close

भक्तपुर नगरपालिकाका ठाउँठाउँमा शिशु स्याहार केन्द्र, व्यस्त अभिभावकलाई सहज​​​​​​​ (भिडियाे खबर)

मासिक एक हजारमा कखरा, एबीसीडीसहित खाजासम्म

भक्तपुर नगरपालिकाका ठाउँठाउँमा शिशु स्याहार केन्द्र, व्यस्त अभिभावकलाई सहज​​​​​​​ (भिडियाे खबर)

मासिक एक हजारमा कखरा, एबीसीडीसहित खाजासम्म

ADVERTISEMENT

भक्तपुर- साना नानीबाबुहरूको समूह, रंगीचंगी रूपमा सजिएका भित्ता । कुनै नानीबाबु टिभीमा बजिरहेको गीतमा रमाइरहेका छन्, कोही चिप्लेटी अनि ढिकीच्याउँ खेल्नमा व्यस्त । अझ केही नानीबाबु आफूसँगैका साथीहरूसँग खेल्दै रमाएका छन् ।

 

यो दृश्य गोल्मढीस्थित शिशु स्याहार तथा बाल विकास केन्द्रको हो । यसलाई भक्तपुर नगरपालिकाले सञ्चालनमा ल्याएको हो । यो शिशु स्याहार केन्द्रलाई ज्ञान विज्ञान केन्द्र तथा शैक्षिक हबका रूपमा स्थापित गर्ने नगरपालिकाको योजना छ । 

 

केन्द्रले एक घर एक स्नातक कार्यक्रमलाई समेत टेवा पुग्ने विश्वास नगरपालिकाको छ । ‘यहाँका स्थानीयको मुख्य पेसा कृषि हो । उहाँहरूको सेवाका लागि नै हामीले शिशु स्याहार केन्द्र सञ्चालनमा ल्याएका हौँ,’ नगरपालिकाका शिशु स्याहार तथा बाल विकास केन्द्र प्रमुख दीपेन्द्र प्रजापतिले भने, ‘मासिक रूपमा एक हजार लिन्छौँ । दिनको दुई पटक खुवाउँछौँ ।’

 

हाल नगरले १० मध्ये ६ वटा वडामा केन्द्र सञ्चालनमा ल्याएको छ । एक केन्द्रमा ४० जना नानीबाबुलाई राखिने उनले जानकारी दिए । उनले भने, ‘नगरले ६ वटा शैक्षिक संस्था सञ्चालनमा ल्याएको छ । सोही शैक्षिक संस्थामा राम्रा विद्यार्थी उत्पादन गर्न शिशु स्याहार केन्द्र सञ्चालनमा ल्याइएको हो ।’ 

 

नगरपालिकाले स्कुल तथा कलेजमा मात्रै होइन, शिशुहरूलाई समेत लगानी गर्न थालेको छ । हाल नगरको भार्वाचो, भोलाछेँ, मंगल तीर्थ, खँचा, लिवाली र गोल्मढी केन्द्रमा शिशु स्याहार केन्द्र सञ्चालन छन् । सुरुमा दैनिक दुई घन्टा सञ्चालन भए पनि पुस १५ देखि दिनभर सञ्चालन हुनेछ । केन्द्रमा ४० जना शिशु हुनेछन् ।


करिब दुई दशक पहिलेदेखि नै नगरले शिशु स्याहार केन्द्र स्थापना गरेको थियो । २०५६ सालदेखि सञ्चालनमा आए पनि जनप्रतिनिधि नभएकै कारण यी केन्द्र ओझेल परेका थिए । ‘हामीले पुनः विस्तारमा ल्याएका छौँ । १५ पुसदेखि नियमित रूपमा दैनिक ६ घन्टा सञ्चालनमा ल्याउनेछौँ,’ प्रजापतिले भने । 

 

शिशु स्याहारकेन्द्र भक्तपुरले सञ्चालनमा ल्याए पनि अरू नगरका नानीहरूले स्थान पाउने केन्द्रकी इन्चार्ज मिथु अवालले बताइन् । ‘पालिकाले स्थानीयको सेवाका लागि ल्याएको हो । तर, यहाँका शिशुले मात्रै होइन, बाहिरी स्थानीय तहका शिशुहरूले समेत स्थान पाउनेछन्,’ उनले भनिन् ।

 

केन्द्रमा एकदेखि तीन वर्षसम्मका नानीबाबु खेल्दै, रमाउँदै बस्छन् । ‘लामो समयको लकडाउनले नानीबाबुमा घर बस्ने बानीको विकास भइसकेको छ । त्यसैले केही नानीहरू कक्षामा बस्न रुचाउँदैनन्’, गोल्मढी शिशु स्याहार केन्द्रका सहयोगी राजेश्वरी लवजुले भनिन्, ‘बानी बसेपछि उनीहरूले घर होइन, शिशु स्याहार केन्द्र खोज्नेछन् ।’