close

बाग्लुङमा संसद विघटनको तरंगः गठवन्धनदेखि विकाससम्म प्रभावित 

बाग्लुङमा संसद विघटनको तरंगः गठवन्धनदेखि विकाससम्म प्रभावित 

Trulli
ADVERTISEMENT

बाग्लुङ- प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै वामपन्थी किल्ला मानिँदै आएको बाग्लुङमा पनि यसको बाछिटा परेका छन् । आगामी निर्वाचनको विषय एकातिर छ भने जिल्लाका विकास निर्माण, जिल्ला र प्रदेश तहमा भएका समीकरण कसरी अगाडि बढ्लान् भन्ने चासोका कारण स्थानीयमा शंका-उपशंका उब्जिन थालेको छ ।

 

संविधानकै सफलता र असफलतासमेतमा बहसमा जोडिन पुगेको छ । गुट-उपगुटले पार्ने असरबारे पनि बहस सुरु भएको छ । कतिपयले सार्वजनिक रूपमा सामाजिक सञ्जालमै भोलिका दिनको अवस्थाबारे लेखेका छन् । बाग्लुङमा भएका निर्वाचनमा वाम गठबन्धनको लहर नै थियो । 

 

गत निर्वाचनमा बाग्लुङबाट संघीय प्रतिनिधिसभामा दुई र प्रदेशसभामा चार जना गरी ६ वटै सिटमा वामपन्थीले कब्जा गरेका थिए । यो गठबन्धन बलियो हुनुमा नेकपालाई राष्ट्रिय जनमोर्चासमेतको साथ थियो । गण्डकी प्रदेशसभामा पनि तीन सदस्य राजमोकै छन्, जसले आगामी सत्ता समीकरणमा प्रमुख भूमिका खेल्न सक्छ । 

 

वामपन्थीहरू अलग–अलग निर्वाचनमा जाँदा २०७० सालको निर्वाचनमा कांग्रेसले एकलौटी बनाएको थियो । अहिलेको नेकपा र कांग्रेसबीचको प्रतिस्पर्धामा राजमो विशेष सहयोगी देखिन्छ । राजमोका आफ्नै उम्मेदवार उठेको बेला बाग्लुङमा कांग्रेस वर्चस्व हुने गरेको छ भने कम्युनिस्ट जोडिँदा वामपन्थीकै वर्चस्व ।


राजमोका जिल्ला अध्यक्ष अमर थापाले आपूmहरूकै सहयोगका कारण जिल्लाको समीकरण वामपन्थीमय भएको दाबी गर्छन् । उनले आगामी राजनीतिक कुन तहमा कसरी अगाडि जान्छ भन्ने एकिन नभए पनि प्रतिनिधिसभा विघटनले जिल्लाको विकास निर्माणमा असर पर्ने सुनाउँछन् ।

 

‘संसद्को निर्वाचनमा जाने विषय मोर्चाबन्दी मात्रै हो । तर, संसद् विघटन र नेकपाको विभाजनउन्मुख राजनीतिले ठूलो असर गर्छ,’ थापाले भने, ‘उनीहरूकै मेलमिलाप नभएको ठाउँमा हामी गएर मिल्ने र मिलाइदिने कुरा पनि भएन ।’ 


नेकपा विभाजन भए बाग्लुङमा ओलीभन्दा प्रचण्ड र नेपाल पक्ष अझै सशक्त हुन सक्ने कार्यकर्ता बताउँछन् । ‘ओली गुट यहाँ कमजोर छ, त्यसैले पार्टी सञ्चालनमा समस्या हुँदैन,’ नेकपाका जिल्ला सेक्रेटरी ज्ञामनाथ गैरेले भने, ‘विकास निर्माणमा भने गम्भीर असर पर्ने देखियो ।’


पार्टी विभाजन प्राविधिक विषय भए पनि वडा तहसम्मका कार्यकर्ताको मनभेदले विकास निर्माण पूर्ण रूपमा असफल हुने देखिएको छ । ‘सबै मिलेर दबाब दिएकाले मध्यपहाडी लोकमार्गमा ठेकेदारले काम थालेका थिए,’ जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भुसाल भन्छन्, ‘अब यो कामसमेत प्रभावित हुने भयो ।’ निर्वाचन भए बजेटसमेत कटौती हुने हुँदा भएर विकास पछि पर्ने उनको बुझाइ छ । 

 

जिल्ला समन्वय समितिको निर्वाचनमा पनि वामपन्थी गठजोठ विजयी भएको थियो । कुल २० मतदातामध्ये कांग्रेसका ८, तत्कालीन एमालेका ६, माओवादीका २, राजमोका ३ र राप्रपा १ जना थिए । उनीहरू सबै एकीकृत भएकै कारण समन्वय समितिसमेत वामपन्थीको पोल्टामा गएको थियो ।


कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापा भने कांग्रेस सधैँ एक्लै लडिरहेको बताउँछन् । ‘हामी एक्लै लडेका छौँ । वामपन्थी मिल्दा कतिपय पद गुमायौँ, कतिपय स्थानमा अझै पहिलो शक्ति बनिरहेका छौँ,’ थापाले भने, ‘अर्काको घरभित्रको झगडाले देशै बर्बाद पार्न भने पाइँदैन ।’

 

प्रतिनिधिसभा विघटन र निर्वाचनमा पुग्दा राज्यको अर्बौं रकम सकिने उनले बताए । त्यो खर्चले विकासको गति अवरुद्ध भएको थापाको धारणा छ । ‘हामीले राजीनामा मागेका थिएनौँ । पाँच वर्ष टिक्ने सरकार बनाऊ भनेकै थियौँ,’ उनले भने, ‘आफ्नो विवाद मिलाउन नसकेर देशलाई भँड्खालोमा धकेल्न पाइँदैन ।’

 

‘संविधान असफल भयो’

जनता दल नेपालले भने संविधानको सफलताभन्दा असफलता बढेको टिप्पणी गरेको छ । सो दलका जिल्ला अध्यक्ष तिलक रिजालले बाग्लुङमा आयोजना गरेको सर्वदलीय सर्वपक्षीय अन्तर्क्रियामा संविधान लेखनमै कमजोरी भएको भन्दै पुनर्लेखनको माग गरे ।

 

‘मौलिक हक कार्यान्वयनका लागि संवैधानिक आयोग गठन नहुनु नै यसको कारण हो । तर, अहिले चोरबाटोबाट गठन भएको आयोगले काम गर्न सक्दैन,’ उनले भने, ‘संघीयताका केही पक्ष र धर्म निरपेक्षता लेखेर मात्र भएन, कार्यान्वयन हुनै सक्दैन ।’ बैठकमा कांग्रेस, राजमो, जनता समाजवादी पार्टी, नेकपा माले र राप्रपाका प्रतिनिधि सहभागी थिए ।