्ट्यायो

Trulli
ADVERTISEMENT

बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिकाको गाउँकार्यपालिकाले गरेको निर्णय उच्च अदालत दिपायलले उल्ट्याइदिएको छ । गाउँपालिकामा कार्यरत रोजगार संयोजक महेशराज भट्टको करार सेवा सम्झौता रद्ध गर्ने गाउँपालिकाको निर्णय अदालतले उल्टाएको हो । 

 

गाउँकार्यपालिकाको २५ मंसिरको बैठकले रोजगार संयोजक भट्टको करार सम्झौता रद्ध गर्ने निर्णय गरेको थियो । गाउँकार्यपालिकाले आफ्नो करार सम्झौता बिनाकारण रद्ध गरेको भन्दै रोजगार संयोजक भट्टले न्यायका लागि उच्च अदालत दिपायलको इजलासमा रिट निवेदन दिएका थिए ।

 

सोही रिट निवेदनको आधारमा उच्च अदालत दिपायलको इजलासले रोजगार संयोजक भट्टको पक्षमा फैसला गरेको हो । 

 

मुख्य न्यायाधीश तेजबहादुर कार्कीको एकल इजलासले सेवाबाट हटाउने कुनै कारण नभएको अन्तरिम फैसला सुनाएको छ । फैसलामा सेवाबाट हटाउनेसम्बन्धी कुुनै कारण उल्लेख नभएको र प्रारम्भिक अध्ययनबाट विपक्षी (दोगडाकेदार गाउँपालिका) को सो कारबाही रोजगार संयोजकको सेवा–सुविधासम्बन्धी मापदण्ड, २०७६ को दफा १५(२) को प्रतिकूल भएको भनिएको छ । 


अदालतले गाउँपालिकाको सो निर्णय यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो । उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) अनुसार दोगडाकेदार गाउँपालिकाको नाममा अन्तरिम आदेश जारी भएको छ ।


दुई वर्ष पहिले श्रम मन्त्रालयले लागू गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत मन्त्रालयले गरेको विज्ञापनबाट छनोट भई भट्ट दोगडाकेदार गाउँपालिकामा कार्यरत थिए ।