close

जनसेवामा नमोबुद्ध : विपद्मा परेकालाई राहत, अलपत्रको उद्धार

जनसेवामा नमोबुद्ध : विपद्मा परेकालाई राहत, अलपत्रको उद्धार

Trulli
ADVERTISEMENT

काभ्रे- काभ्रेको नमोबुद्ध नगरपालिकाले विपद्मा परेका नगरबासीलाई सहयोग गर्न थालेको छ । सोही क्रममा यो वर्ष विपद्का कारण समस्यामा परेका ११ परिवालाई १० पुसमा राहत प्रदान गरिएको छ ।

 

नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले पीडितलाई आर्थिक सहयोगको चेक हस्तान्तरण गर्दै अभियान सुरु गरेका हुन् । नमोबुद्धले यही वर्षदेखि कार्यविधि निर्माण गरी विपद्मा परेका नगरबासीलाई सहयोग गर्न थालेको हो । 


कार्यविधिअनुसार विभिन्न प्राकृतिक प्रकोपबाट ५ लाखसम्म क्षति भएका परिवारलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ भने ५ देखि १० लाखसम्म क्षति भएकाले १५ हजार तथा १० लाखभन्दा बढी क्षति भएकाले २० हजार रुपैयाँ पाउनेछन् । 

 

यस्तै, पशु चौपायातर्फ विविध कारणले भैँसी मरे सात हजार, गाई मरे पाँच हजार तथा अन्य पशु चौपाया मरे तीन हजार रुपैयाँ आर्थिक सहयोग गर्ने कार्यविधि बनाइएको छ । घर भत्किएकाहरूले १० हजार रुपैयाँ पाएका छन् भने भैँसी मरेका पीडितलाई सात हजार रुपैयाँ दिइएको छ ।

 

‘विपद्मा परेकाहरूलाई केही भए पनि राहत मिलोस् भन्ने उद्देश्यले कार्यविधि निर्माण गरेर सहयोग गरेका हौँ’, नगरप्रमुख तिमल्सिनाले भने । नगरपालिकाले यसअघि नै गम्भीर प्रकृतिका रोग लागेका बिरामीलाई आर्थिक सहयोग गर्दै आएको छ । 


सडकमा अलपत्र परेका वृद्धको उद्धार

 

नमोबुद्धले नगरपालिकालाई सडक मानवमुक्त बनाउने उद्देश्यले सडकमा अलपत्र परेकाहरूको उद्धारलाई तीव्रता दिएको छ । सोही क्रममा शुक्रबार एक जना सडक मानवको उद्धार गरिएको छ । झन्डै दुई वर्षदेखि नगरपालिकाको बजार क्षेत्र भकुन्डे र नौबिसेमा सडकमै बस्दै आएका वृद्धलाई उद्धार गरिएको हो ।

 

नगरप्रमुख तिमल्सिनाको पहलमा अन्दाजी ६५ वर्षका ती वृद्धलाई उद्धार गरेर मानव कल्याण समाजको धुलिखेलस्थित सेवा घर पठाइएको छ । स्थानीय समाजसेवी, प्रहरीलगायतको रोहबरमा ती वृद्धलाई सेवा घर पठाइएको नगरप्रमुख तिमल्सिनाले जानकारी दिए ।

 

ती वृद्ध बोल्न पनि सक्दैनन् भने कानसमेत सुन्दैनन् । नगरपालिकाले अघिल्लो महिना मात्रै लामो समयदेखि भकुन्डेमै बस्दै आएका एक वृद्धलाई उद्धार गरेर सेवा घर पठाएको थियो ।

 

नगरपालिकाले सडकमा अलपत्र परेका व्यक्तिको उद्धारका लागि मानव कल्याण समाजसँग सम्झौता गरिसकेको छ ।