close

जनकपुरमा रमिताः जसपा ओलीको पुत्ला जलाउने, महेश बस्नेत माओवादीलाई जोकर बनाउने !

जनकपुरमा रमिताः जसपा ओलीको पुत्ला जलाउने, महेश बस्नेत माओवादीलाई जोकर बनाउने !

Trulli
ADVERTISEMENT

धनुषा– आन्तरिक किचलोका कारण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र चर्किएको विवाद जिल्ला तहसम्म पुगेको छ । पार्टीभित्रका दुई गुटले एक अर्कोलाई गाली गर्ने क्रम सुरु भएपछि जनकपुर आइपुगेका ओली निकट केन्द्रीय सदस्यले तत्कालीन माओवादी समूहका नेताहरु जोकर भएको मात्र भनेनन् ट्युमर भइसकको दावी पनि गरे ।

 

उनको यो दाबीलगत्तै जनता समाजवादी पार्टीका नेता कार्यकर्ताले जनकपुरधाममा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओलीको पुत्ला दहन गर्दै प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिन दवाव दिए ।  उनीहरुले शुक्रवार ओलीको पुत्ला दहन गर्ने घोषणा गरेका छन् ।

 

जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले पूर्वमाओवादीको साख प्रधानमन्त्री केपी ओलीले नै बचाइदिएको दाबी गरे ।


प्रधानमन्त्री ओली पक्षधर युवा संघको भेलालाई जनकपुरधाममा सम्बोधन गर्दै उनले बन्दुकको बलमा सत्तामा पुगेका माओवादी मरणासन्न भएको अवस्थामा ओलीले नै आईसीयुमा राखेर फेरि जीवित बनाएको बताए ।


‘पूर्वमाओवादीका साथीहरू अहिले हाम्रा लागि गलगाँड सावित भएका छन् । ट्युमरको रूप लिइसकेका पूर्वमाओवादीहरूलाई फालेर हामी झनै ऊर्जाका साथ अगाडि बढ्नेछौँ,’ बस्नेतले भने, ‘ट्युमर वा गलगाँड फाल्दैमा शरीरको तौल घट्दैन बरु झनै फाइदा हुन्छ ।’

 

नेता बस्नेतले पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई जोकरको संज्ञा दिए । बस्नेतले जनता समाजवादी पार्टीप्रति इंगित गर्दै भने, ‘जसपाका साथीहरू कमरेड ओली मधेसमा अलोकप्रिय भनिरहेका छन् । यदि साँच्चै कमरेड ओली मधेसमा अलोकप्रिय छन् चुनावमा सहभागी हुन आग्रह गर्छौं । त्यसपछि को अलोकप्रिय छ, जनताले देखाइदिन्छन् ।’ चुुनाव नहुने र राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनको कदम अदालतले पल्ट्याउने भ्रम नपाल्न उनले चेतावनी दिए ।

 

प्रधानमन्त्री ओलीले गरेको जनताको प्रतिनिधिसभाको हठात् विघटन प्रतिगामी निर्णय भएको ठहर गर्दै जसपाको चार दिने विरोध कार्यक्रम अन्तर्गत ओलीको पुत्ला जलाउने योजना बनाएको छ ।  


जनकपुरको जनक चोकमा नेता-कार्यकर्ता, नागरिक समाजलगायत भेला भएर ओली कदमको विरोध सुरु भएको पार्टीका नेता पशुपति यादव ले जानकारी दिए ।

 

जसपाले बिहीबार आन्दोलनका कार्यक्रमको तयारी बैठक, शुक्रबार देशभरिका सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन, शनिबार सबै जिल्ला सदरमुकाममा मसाला जुलुस, आइतबार सबै जिल्लासहित काठमाडौँ उपत्यकामा जनप्रदर्शनसहितका विरोध कार्यक्रम तय गरेको छ ।