close

पालिकामा आज : चियाले पुर्‍यायो चौकी, शिक्षामा किन एकलौटी ? (भिडियो खबर)

पालिकामा आज : चियाले पुर्‍यायो चौकी, शिक्षामा किन एकलौटी ? (भिडियो खबर)

ADVERTISEMENT

देशभरका पालिकामा के भए ? कुन जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका २० खबर

 

१) धुलो उडेको भन्दै स्थानीयले गरे उदयपुरको कटारी-घुर्मी सडक खण्ड तीन घण्टा बन्द, निर्माण कम्पनीले काम सुरु गरेर बीचमै अलपत्र छाड्दा स्थानीय धुलोबाट आजित ।


२) जुम्लाको चन्दननाथ नगरपालिका र काठमाडौं महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना, सम्झौतापत्रमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र चन्दननाथ नगरपालिकाकी प्रमुख कान्तिका सेजुवालले गरे हस्ताक्षर ।


३) कैलालीको धनगढी उपमहानगरपालिका- १६ का ४२५ जना ज्येष्ठ नागरिक, अपांगता भएका र एकल महिलालाई न्यानो कपडा वितरण, कपडा पाउँदा उपमहानगरवासी दंग ।


४) सदरमुकाममै बसी लेखा परीक्षण गर्ने प्रचलन बढेपछि ताप्लेजुङको मैवाखोला गाउँपालिकाले बनायो कार्यविधि, लेखा परीक्षक  विद्यालय वा गाउँपालिकामा अनिवार्य उपस्थित हुनुपर्ने ।


५) तनहुँको व्यास नगरपालिकाको विशेष नगरसभा सम्पन्न, सार्वजनिक-निजी-साझेदारी विधेयक पारित ।


६) पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका- ३ भोक्रोफाँटमा ना३ख ५३३९ नम्बरको ट्रक भिरबाट खस्दा तीन जनाको मृत्यु, कालीगण्डकी करिडोरमै काम गर्ने ट्रक दुर्घटना।


७) आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा खोटाङको साकेला गाउँपालिका- १ बाँझेच्यान डाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या, ठूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको हत्या गरेको खुलासा ।


८)  बाटैबाट चोरी भएको २० लाख रुपैयाँभन्दा बढीको तयारी चिया झापाको भद्रपुर नगरपालिका- ४ फुटानीचोकस्थित भीमसेन राजवंशीको किराना पसलबाट छापा मारेर बरामद, चिया चोर्ने र खरिद गर्ने तीन जना प्रहरीको नियन्त्रणमा ।

 

९) नेपाल नगरपालिका संघ सुदूरपश्चिम प्रदेशको उपसंयोजकमा  गोदावरी नगर उपप्रमुख रत्ना कडायत र प्रदेश सदस्यमा महाकाली नगरपालिका दार्चुलाका उपप्रमुख सुना बोहरा मनोनीत, अब संघको गतिविधि थप चलायमान हुने ।


१०) सीमान्तकृत बालिकाहरूको शिक्षामा पहुँच बढाउनका लागि कैलालीका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीबीच सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न, बालिकाहरूलाई जीविकोपार्जनसम्बन्धी सीप सिकाइने ।


११) स्याङ्जाको वालिङ नगरपालिकाले महिला फुटबल खेलाडीहरूको प्रोत्साहनका लागि छात्रवृत्ति उपलब्ध गराउने, महिला खेलकुदको विकासका लागि नगरपालिकाले दिलीप थापालाई प्रशिक्षकको रूपमा गर्‍यो नियुक्त ।


१२) विभेदपूर्ण तरिकाले शिक्षकको सरुवा गरिएको भन्दै खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा दुई शिक्षक संगठन उत्रिए विरोधमा, विद्यार्थीको पठनपाठन प्रभावित ।


१३) रूपन्देहीको सैनामैना नगरपालिका- ५ मा आधारभूत स्वास्थ्य चौकी भवन निर्माण हुने, नगरप्रमुख चित्रबहादुर कार्कीले गरे भवनको शिलान्यास ।


१४) मासु तथा अण्डामा पालिकालाई आत्मनिर्भर बनाउने ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाको योजना, किसानलाई पालिकाले ७५ प्रतिशत अनुदान दिने ।


१५) खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा दलित र फरक क्षमता भएका छात्र-छात्रालाई झोला वितरण, ४८ विद्यालयका विद्यार्थीले झोला पाउने ।


१६) प्रतिनिधिसभा विघटनविरुद्ध देशभर प्रदर्शन, जनता समाजवादी पार्टी नेपालले प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा चार दिनसम्म विरोधका विभिन्न कार्यक्रम निरन्तर गर्ने ।


१७) अझै सम्बोधन भएन उखु किसानका माग, काठमाडौंको माइतीघरमा प्रदर्शन जारी, प्रतिनिधिसभा विघटनले किसानको माग ओझेलमा ।


१८) स्थानीय तहका सूचना प्रविधि अधिकृतहरूका लागि काभ्रेको धुलिखेलमा एक दिने लैंगिक समानता तथा सामाजिक समावेसीकरण सूचना व्यवस्थापन प्रणालीसम्बन्धी तालिम सम्पन्न, कार्यक्रममा ३५ जनाको सहभागिता ।


१९) काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्गको निर्माण कार्य सुरु, सुरुङमार्ग सन् २०२२ को अन्त्यसम्ममा निर्माण सम्पन्न गर्ने सरकारको लक्ष्य ।


२०)  चितवन कारागारमा कैदी जीवन बिताउँदै आएका हेटौँडा उपमहानगरपालिका- १८ का ५१ वर्षीय जंगबहादुर क्षेत्रीको मृत्यु ।