close

धवलागिरि र अन्नपूर्णमा पहिलोपल्ट पुगे डाक्टर

धवलागिरि र अन्नपूर्णमा पहिलोपल्ट पुगे डाक्टर

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा आवासीय रूपमा सेवा दिने गरी पहिलोपल्ट डाक्टर पुगेपछि स्थानीयमा खुसी छाएको छ । धवलागिरी गाउँपालिकाले ताकम र अन्नपूर्णले नारच्याङमा सञ्चालन गर्न लागेको कोरोना अस्पतालका लागि डाक्टर नियुक्त गरेका हुन् ।

 

अन्नपूर्णले १ पुसमा डा. ज्योति पन्थी र धवलागिरिले ८ पुसमा डा. एकराज भण्डारीलाई नियुक्त गरेको थियो । धवलागिरि वडा नम्बर ७ ताकमका वडाध्यक्ष कलानिधि सुवेदीले कोरोना अस्पतालमा नियुक्त गरिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई निरन्तरता दिएर नियमित रूपमा अस्पताल सञ्चालन गरिन लागेको बताए । 

 

‘नियमित रूपमा यहीँ बसेर सेवा दिने गरी पहिलोपल्ट गाउँमा डाक्टर आएका हुन्’, उनले भने, ‘गाउँपालिकामै डाक्टर आएपछि स्थानीय खुसी छन् ।’  अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई वडाका जनप्रतिनिधि र ताकमका बासिन्दाले बिहीबार स्वागत गरे । ताकम स्वास्थ्य चौकीको भवनमा पाँच शय्या क्षमताको कोरोना अस्पताल सञ्चालन गर्न पूर्वाधार र सामग्री व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताइन् । 

 

गत मंगलबार सम्पन्न विशेष गाउँसभाले ताकममा ५ शय्या क्षमताको अस्पताल स्थापना गर्र्ने निर्णय गरेको थियो । ‘अहिले तीन महिनालाई डाक्टर र नर्स नियुक्त गरेका हौँ’, अध्यक्ष पुनले भनिन्, ‘कोरोना अस्पताल स्थापना भएको ताकममै नियमित अस्पताल सञ्चालन गर्ने तयारी गरेका छौँ ।’

 

अस्पताल भवन निर्माणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७० लाख रुपैयाँ पठाएको छ । भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएर ठेक्का आह्वानको तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले जानकारी दिए ।  

 

कोरोना अस्पताल सञ्चालन गर्न यसअघि मालिका गाउँपालिकाले डाक्टर नियुक्त गरेको थियो । मंगला र रघुगंगा गाउँपालिकाले स्टाफ नर्स नियुक्त गरे पनि डाक्टर पाएका छैनन् । कोरोना अस्पताल स्थापना र सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै पालिकालाई १० लाख रुपैयाँ बजेट पठाएको थियो । 

 

आवश्यक मेडिकल बेड, बिस्तारा, अक्सिजनलगायतका औजार र औषधीको समेत व्यवस्था गरिएको छ । साढे चार रुपैयाँ तलब, ५० हजार औषधी र पाँच लाख रुपैयाँको बेडसहितका सामग्री किन्न शीर्षक तोकेरै बजेट पठाएको हो ।