close

रेलको खेल, सबै फेल ! (भिडियाे खबर)

रेलको खेल, सबै फेल ! (भिडियाे खबर)

ADVERTISEMENT

धनुषा- नेपालको एक मात्र रेल वे संचालनमा नआउँदै रेल वेका विभिन्न स्टेसनमा जडानमा गरिएका विद्युत सामग्री, रेल वे ट्र्याकका सामानहरू चोरी हुन थालेको छ । 


अहिले जनकपुरलगायतका स्थानमा चलेको एउटा महत्त्वपूर्ण विषयमध्ये ट्रेन अर्थात् रेल पनि हो । देशमा तीन तहको सरकार छ तर पनि ऐतिहासिक नेपाल रेलको रक्षा कसले गर्ने ? भारतले बनाइदिएको रेलको पटरी र पटरीमा लागेको क्लिप चोरी भयो र रेल विभागले पुष्टिसमेत गरे । 


नयाँ बनाइएका रेल वे स्टेसनदेखि लेभल क्रसिङ, सिग्नल घरसमेतका सामानहरू चोरी हुने मात्र होइन, निर्मित सामानहरू पनि स्थानीयहरूले फुटाइदिने गरेको सहजै हेर्न सकिन्छ । जनकपुरधाम- २१ कुर्थामा बनाइएको नयाँ स्टेसनको अवस्था पनि जर्जर भएको छ ।


कुर्था स्टेसनमा यात्रुहरूलाई बस्नका लागि बनाइएको सिमेन्टको बेञ्च तथा स्टेसनमा लगाइएको टायल्ससमेत मानिसहरूले तोडफोड गर्नुका साथै स्टेसनको घरको छानामा लगाइएका दुईवटा सिलिङ फ्यानसमेत उखेलेर चोरी भएको छ ।


सरोकारको लापरवाही र विभिन्न कारणले गर्दा रेल संचालनमा आउन सकेको छैन । जबसम्म रेल संचालनमा आउँदैन, यस्ता समस्या समाधान नहुने स्थानीयको बुझाइ छ । जनकपुरधाम- २१ का स्थानीय रामवृक्ष नायक भन्छन्, ‘यहाँ रेलभन्दा सत्ता र कुर्सीमा नेताहरू लागेका छन् । जबसम्म रेल गुड्दैन, यो समस्या समाधान हुनेछैन’, स्थानीय नायक बताउँछन् ।


नयाँ निर्मित रेल वे ट्र्याकका १७ हजार थान क्लिप मानिसहरूले उखेलेर लगेका छन् । चोरी गरी लागिएका फलामका समानहरू कबाडमा बिक्री हुने गरेको स्वयं रेल वे विभागले स्वीकार गरिसकेको छ ।


परबाहा स्टेसनमा रहेका दुईवटा बिजुलीका पोल, स्टेसन घरको झ्याल तथा ढोकामा लगाइएको फलामको ग्रिलसमेत उखेलेर लगेको अवस्था छ । रेल वेका लागि बनाइएको सिग्नल रुमको ढोकाको ताला फुटाएर यात्रुहरूका लागि एनाउन्स गर्ने बाजा (एम्प्लिफायर)समेत चोरेर लगेका छन् । लेभल क्रसिङका लागि विभिन्न स्थानमा बनाइएका फाटकहरूको व्यारियर पनि उखेलेर क्षतिग्रस्त बनाइदिएका छन् ।


रेल विभागका साइट इन्जिनियर विनोद ओझाका अनुसार अहिले बनाइएको पूर्वाधार र रेल वे लिक भारतीय पक्षले हस्तान्तरण गर्न बाँकी रहेको जिकिर गर्दै उनले अहिले नै रेल कहिलेदेखि चल्छ भनेर भन्ने अवस्थामा आफू नरहेको बताए ।


चरम राजनीतीकरण र नेताहरूको श्रेय लिने होडका कारण नै रेल वे संचालन नहुनुको प्रमुख कारणमध्ये एक हो । स्थानीय, प्रदेश र संघीय सरकारको समन्वय भए रेल संचालनमा आउने एकथरीको विश्वास रहे पनि हाल उत्पन्न राजनीतिक परिस्थितिका कारण रेल संचालनमा अझ ढिलाइ हुन सक्ने आमजनको बुझाइ छ ।


जनकपुर- ८ का दीपक ठाकुरले भने, ‘कहिले मोदी आउने, कहिले योगी आउने र ट्रेन उद्घाटन गर्ने भनेर हल्ला गरियो तर ट्रेन भने अझै चलेन ।’ उनको आक्रोश बाँकी नै थियो, ‘सरकार नै गम्भीर छैन ट्रेनको विषयमा ।’ 


जयनगर-बर्दिवास ६९ किलोमिटर दूरीमध्ये पहिलो चरणमा जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटरमा रेल संचालन गर्ने भनिए पनि भौतिक पूर्वाधारको काम अझै अधुरो छ । रेलको लिकलगायत संरचना हस्तान्तरणसमेत भएको छैन । 


