close

विद्यालय खुले तर चलेनन् स्कुल बस

विद्यालय खुले तर चलेनन् स्कुल बस

Trulli
ADVERTISEMENT

बाग्लुङ- बाग्लुङ नगरपालिका वडा नम्बर २ का दिप्सन घिमिरे बिहान ६ः३० बजे विद्यालय आइपुग्नैपर्छ । उनको विद्यालय फ्युचर ब्राइटर आवासीय माविले कक्षा ५ भन्दा तलका कक्षा दिउँसो ११ बजेपछि र सोभन्दा माथिका कक्षा बिहान ६ः३० बजेदेखि सञ्चालन गरिरहेको छ ।


कोरोना महामारीका सुरु नहुनुअघि घिमिरेलाई लिन विद्यालयको बस घरमै आउँथ्यो । अहिले पुसको चिसोमा कठ्यांग्रिँदै विद्यालय पुग्नुपर्छ । ‘विद्यालयमा बस तयारी अवस्थामा छ तर बस चढेर जाने अनुमति छैन’, घिमिरेले भने । 

 

बाग्लुङ जिल्लाभरि सबै खाले यातायातका सवारीसाधन निर्वाध सञ्चालन भइरहेका बेला बाग्लुङ नगरपालिकाले विद्यालय खुले पनि विद्यालय बस सञ्चालनमा रोक लगाएको छ ।

 

नगरपालिकाले रोक लगाएकै कारण विद्यालय बस सञ्चालनमा आएका छैनन् । चिसोमा विद्यालय बस नचल्दा विद्यार्थी मर्कामा परेको अभिभावक देवी क्षेत्रीले बताए । उनले भने, ‘विद्यालय सञ्चालन गर्न दिने तर विद्यालय बस सञ्चालन गर्न रोक लगाउँदा विद्यार्थी कोरोनाको जोखिम मोलेरै सार्वजनिक यातायात चढ्न बाध्य छन् । विद्यालय नजिकैका विद्यार्थी त समयमै हिँडेरै विद्यालयमा पुग्छन् तर टाढा घर भएका विद्यार्थीले जोखिम मोलेरै सार्वजनिक सवारीसाधन नचढी हुन्न’, क्षेत्रीले भने । 


कोरोना जोखिमलाई ध्यानमा राखी १० चैतदेखि बन्द भएका बाग्लुङका शैक्षिक संस्थामा पढाइ सुचारु भए पनि बाग्लुङ नगरपालिकाको नगर शिक्षा समितिले बस सञ्चालनमा रोक लगाउँदा त्यसको प्रत्यक्ष मारमा विद्यार्थी परेका हुन् । लकडाउन अन्त्य भएसँगै अनलाइनमार्फत कक्षा सञ्चालन गर्दै आएका शैक्षिक संस्थाहरूले विद्यार्थीलाई विद्यालयमै पठनपाठन सुरु गरेका छन् ।

 

बाग्लुङ नगरपालिकाले विद्यालय बस चलाउन प्रतिबन्ध लगाउँदा गाउँ–गाउँबाट आउने विद्यार्थी सबैभन्दा मर्कामा परेका हुन् । बाग्लुङ नगर शिक्षा कार्यालयले कोरोनाको जोखिम कायमै भएकाले अर्को सूचना जारी नभएसम्म विद्यालयका सवारीसाधन नचलाउन निर्देशन दिएका कारण विद्यार्थी र अभिभावकलाई समस्या भएको प्रिसियस मन्टेश्वरीका सञ्चालक राजन पौडेलले बताए ।

 

बाग्लुङका निजी र सामुदायिक विद्यालयले कोरोना जोखिमलाई ध्यानमा राखी दिनमा ३ सिफ्टमा सुरक्षा सतर्कता अपनाएर कक्षा सञ्चालन गरिरहे पनि सवारीसाधन चलाउन नपाउँदा समस्या थपिएको आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयका प्रिन्सिपल भूपेन्द्र केसीले जानकारी दिए ।

 

नगरपालिकाले विद्यालय सञ्चालन गर्न दिने तर विद्यालय बस बन्द गराउँदा बिहान ५ बजे नै गाउँबाट हिँडेर आउनुपर्ने बाध्यता रहेको विद्यार्थीको गुनासो छ ।