close

जनप्रतिनिधिले नै मृतकको नाममा भत्ता लिन थालेपछि बैंकबाटै  भुक्तानी

जनप्रतिनिधिले नै मृतकको नाममा भत्ता लिन थालेपछि बैंकबाटै  भुक्तानी

Trulli
ADVERTISEMENT

खोटाङ- सामाजिक सुरक्षाभत्ता शीर्षकको लाखौँ रुपैयाँ चुहावट भइरहेको प्रतिवेदन सार्वजनिक भएको केही समयपछि खोटाङको साकेला गाउँपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरणको तयारी गरेको छ । 


एकै आर्थिक वर्षमा ८७ लाख रुपैयाँभन्दा बढी सामाजिक सुरक्षा भत्ताबापतको रकम चुहावट भएको प्रतिवेदन सार्वजनिक भएको केही समयपछि गाउँपालिकाले आगामी दिनमा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता भुक्तानी दिने तयारी गरेको हो । 


सामाजिक सुरक्षा भत्तामा हुने अनियमितता रोक्नका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को दोस्रो चौमासिकदेखि अनिवार्य बैंकिङ प्रणालीमार्फत भुक्तानी दिने व्यवस्थाका लागि सोमबार नेपाल एसबीआई बैंकको शाखा कार्यालय साकेला गाउँपालिकासँग सम्झौता गरेको छ । 


चालू आर्थिक वर्षको दोस्रो चौमासिकदेखि सबै लाभग्राहीलाई नेपाल सरकारले जारी गरेको ‘सामाजिक सुरक्षा कार्यक्रम संचालन कार्यविधि, २०७५’ बमोजिम बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न बैंकसँग सम्झौता गरिएको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्का (झङ्कार)ले बताए ।

 

सामाजिक सुरक्षा भत्ता अनिवार्य बैंकमार्फत भुक्तानी दिने व्यवस्थाका लागि सरकारले केही समयअघि दिएको निर्देशनअनुसार गाउँपालिकाका अध्यक्ष खड्काले बैंकका शाखा प्रबन्धक पोषक दाहाललाई १५ बुँदे सम्झौतापत्र हस्तान्तरण गरेका छन् ।


पाँच वडा रहेको गाउँपालिकामा हाल करिब एक हजार ५०० सामाजिक सुरक्षा भत्ता बुझ्ने लाभग्राही छन् । लाभग्राहीले शून्य मौज्जादमा बैंकमा खाता खोल्ने सम्झौता गरिएको छ ।


चालू आर्थिक वर्षको पहिलो चौमासिकमा वडा- १ बाँझेच्यानडाँडामा ४१ लाख ७९ हजार ८२९, वडा- २ रतन्छामा ३० लाख ९० हजार ५३८, वडा- ३ खिदिमामा १५ लाख ५४ हजार २२७, वडा- ४ मात्तिममा २५ लाख ६६ हजार ४४० र वडा- ५ मात्तिमविर्तामा २५ लाख ५६ हजार ८६३ रुपैयाँ सामाजिक सुरक्षा भत्ता निकासा भएको थियो । 


साकेला गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा मात्र ८७ लाख ४१ हजार ६०० रुपैयाँ रकम चुहावट भएको प्रतिवेदन सार्वजनिक भएको छ । मृत्यु भइसकेका, कतिपय बसाइँ सरिसकेका तथा कतिपय हुनै नभएका व्यक्तिको नाममा ‘फेक डकुमेन्ट’ बनाएर सामाजिक सुरक्षा भत्तामा अनियमितता भइरहेको विषय बाहिरिएपछि गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्काको संयोजकत्वमा गत १४ असोजमा गठित समितिले २३ मंसिरमा छानबिन प्रतिवेदन सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष खड्कालाई प्रतिवेदन बुझाएको थियो । 


छानबिन समितिले आर्थिक वर्ष २०७६/०७७ मा साकेला गाउँपालिका- १ बाँझेच्यानडाँडामा २० लाख ३४ हजार ४००, वडाा- २ रतन्छामा १२ लाख २८ हजार, वडा- ३ खिदिमामा ११ लाख ८७ हजार २००, वडा- ४ मात्तिममा २२ लाख ८७ हजार २०० र वडा- ५ मात्तिमबिर्तामा २० लाख ४८ हजार रुपैयाँ सामाजिक सुरक्षाभत्ता अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । 


मृत्यु भइसकेका व्यक्ति, अन्यत्र बसाइँ सरिसकेका, हुँदै नभएका नक्कली लाभग्राही खडा गरेर, अर्कै वडाको व्यक्तिको नाम राखेर, एकै जनाको एकभन्दा बढी नाम देखाएर सामाजिक सुरक्षा भत्ता चुहावट गरेको पाइएको छानबिन समितिले जनाएको छ । 


यद्यपि, वडा सचिवको लिखित स्पष्टीकरणलाई अध्ययन नगरी प्रतिवेदन तयार पारिएकाले हिनामिना रकमको मात्रा घट्ने गाउँपालिका अध्यक्ष खड्काले बताए । 


सामाजिक सुरक्षा भत्ता पाउने कतिपय लाभग्राहीको एउटै नाम, एउटै नागरिकता नम्बर, एउटै ठेगाना, एउटै जन्म मिति उल्लेख गरेर नक्कली लाभग्राही खडा गरिएको पाइएको छ । एकै व्यक्तिको नाममा विधवा र एकल महिलाको सामाजिक सुरक्षा भत्ता बाँडिएको तथ्या पनि फेलापरेको छ ।

 

छानबिनका क्रममा कतिपय मृतक वा बसाइँ सरिसकेका व्यक्तिका आफन्तले नै निरन्तर सामाजिक सुरक्षाभत्ता लिइरहेको पनि पाइएको जनाइएको छ ।