close

युवालाई कृषिमा आत्मनिर्भर बनाउने अभियान

युवालाई कृषिमा आत्मनिर्भर बनाउने अभियान

Trulli
ADVERTISEMENT

रुपन्देही - कञ्चन गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्केका युवालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले मौसमी तरकारीको बिउ वितरण गरेको छ । कञ्चन गाउँपालिकाले भारत तथा तेस्रो मुलुकबाट आएका युवालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले २ सय ५० जनालाई मौसमी तरकारीको बिउ वितरण गरेको हो ।


महामारीको मारमा परेर नेपाल फर्किएका युवाहरुलाई व्यावसायिक रुपमा तरकारी तथा कृषिमा आकर्षित गर्ने उद्देश्यले बिउ वितरण गरिएको गाउँपालिकाले जनाएको छ।


गाउँपालिकाले आव ०७६/७७ को  विनियोजित बजेटबाट १ लाखभन्दा बढीको मौसमी तरकारीको बिउ वितरण गरिएको कञ्चन गाउँपालिकावडा–४ का वडा सदस्य केशरबहादुर खत्रीले जानकारी दिए । कार्यपालिका सदस्य गीता थापा गाउँपालिकाले युवा लक्षित विभिन्न तालिम सञ्चालन गर्दै आएकोले युवालाई व्यवसाय सञ्चालन गरेर उद्यमी बन्ने अवसर गाउँमै मिलेको बताउँछिन् ।


कञ्चन गाउँपालिका वडा–४ का वडाध्यक्ष दुर्गासिंह क्षेत्रीले वडा बासीलाई आत्मनिर्भर बनाउने उद्देश्यले  मौसमी तरकारीको बिउ वितरण गरिएको बताए । ‘कृषिमा केही गर्नुपर्छ भन्ने सोच राखेर कृषिकर्म गरिरहेका युवाहरुकालागि यो अवसर पनि हो’, उनले भने ।


बिउ वितरण कार्यक्रममा कञ्चन गाउँपालिका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले गाउँपालिकाका युवाहरुलाई आधुनिक कृषि प्रणालीतर्फ अग्रसर भई व्यावसायिक बनाउने उद्देश्यले विभिन्न किसिमका तालिमपनि सञ्चालन गर्दै आएको जानकारी दिए ।


उनले भने, ‘गाउँमै कुखुरा, मौरी, पशु, माछापालन र च्याउखेती गर्नेलाई आवश्यक बिउ तथा प्राविधिक पनि उपलब्ध गराएका छौं ।’