close

मुलुकका लागि संयमतापूर्वक निर्णय लिन राजनीतिक दलहरूलाई निजी क्षेत्रकाे आग्रह

मुलुकका लागि संयमतापूर्वक निर्णय लिन राजनीतिक दलहरूलाई निजी क्षेत्रकाे आग्रह

Trulli
ADVERTISEMENT

काठमाडौं- मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति निजी क्षेत्रका प्रतिनिधि संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले आफ्नाे ध्यानाकर्षण भएको बताएका छन् ।


निजी क्षेत्र जहिले पनि स्थिरताको पक्षमा रहेकाले त्यसका लागि राजनीतिक दलहरूलाई विगतमा पनि बारम्बार सुझाव दिँदै आएको ती संस्थाले स्मरण गराएका छन् । 


राजनीतिक स्थिरताबाट मात्र नीतिगत स्थिरता आउने, नया“ उद्योग, व्यवसाय फस्टाउने, रोजगारी सिर्जना, नया“ लगानी आकर्षण हुने र समग्रमा अर्थतन्त्रले गति लिन सक्ने यथार्थ कसैले भुल्न नहुनेमा उनीहरूले जोड दिएका छन् ।

 

कोरोना महामारीका कारण मुलुक आक्रान्त भई अर्थतन्त्रमा गम्भीर असर परिरहेका बेला पछिल्लो समय उब्जिएको राजनीतिक समस्याबाट उत्पन्न हुन सक्ने अस्थिरताको परिणाम थप गम्भीर हुनेतर्फ निजी क्षेत्रले चिन्ता व्यक्त गरेको छ । 

 

‘अहिलेको कठिन परिस्थितिमा सिर्जित घटनाक्रमले अन्योल सिर्जना गर्नेमा निजी क्षेत्र सशंकित एवं चिन्तित भएको छ र भर्खरै चलायमान हुन थालेको मुलुकको अर्थतन्त्र र सर्वसाधारणको जीविकोपार्जनमा समेत यसले गम्भीर असर पर्नेछ’, तीन वटै संस्थाले भनेका छन् ।

 

विषम परिस्थितिमा सम्पूर्ण राजनीतिक दलहरूले सुझबुझ र संयमतापूर्वक निर्णय लिई मुलुकलाई स्थिरतातर्फ लैजाने कार्यमा गम्भीर हुनुपर्नेमा ती संस्थाले जोड दिएका छन् ।