close

बुटवल उपमहानगरको हिउँदे अधिवेशन सुरु

बुटवल उपमहानगरको हिउँदे अधिवेशन सुरु

Trulli
ADVERTISEMENT

रूपन्देही– बुटवल उपमहानगर नगरसभाको आठौँ अधिवेशन सुरु भएको छ । यसलाई नगर सरकारको नगर संसद्को हिउँदे अधिवेशन पनि भनिन्छ ।


नगरसभा हलमा शुक्रबारदेखि सुरु भएको बैठकको शुभारम्भ गर्दै नगरप्रमुख तथा नगरसभा सभाध्यक्ष शिवराज सुवेदीले सबल आर्थिक केन्द्र समुन्नत बुटवलका माध्यमबाट समृद्ध बुटवल खुसी जनताको संकल्प साकार पार्ने गरी उपमहानगर केन्द्रित रहेको बताए ।


उपमहानगर प्रमुख सुवेदीले राष्ट्रिय राजनीतिमा आउने उतारचढाव, संघीय संसद्का घटनाक्रमले स्थानीय पालिकाको कार्य सञ्चालनमा कुनै पनि प्रकारको प्रभाव नपर्ने स्पष्ट पारेका हुन् ।

 

बैठकमा अनुगमन समिति संयोजक तथा उपप्रमुख गुमादेवी आचार्यले विभिन्न विषयका कार्यसूची प्रस्तुत गरिन् । अनुगमन तथा मूल्यांकनसम्बन्धी ऐन,२०७५ मा संशोधन प्रस्ताव टेबुल भएको छ ।


यस्तै, पूर्वाधार विकास समितिका संयोजक तथा उपमहानगर प्रवक्ता रामप्रसाद रेग्मीले उपभोक्ता समितिमार्फत सञ्चालन हुने आयोजनाका लागि पाँच प्रतिशत धरौटी राख्ने व्यवस्था हटाउनेसम्बन्धी प्रस्ताव टेबुल गरे ।


बैठकमा आर्थिक विकास समिति संयोजक तथा नगरसभाका सभासद् टंक पराजुलीले बुटवल उपमहानगरको सार्वजनिक खरिद नियमावली, २०७७ को प्रस्ताव पेस गरेको नगरसभा सदस्य सचिव तथा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए ।


नगरसभामा लेखा समिति संयोजक तथा नगरसभाका सभासद् कृष्णप्रसाद भुसालले महालेखा परीक्षकबाट प्राप्त अन्तिम लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरे ।

सामाजिक विकास समितिका संयोजक तथा नगरसभाका सदस्य सीता थापा आचार्यले बालबालिकाको अधिकार व्यवस्थित गर्ने ऐन, २०७५ मा संशोधन प्रस्ताव नगरसभाको बैठकमा पेस गरिन् ।
 

नगरसभाका सदस्य तथा उपमहानगरको सार्वजनिक सेवा तथा क्षमता विकास समिति संयोजक महेन्द्रप्रसाद लिगलले नगरको स्वास्थ्य संरचनाको दरबन्दी तथा अन्य दरबन्दी प्रस्ताव टेबुल गरे ।


शुक्रबारको बैठकमा टेबुल भएका विभिन्न सात वटा प्रस्तावमा नगरसभाका सदस्यले राय सुझावसहित आफ्ना भनाइ राख्ने गरी समय तालिका र सचिवालय व्यवस्थापन गरिएको छ । नगरसभाको आठौँ अधिवेशनको अर्को बैठक शनिबार बस्ने कार्यक्रम छ ।