close

बर्खा लागेपछि साढे २ सय परिवारको गाउँपालिकासँग सम्पर्क विच्छेद

बर्खा लागेपछि साढे २ सय परिवारको गाउँपालिकासँग सम्पर्क विच्छेद

Trulli
ADVERTISEMENT

संखुवासभा - जिल्लाको दुर्गम सिलिचोङ गाउँपालिकाको १ र २ वडाको बीचमा रहेको सिसुवाखोलामा झोलुंगे पुल नहुँदा गाउँपालिकाको केन्द्र ताम्कुसँगको सम्पर्क विच्छेद हुने गरेको छ । खोलामा पुल नभएकै कारण २ सय ५० भन्दा बढी परिवार गाउँपालिका पुग्न नसक्ने भएका हुन् । 


बर्खा लागेपछिगाउँपालिका–१का रियाम्मा, मोस्तेम र २ नम्बरकोवालाका स्थानीयको सम्बन्ध टुटाउने गरेको वडा नम्बर– १का वडाअध्यक्ष अलक्षकुमार कुलुङले बताए । ‘बर्खायामको भेलले बाँस र काठबाट बनाइएको अस्थायी पुल बगाउँदा गाउँपालिकाका दुई वडा र केन्द्रबीचको सम्बन्ध टुट्छ’, उनले भने, ‘देवादहमा पुल नहुँदा स्थानीयले सास्ती पाउने गरेका छन् ।’


सिसुवा खोलामा पानी परेसँगै स्थानीयलाई आउजाउमा समस्या हुने गरेको छ । वारिपारि आउजाउमा समस्या नहोस् भनेरै खोला बढ्नासाथ अस्थायी पुल बनाउन बाँस र काठको जोहो गर्नुपरेको स्थानीय बताउँछन् ।


‘वर्षाको भेलमा ज्यान जोखिममा राखेरै२ सय ५० भन्दा बढी परिवारले सो फड्केमार्फत आउजाउ गर्नुपर्ने बाध्यता छ’, स्थानीय कमलराज कुलुङले गुनासो पोखे । 
बर्खाको भेलले पुल बगाएको समय वडा नम्बर– १ बालाका स्थानीय ४ घन्टाको बाटो घुमेर अर्को पुल जान ताम्लुङ, छुदाक हुँदै सिसुवाटार आउनुपर्ने अवस्था रहेको कुलुङ बताउँछन् ।


पुल नहुँदा मोस्तेम, रियाम्मा र ताम्लुङका विद्यार्थीसमेत ४ घन्टा लामो घुमाउरो बाटो हुँदै बाला याम्दाङ माध्यमिक विद्यालय जानुपर्ने बाध्यता छ । सिलिचोङबासीले विभिन्न निकायमा पुलको माग गरे पनि सुनुवाइ हुन सकेको छैन । झोलुंगे पुल निर्माणका लागि संघीय, प्रदेश सरकार, स्थानीय तहलगायतका निकायमा निवेदन दिए पनि सुनुवाइ नभएको स्थानीयको गुनासो छ ।


सिलिचोङ गाउँपालिकामा अहिले ६ वटा फड्के सञ्चालनमा  छन् । स्थायी पुल नहुँदा त्यस क्षेत्रका मास्तेम, तिवा, पौखामटार, तम्लुङ, बाला, रियाम्मा, तेयुङलगायतका स्थानीयलाई समस्या हुने गरेको छ ।  छिमेकी भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नम्बर २ र ३ वडाका ओख्रे, ठोटनेरी, सानोताल, ठूलोताल, बाइखिमलगायत गाउँसम्मका वासिन्दाले सोही काठ र बाँसबाट बनेको अस्थायी फड्के प्रयोग गर्दै आएका छन् ।