त्यो समाज


  • change font
  • change font
  • change font

मिर्मिरे चिप्लिएकै थिएन

अँध्यारो च्यातिएकै थिएन

यसबेलै एकाएक शितलविहीन हावा चल्यो  मुटुको दलानमा

हुरी,

मुटुको ऐनामा तान्डव देखाउँछ

घुट्को घुट्को भयाे पिएर

आगोबिनै हृदयको रंगमञ्च जलिरहन्छ

यतिबेला,

मनको सागरमा सम्झनाका लहरहरूको चोट गनिरहेछु

साक्षी छन्, ती विगतका तीता सत्यहरू जो वर्तमानमा भूत बनेर तर्साइरहेछन्

जहाँ, मेरी प्यारी आमाको आँशुमा रमाउँदै होली खेलिरहेका थिए, मनुष्यहरू

गोहीका आँशु चुहाउँदै हिँडेको अवस्थामा ती आँशु पिउन परिवर्तित भइरहे मनहरू

अविश्वासको खुकुरीले टाउको गिड्दै हिँड्नेहरु पनि भेटिए

दयाको भावनामा प्लास्टिक सर्जरी गरेर हिँडेका ती स्नातकहरु अबुझ भइदिए

कानुनका कुरा गर्ने कानुनी किराले कानुनलाई खाइदिए

घन्टीका प्रलापहरु चीत्कारमाथि बुट बजार्दै मानवताका पाठ पढाइरहे

आखिर,

रगतको बाछिटा झार्ने त्यो आकाश बोलेन

यो सब दृश्य देख्नेहरुले पनि कालो चस्मा भिरेका थिए

सर्पले भ्यागुता निलेझैं ती सब मूर्ति भए,

एकदम स्तब्ध

कोही भएनन्, एउटी नारीको मर्म बुझ्ने र उसको तर्फबाट सत्य कुरा खोलिदिने


किनकि,

त्यो त एक अन्धो समाज न थियो ।

रस्मिता कोइराला, अध्यक्ष, सफल बाल सन्जाल, इटहरी