close

बुटवलको प्राथमिकतामा कृषि र पूर्वाधार विकास 

बुटवलको प्राथमिकतामा कृषि र पूर्वाधार विकास 

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको बुटवल उपमहानगरद्वारा चालू आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिकसम्म सञ्चालित विभिन्न आयोजना सम्पन्न भएका छन् । सहरी पूर्वाधार विकास, पशुपक्षी विकास र कृषितर्फका धेरै योजनामा उल्लेख्य उपलब्धि भएको हो ।

 

कोरोना रोकथाममा प्रभावकारी काम गरेको बुटवलले महामारीकै बीचमा पनि उल्लेख्य काम गर्न सफल भएको छ । त्यस्तै, उपमहानगरले आन्तरिक आयतर्फको लक्ष्यमा पनि प्रथम चौमासिकसम्म ७५ प्रतिशतसम्म प्रगति गरेको छ ।

 

बुटवल उपमहानगरले मंगलबार कार्यालयमा आयोजना गरेको पत्रकार भेटमा प्रगति विवरणसहितको समीक्षा सार्वजनिक गरेको थियो । चालू आवमा क्रमागत भई आएका सहरी पूर्वाधार विकासका आयोजना हालसम्म ८४ वटा सम्पन्न भएको कार्यक्रममा जानकारी दिइयो ।

 

आव २०७७/७८ मा दुई सय ८९ वटा आएका थिए । विकास योजनालाई प्राथामिकता दिएर अगाडि बढेको उपमहानगरले यो वर्ष २५ वटा नयाँ योजना अगाडि बढाएको थियो । उपमहानगरमा चालूतर्फ सञ्चालित दुई आयोजना पनि सम्पन्न भइसकेका छन् ।


उपमहानगर उपप्रमुख गुमादेवी आचार्यले चालू आवको प्रथम चौमासिकसम्म ८४ वटा आयोजना सम्पन्न भएको जानकारी दिइन् । कार्यवाहक प्रमुखसमेत रहेकी आचार्यले महामारी नियन्त्रणका लागि उपमहानगरका काममा निजी क्षेत्र तथा संघ-संस्थाले महत्त्वपूर्ण सहकार्य गरेको जिकिर गरिन् । 

 

किसानलाई प्रोत्साहनदेखि बीउ वितरणसम्म

 

उपमहानगरले यस अवधिमा किसानलाई प्रोत्साहनदेखि विभिन्न खाले काम गरेको जनाएको छ । पशुपक्षीतर्फ पशु आहार सेवा कार्यरक्रममा हिउँदे जौ सात सय केजी तथा वार्षिक एक हजार केजी, घाँसको बिउ दुई सय ४१ किसानलाई वितरण गरिएको छ ।

 

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले आन्तरिक आयतर्फ प्रथम चौमासिकसम्म ७५.०२ प्रतिशत लक्ष्य हासिल भएको जानकारी दिए । ‘उपमहानगरको वार्षिक अनुमानतर्फ ४७ करोड एक लाख रुपैयाँ आम्दामी हुने लक्ष्य थियो’, शर्माले भने, ‘नदीजन्य वस्तु समयमै ठेक्का पटटा लगाउन सके अन्तरिक आयको लक्ष्य समयमै हासिल गर्न सकिने देखिएको छ ।’ 

 

नगरसभा एवं नगर कार्यपालिकाबाट हालसम्म १६ वटा ऐन, ९ वटा नियमावली, ६ वटा निर्देशिका र ३२ वटा कार्यविधि राजपत्रमा प्रकाशित गरिसकेको छ ।नगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले स्वास्थ्य संस्था दर्ता अनुमति तथा नवीकरण मापदण्डसम्बन्धी निर्देशिका,२०७७ जारी गरिएको बताए । 

 

महामारी नियन्त्रणमा सफल

 

बुटवल उपमहानगले सञ्चालन गरेका दुई आइसोलेसन सेन्टरबाट करिब चार सय जना कोरोना संक्रमित आइसोलेट भई निको भएर घर फर्किसकेका छन् । उपमहानगरमा हालसम्म करिब चार हजार जना संक्रमित र तीन हजार दुई सय ५८ जना निको भई घर फर्किसकेका छन् ।

 

उपमहानगरमा हालसम्म एक सय ६३ जना अझै एक्टिभ केस रहेका छन् । त्यस्तै, एक हजार सात सय ३१ जना दीर्घरोगी र तीन सय ८१ जना ज्येष्ठ नागरिकको निःशुल्क पीसीआर जाँच पनि गरिएको छ । उनीहरूलाई घरघरमै पुगेर औषधीसमेत वितरण गरिएको छ ।

 

बुटवलमा कोरोना संक्रमणबाट ४८ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका बिरामीलाई आयुर्वेद र एलोपेथिक औषधीसहित स्वास्थ्यलाभको कार्डसहित आठ सय ५६ जनालाई वितरण गरिएको उपमहानगरका सूचना अधिकारी मित्रमणि खनालले जानकारी दिए । 


स्थानीय पाठ्यक्रम पठनपाठन

 

बुटवल उपमहानगरले स्थानीय पाठ्यक्रमका पुस्तकबाट पठनपाठन गराएको छ । बुटवलले सय पूर्णांककको स्थानीय पाठ्यपुस्तक ‘हाम्रो बुटवल’ चालू शैक्षिक सत्रदेखि कक्षा १ देखि ५ सम्म पठनपाठन सुरु भएको छ । 

 

‘फेस टु फेस मेड’ बाट विद्यालय सञ्चालन गर्न उपमहानगरबाट विद्यालय परिसरलाई निर्मलीकरण गरिएको छ । विद्यालयमा थर्मल गन तथा स्प्रे मेसिन उपलब्ध गराउने प्रक्रिया थालिएको शर्माले बताए ।