close

काकाकुल लुप्राङ : भोट दिएकाले धारा दिएनन्, छिमेकी वडाले मुहान दिएनन्

काकाकुल लुप्राङ : भोट दिएकाले धारा दिएनन्, छिमेकी वडाले मुहान दिएनन्

Trulli
ADVERTISEMENT

बाग्लुङ- तीन वर्षअघिको स्थानीय चुनावमा पर्वतको लुप्राङका घरघरमा नेताहरू हात जोड्दै आए । नेताले भोट मात्रै मागेनन्, गाउँमा रहेको पानीको समस्या समाधान गर्ने वाचाकसम पनि खाइदिए । चुनाव सकिएपछि एक-दुई पटक गाउँ चहारेका नेताहरू गाउँमा सबैभन्दा धेरै पानी जसको घरमा छ, त्यहीं बस्छन् तर सर्वसाधारणले वर्षौंदेखि भोग्दै आएको समस्या देख्दैनन् । 


पर्वतको जलजला गाउँपालिका वडा नम्बर ८ नाग्लीबाङको लुप्राङमा पानीको ठूलो समस्या छ । बर्खाको समय खेतकान्लामा निस्किने मूलहरूले प्यास मेट्ने यहाँका सर्वसाधारण हिउँदमा सधैँ काकाकुलजस्तै छन् । 

 

कुवाको पानी लाइन बसेर जोहो गर्नुपर्ने अवस्था रहेको स्थानीय कोपिला रेग्मीले बताइन् । ‘यहाँ खानेपानी समस्या आजको होइन, म आउँदादेखि नै थियो,’ रेग्मी भन्छिन्, ‘पानीका लागि समिति बने तर एक थोपा पनि चुहिएन ।’

 

नजिकमा मुहानको समस्या र टाढाबाट ल्याउन वडामा बजेट पर्याप्त छैन । गाउँ नै पानीको अभावमा रहेकाले यहाँका युवा नियमित रूपमा पिउने पानीको जोहो गरिदिन अनुरोध गर्दै विभिन्न ठाउँ धाउँदै आएका छन् । जनप्रतिनिधि र विकासे संस्थाहरू गुहार्दा हैरान भएका युवाले जिल्ला प्रशासन कार्यालय पर्वतमा समेत तीन महिनादेखि पटक-पटक धाए । 

 

स्थानीय बाबुराम खड्काका अनुुसार उनीहरूले धेरै पहिलादेखि वडा र गाउँपालिका कार्यालय गएर समस्या बताए पनि पानीमा राजनीति मिसिएको अनुभव छ । ‘अहिले पानी ल्याउँदा अर्को चुनाव जितिन्नजस्तो गर्छन्,’ बाबुराम भन्छन्, ‘समस्याका विषयमा सबै जानकार छन् तर कसैले सुन्दैनन् ।’

 
लुप्राङका ९८ घरधुरीले अघिल्लो चुनावमा पानी पाउने आशाले एकै ठाउँमा निर्णायक मत दिएको स्थानीय युवा ध्रुव रेग्मी बताउँछन् । ‘चुनाव जित्न आएकाले पानी ल्याएनन्, अहिले प्रशासन धाउन थालेका छौँ । आश मरिसकेको छ,’ रेग्मीले भने ।

 

पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले लुप्राङको स्थलगत अनुगमन गरेर उपयुक्त पहल गरिदिने वचन दिएका छन् । लुप्राङमा पानी ल्याउन गण्डकी प्रदेश सरकारले चार करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।


नजिकमा मुहान नभएको र अन्तरवडा मुहानको खोजी गर्दा विवाद भएका कारण तत्काल योजना कार्यान्वयन गर्न नसकिएको जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।

 

‘नजिकको मुहान जलजला वडा नम्बर ९ बनौमा पर्छ तर मुहानमा विवाद छ,’ शर्माले भने, ‘दुवै पक्षलाई राखेर छलफल गर्ने प्रयास भइरहेको छ । योजना कार्यान्वयन हुँदा समस्या समाधान हुन्छ ।’ बनौका स्थानीयले मुहान दिन नमानेको र लुप्राङमा मुहान नभएका कारण समस्या रहेको शर्माको तर्क छ ।

 
दुई वडाको विवाद मिलाउन राजनीतिक तहबाट पहल हुनुपर्ने युवाहरूको माग छ । राजनीतिक दल र जनप्रतिनिधिको बेवास्ताकै कारण जिल्ला प्रशासन गुहार्नु परेको रेग्मी सुनाउँछन् । पानीकै समस्याका कारण लुप्राङबाट पाँच घर बसाइँ सरेर तराई झरेका छन् भने स्थानीय कुवाको पानी पिउनैका लागि घन्टौँ पैदल हिँड्नुपर्छ ।