close

मेलौलीमा बन्ने भयाे औद्योगिक ग्राम 

मेलौलीमा बन्ने भयाे औद्योगिक ग्राम 

Trulli
ADVERTISEMENT

बैतडी- बैतडीको मेलौली नगरपालिकामा औद्योगिक ग्राम स्थापना हुने भएको छ । औद्योगिक ग्राम स्थापनाका लागि भौतिक संरचना निर्माणको काम पुसभित्रै सुरु हुने भएको हो ।

 

डीपीआर रिपोर्ट अन्तिम चरणमा रहेकाले केही दिनभित्रै औद्योगिक ग्राम स्थापनाका लागि भौतिक संरचनाका काम अगाडि बढ्ने मेलौली नगरपालिका प्रमुख कृष्णसिंह नायकले जानकारी दिए ।

 

उनले भने, ‘रिपोर्ट आएपछि टेन्डर गर्ने कि उपभोक्तालाई काम दिने भन्ने टुंगो लाग्छ । सबैभन्दा पहिला सडक निर्माण, खानेपानी व्यवस्थापन, फिल्ड कटिङको काम हुनेछ ।’


बहुवर्षीय योजना भए पनि औद्योगिक ग्राम स्थापनामा अब ढिलाइ नगरिने नगरप्रमुख नायकले बताए । मैलौलीको वडा नम्बर १, ३, ५ र ६ को सीमा क्षेत्र सिरोडामा औद्योगिक ग्राम स्थापना हुन लागेको हो । संघीय सरकारले औद्योगिक ग्राम स्थापनाका लागि गत वर्ष ९२ लाख रुपैयाँ पठाइसकेको छ ।

 

औद्योगिक ग्रामका लागि उक्त क्षेत्रमा फलाम, चुनढुंगा, तामालगायत खानीको सम्भावना रहेको छ । यसबाहेक नेपाली कागज बनाउने लोक्ता, बाँस, निङ्गालो, केत्तुके, भिमल, सल्लाको खोटो, जडीबुटीतर्फ रिठ्ठा, अमलालगायत बहुमूल्य जडीबुटी प्रशोधन गरिनेछ ।

 

मेलौलीमा औद्योगिक ग्राम स्थापनापछि स्थानीय स्तरमै रोजगारी सिर्जना हुनेछ । सरकारले साना तथा घरेलु उद्योग स्थापनालाई प्रोत्साहन गरी उद्यमशीलता र रोजगारी सिर्जना गर्न औद्योगिक ग्राम स्थापनाको घोषणा गरेको हो ।

 

मेलौली तल्लोसोराड क्षेत्रको केन्द्रबिन्दु भएकाले यहाँ अद्यौगिक ग्राम स्थापना भएपछि युवाहरूले रोजगारी पाउने स्थानीय केशवसिंह भाटले बताए ।  मेलौलीमा औद्यौगिक ग्रामका लागि सरकारबाट गत वर्ष नै रकम प्राप्त भएकाले अब छिट्टै कामले गति लिने नगर उपप्रमुख राधा ओझाले बताइन् ।