close

नेकपा रडाकोका बाछिटा : प्रदेश २ मा जोड घटाउको खेल

नेकपा रडाकोका बाछिटा : प्रदेश २ मा जोड घटाउको खेल

Trulli
ADVERTISEMENT

धनुषा- नेपाल कम्युनिस्ट पार्टीको शीर्ष नेतृत्वबीचको भागबन्डाको खेल अन्य प्रदेश जस्तै प्रदेश २ मा पनि स्पष्ट देखिन थालेको छ । नेकपाको आपसी विवादका कारण वर्तमान नेपालको राजनीतिक घटनाचक्रको मापन गर्दा प्रदेश २ मा प्रधानमन्त्री केपी शर्मा ओली समूह अत्यन्त कमजोर देखिएको छ भने अर्कातर्फ प्रचण्ड र नेपाल समूह निकै बलियो अवस्थामा रहेका छन् ।

 

नेकपाका स्थायी कमिटी सदस्यहरू मातृकाप्रसाद यादव, गिरिराजमणि पोखरेल, गणेश साहदेखि मधेसका प्रभावशाली नेताहरू प्रभु साह, विश्वनाथ साह, रामचन्द्र झारामप्रीत पासवान, शत्रुघ्न महतो, भरतप्रसाद साह, अविनाश नायक, रामकुमार यादव, गोपाल ठाकुरसहित नेकपाका अधिकांश केन्द्रीय कमिटी सदस्यहरू प्रचण्ड-नेपाल समूहतर्फ लागेका छन् ।

 

प्रदेशको राजधानीसमेत रहेको धनुषा जिल्लामा ओली समूहमा साविक नेकपाका एक स्थायी कमिटी सदस्य रघुवीर महासेठ तथा तीन जना केन्द्रीय सदस्यहरू जुली महतो, योगनारायण यादव र हरिनारायण यादव मात्र खुलेका छन् । महासेठ प्रचण्ड-नेपाल पक्षको भेलामा सहभागी भए पनि पछि ओलीतिर आइसकेका छन् ।

 

साविक नेकपाको केन्द्रीय कमिटीमा धनुषाबाट कुल १५ जना केन्द्रीय सदस्य रहेकामा चार जना ओली समूहमा छन् भने बाँकी ११ जना प्रचण्ड-नेपाल समूहमा छन् । मातृका यादव, गणेश साह, रामचन्द्र झा, श्रीप्रसाद साह, शत्रुघ्न यादव, यदुवंश झा, रत्नेश्वरलाल गोइत, श्रवण बरबरिया, बोधमाया यादव, सुधीर साह, महादेव यादवसहित ११ जना साविकका केन्द्रीय सदस्य प्रचण्ड-नेपाल समूहमा छन् ।

 

प्रदेश २ का शीर्ष नेताहरूमध्ये स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल, केन्द्रीय सदस्यहरू सुमन प्याकुरेल, रामदयाल मण्डल, लीला श्रेष्ठ, सरोज यादव मात्र ओली समूहमा खुलेका छन् ।

 

साविक नेकपाका केन्द्रीय सदस्य भरतप्रसाद साहका अनुसार साविकमा कुल ६० जना केन्द्रीय सदस्यहरूले प्रदेश २ बाट प्रतिनिधित्व गरेकामा हाल बढीमा सात जना केन्द्रीय सदस्यहरू मात्र ओली समूहमा लागेका छन् भने बाँकी ५३ जना केन्द्रीय सदस्य प्रचण्ड-नेपाल समूहमा नै छन् ।

 

प्रदेश २ सभामा ओली समूहको अवस्था 

 

प्रदेश २ को प्रदेशसभामा साविकको एमालेका २० र माओवादीका ११ गरी कुल ३१ सांसदसहित नेकपा प्रमुख प्रतिपक्षी दल रहेको छ । तर, नेपाल समूहलाई जोड्ने हो भने नेपाल-प्रचण्ड समूह मजबुत अवस्थामा छ संख्यात्मक हिसाबले । स्थायी कमिटी सदस्यसमेत रहेका सत्यनारायण मण्डल प्रमुख प्रतिपक्षी दल नेकपाको संसदीय दलका नेता छन् ।

 

तर, अब उनी प्रमुख प्रतिपक्षी दलको नेता नरहने प्रष्ट संकेत देखिएको प्रदेश सांसद् भरतप्रसाद साहले बताए । ओली समूहका तर्फबाट संसदीय दलका नेतासमेत रहेका सत्यनारायण मण्डल भने पार्टी नै विभाजन भइसकेपछि संसदीय दलको नेता जानुले कुनै असर नपर्ने बताउँछन् । 

 

यस्तो छ प्रदेश २ को नेकपा समीकरण

 

ओली समूह :

(प्रदेशसभाका सदस्यहरू)

  •  लगनलाल चौधरी
  •  अनिताकुमारी यादव
  •  सत्यनारायण मण्डल
  •  किशोरी साह कमल
  •  सुन्दरबहादुर विश्वकर्मा
  •  रवीन्द्र बैठा धोवी
  •  मनोजकुमार सिंह
  •  मदनसेन प्रताप श्रीवास्तव
  •  दिल्लीप्रसाद उप्रेती
  • नागेन्द्र राय यादव
  • त्रिलोकी प्रसाद
  •  जगतारैन देवी सुडी
  •  बेची लुंगेली

 

प्रचण्ड-नेपाल समूह

(प्रदेशसभाका सदस्यहरू)

  •  शत्रुघ्न महतो
  •  मञ्जुकुमारी यादव
  •  हसिमा खातुन
  •  अशोककुमार यादव
  •  सीता गुरुङ
  •  प्रमोदकुमार यादव
  •  गोविन्दबहादुर न्यौपाने
  •  कुन्दनप्रसाद कुशवाहा
  •  शारदादेवी थापा
  • दिलीपकुमार साह
  • प्रमिलाकुमारी यादव
  • रुबीकुमारी कर्ण
  • ज्वालाकुमारी साह
  • महम्मद समिर
  • रामचन्द्र मण्डल
  •  फुलियादेवी सदाय
  • भरतप्रसाद साह
  • रामकुमार यादव