पहिलो चरणमा जयनगरदेखि जनकपुर हुँदै बर्दिवाससम्म संचालनका लागि भारतबाट ८४ करोड रुपैयाँमा दुई सेट रेल खरिद गरेर २ असोज मै भित्र्याइए तर ती दुई सेट रेल अहिले तीन महिनादेखि धनुषाको इनर्वा स्टेसनमा पालमुनि थन्क्याएर राखिएको छ । 


भौतिक पूर्वाधारको कमी, प्राविधिक तथा प्रशासनिक कर्मचारीको अभाव जस्ता कारण देखाउँदै जनकपुर-जयनगर रेल संचालनमा ढिलाइ भएको हो । अन्य विषय भन्दा पनि यतिबेला बनिसकेको स्टेसन, पूर्वाधार, सामग्रीलगायतको सुरक्षा, रेल र लिकको रक्षा गर्नु नै प्रमुख विषय बन्नुपर्ने स्थानीयको बुझाइ छ । 


कर्मचारी भर्ना र संचालनको तयारी


जनकपुर-जयनगर खण्डमा रेल संचालनका लागि २२६ जना जनशक्ति आवश्यक पर्ने कम्पनीको भनाइ छ । भारतसँग खरिद गरिएको दुई रेल डिजेल मल्टी इलेक्ट्रोफायरिङ (डिमो) मोडलको रेल हो । 


एउटा ट्रेन सेटमा पाँचवटा डिब्बा (बोगी) हुन्छन्, जसमा एउटा मुख्य इन्जिन र अर्को सहायक इन्जिन समावेश छन् । एउटा ट्रेन सेटले एक हजार ३०० यात्रु बोक्न सक्छ । रेल विभागका अनुसार डिमो रेल दुवैतिरबाट संचालन गर्न सकिन्छ । यसलाई नघुमाई संचालन गर्न सकिने र छोटो दूरीमा यो मोडलको रेल संचालन गर्न उपयुक्त हुने विभागले जनाएको छ । 


जयनगर-बर्दिवास ६९ किलोमिटर दूरीमध्ये पहिलो चरणमा जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटरमा रेल संचालन गर्ने भनिए पनि भौतिक पूर्वाधारको काम अझै अधुरो छ । रेलको लिकलगायत संरचना हस्तान्तरण पनि भएको छैन ।


जनकपुर-जयनगर रेल


सन् १९३७ मा संचालनमा आएको यो रेल जयनगरदेखि बिजलपुरासम्म संचालनमा थियो । तत्कालीन बेलायत सरकारले नेपालबाट जडिबुटी, काठ तथा खनिज पदार्थ लैजानका लागि रेल संचालन गरेको थियो । उक्त रेल पनि न्यारो गेजकै थियो ।


जनकपुर-बिजलपुरा २२ किलोमिटरको रेल वे ट्र्याक र दुईवटा पुल बाढीले बगाएपछि सन् २००१ देखि रेल संचालन ठप्प भएको थियो । यसको लम्बाइ र रेल लिकको स्तरोन्नति गरेर ब्रोड गेजमा विस्तार गर्ने नीति सरकारले लियो र यस रेलमार्गलाई जयनगर-जनकपुर-बिजलपुरा-बर्दिवाससम्म ६९ किलोमिटरमा विस्तार परिकल्पना अगाडि बढाइयो । 


भारत सरकारको सहयोगमा निर्माण गरिरहेको ६९ किलोमिटर रेलमार्गमध्ये तीन किलोमिटर भारतीय भूमिमा पर्छ । 


त्यस्तै, भारतबाट नेपालको सीमानाका वीरगंजको सुक्खा बन्दरगाहसम्म रेल सेवा संचालन हुँदै आएको छ । यो रेलसेवा कार्गो (माल-वस्तु ढुवानी)का लागि मात्र प्रयोग हुँदै आएको छ । यातायातका साधनमा सबैभन्दा सस्तो पानीजहाजलाई मानिन्छ भने पानीजहाजपछि रेल यायायात, त्यसपछि सडक यातायात तथा हवाई यातायात पर्छन् ।


जनकपुर-जयनगर रेल सुरुमा निर्माण हुँदा न्यारो गेजमा थियो भने २०१८ सालमा यसलाई ब्रोड गेजमा विस्तार गरिएको हो । सरकारले २०७५ सालमा रेल किन्नका लागि ८४ करोड ६५ लाख रुपैयाँ बजेट छुट्याएको थियो । जयनगर-जनकपुर रुटमा संचालन गर्नका लागि नेपालले चेन्नईको कोंकर्ण रेल वे कर्पोरेसनलाई दुईवटा ट्रेन सेट किनेको थियो । 


गत वर्ष नै खरिद प्रक्रिया अघि बढाइएको थियो । जनकपुर-जयनगर खण्डमा चलाउन खरिद गरेर ल्याइएको रेल अत्याधुनिक इलेक्ट्रोनिक सिस्टमयुक्त हो ।