close

विशेष गाउँसभाबाट टुंगियो धवलागिरिकाे अस्पताल विवाद

विशेष गाउँसभाबाट टुंगियो धवलागिरिकाे अस्पताल विवाद

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिकाले विशेष गाउँसभाबाट पालिकास्तरीय अस्पताल बनाउने ठाउँको टुंगो लगाएको छ ।  स्थायी केन्द्रको विषयमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई थाँती राखेर जनप्रतिनिधिले सेवा केन्द्रलाई एकीकृत गर्ने र अस्पताल बनाउने ठाउँको टुंगो लगाएका हुन् ।

 

गाउँपालिकाको कार्यालय रहेको मुनामा सम्पन्न विशेष गाउँसभाले वडा नं.- ७ को ताकममा पाँच शय्या क्षमताको अस्पताल बनाउने सर्वसम्मत निर्णय गरेको हो ।  वडा- ३ को सातमूलेमा गाउँपालिकाको स्थायी केन्द्र कायम गरेको २५ साउन २०७४ को गाउँसभाले अन्य विषयगत शाखा कार्यालय वडा नं.- ७ र ३ बाट संचालन गर्ने तथा वडा- ७ मा पर्ने धारापानीमा १५ शय्या क्षमताको अस्पताल बनाउने निर्णय गरेको थियो ।  


तीन वर्षअघिको निर्णय संशोधन भएपछि ताकममा अस्पताल बनाउने र शाखा कार्यालयहरू गाउँपालिका रहेकै ठाउँबाट संचालन गर्ने कानुनी बाटो खुलेको अध्यक्ष थमसरा पुनले बताइन् । 

 

यसअघि अस्पताल बनाउने निर्णय भएको धारापानीमा स्वास्थ्य चौकी बनाउने र साविक ताकम गाविसका १ र २ नम्बर वडामा पर्ने धारापानीलाई छुट्टै वडा कायम गर्न प्रक्रिया अघि बढाउने निर्णय भएको छ । फरकफरक ठाउँमा शाखा कार्यालय हुँदा फाइल बोकेर भौँतारिनुपर्ने धवलागिरिवासीको समस्या हट्ने भएको छ । 


शाखा कार्यालयहरू एकै ठाउँमा नहुँदा र छरिँदा नागरिकलाई सेवा प्राप्त गर्न सास्ती, झन्झट र दुःख भएपछि कार्यालय एकीकृत गर्नुपरेको वडा- १ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए । 


ताकमबाट संचालित स्वास्थ्य, कृषि र पशु सेवा तथा शिवाङमा राखिएको शिक्षा शाखा हाल गाउँपालिकाको अस्थायी कार्यालय रहेको मुनाबाटै संचालन हुने भएका छन् । स्थायी केन्द्र कायम गर्ने क्रममा गाउँसभाले धारापानीमा १५ शय्याको अस्पताल बनाउने निर्णय गरे पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ताकममा अस्पताल बनाउने ठाउँ छनोट गरेपछि विवाद उत्पन्न भएको थियो । 


विवादका कारण १५ मंसिरमा गर्ने भनिएको अस्पताल भवन शिलान्यासको कार्यक्रम स्थगित भएको थियो । अस्पताल बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८० लाख रुपैयाँ बजेट पठाएको छ । गाउँसभाको निर्णय भएपछि ताकममा अस्पताल बनाउन तयार पारिएको डीपीआरअनुसार भवन निर्माणको ठेक्का प्रक्रिया अघि बढाउने प्रमुख प्रशासकीय अधिकृत गोपाल पौडेलले बताए । 


हाल गाउँपालिकाको कार्यालय रहेको मुनामा बैंकको शाखा नभएकाले उपभोक्ता समिति र नगारिकलाई आर्थिक कारोबारमा समस्या भएको विषयमा समेत सभाका सदस्यहरूले ध्यानाकर्षण गराएका छन् । मराङका वडा अध्यक्ष राजाराम शर्माले गाउँपालिकाको कार्यालय रहेकै ठाउँमा बैंकको शाखा स्थापना गराउन र ताकमका वडा अध्यक्ष कलानिधि शर्माले कृषि र पशु सेवा शाखामा दरबन्दीअनुसारका कर्मचारीको व्यवस्थापन गर्न माग गरे । 


सर्वोच्च अदालतमा विचाराधीन रहेको गाउँपालिकाको स्थायी केन्द्रको विवादलाई थाँती राखेर नागरिकलाई एकै ठाउँबाट सहज हिसाबले सेवा उपलब्ध गराउन शाखा कार्यालय एकीकृत गर्न जनप्रतिनिधि सहमत भएका हुन् । 


धवलागिरिका जनप्रतिनिधिको लामो प्रयासपछि शाखा कार्यालयहरूको सेवालाई एकै ठाउँबाट प्रवाह गराउने निर्णयले नागरिकलाई राहत मिल्ने देखिएको छ । अर्कोतर्फ विवादका कारण रोकिएको अस्पताल निर्माणको काम पनि अघि बढ्ने अपेक्षा गरिएको छ ।