close

पूर्वसासंदको ठेक्कापट्टाः ५ वर्षमा ९ पटक ताकेता तर बनेन सडक

पूर्वसासंदको ठेक्कापट्टाः ५ वर्षमा ९ पटक ताकेता तर बनेन सडक

Trulli
ADVERTISEMENT

जुम्ला- कर्णाली राजमार्गअन्तर्गत नाग्म-गमगढी सडक खण्डको १३ किलोमिटर सडक निर्माणका लागि ठेकेदारलाई पाँच वर्षमा नौ पटक ताकेता पत्र पठाउँदा पनि निर्माण हुन सकेको छैन । 


डिभिजन सडक कार्यालय प्रमुख लीलाबहादुर भण्डारीले बाँकी काम सुरु गर्न पटकपटकको निर्देशन नटेरेपछि नवौँ पटक पत्र काटिएको हो ।


प्रमुख भण्डारीका अनुसार सो राजमार्गका लगभग सबै स्थानमा काम राम्रो भइसकेको छ । सुरुवाती विन्दु १३ किलोमिटरमा पाँच वर्षअघि सुरु गरिएको काम भने अझै सकिएको छैन । बीचैमा काम छाडेर गएको सो निर्माण कम्पनीलाई २ पुस २०७७ मा अन्तिम पत्र काम गर्न भनी काटिएको कार्यालय प्रमुख भण्डारीले जानकारी दिए ।


१३ वैशाख २०७३ मा पहिलो पत्र दिइएको उक्त कम्पनीलाई आठ, नौवटा पत्र दिइसकिएको छ । २ पुसमा दिइएको पत्र भने सात दिनको अल्टिमेटमसहितको दिइएको कार्यालयले जानकारी दिएको छ । 


पत्रमा कार्यालयले १३ वैशाख २०७३, १७ फागुन २०७३, ३२ असार २०७४, २५ फागुन २०७४, २ साउन २०७५, २९ भदौ २०७६, २० पुस २०७६, २ चैत २०७६ मा आठ पटक र २ पुस २०७७ मा काम गर्न ताकेतासहितको नवौँ पत्र काटिएको पत्रमा उल्लेख छ ।

 

यसैगरी कार्यालयले २ असोज २०७६ र १ कात्तिक २०७७ मा आर्थिक राष्ट्रिय दैनिकमा समेत काम गर्न भन्दै सूचना जारी गरिएको भए पनि काम अगाडि नबढेकाले अब पछिल्लो २ पुसको सूचनाअनुसार सात दिनभित्र काम नभए ठेक्का रद्द गरिने र अर्कोलाई जिम्मा दिइने कार्यालयले जानकारी दिएको छ ।


आधिकारिक प्रतिनिधि नन्दलाल श्रेष्ठ रहेको पूर्वसांसद बहादुरसिंह लामाको फर्मको उक्त नम्बर १२/०७२/०७३ को सो ठेक्का सम्झौता ८ माघ २०७२ देखि ७ पुस २०७५ सम्म थियो । दोस्रो पटक १० साउन २०७६ मा सम्झौता भएर ३० जेठ २०७७ सम्म अवधि थपिए पनि काम हुन सकेको छैन ।


१३ किलोमिटरको सम्झौता रकम १० करोड १३ लाख आठ हजार १३० रुपैयाँ ५५ पैसामध्ये सात करोड ९६ लाख १२ हजार २७६ रुपैयाँ २६ पैसा भुक्तानी भइसकेको सडक डिभिजन कार्यालयले जनाएको छ ।


इता, आधिकारिक प्रतिनिधि नन्दलाल श्रेष्ठले भने अन्तिम सूचनाको अन्तिम दिन आज मात्र काम सुरु गर्ने भनेर फोन गरेका कार्यालयले जनाएको छ । उनले दर्जनौँ पटक काम गर्छु भनेका तर हालसम्मको बाँकी काम अलपत्र भएको कार्यालयले जनाउँदै आएको छ ।


ठेक्का नम्बर ३.१-२०७४/०७५मा खड्का कृष्ण गाल्भा- द क्याराभान जेभीको राजुसिंह कठायत र तारासिंह कठायतले जिम्मा लिएको काम नाग्म-गमगढी राजमार्गको १७ देखि २५ सम्म आठ किलोमिटर जिम्मा लिएको र अहिले सो क्षेत्रको काम भने धमाधम भइरहको कार्यालयले जानकारी दिएको छ ।


नाग्म-गमगढी १३ किलोमिटर क्षेत्रमा समयमै काम नभएकाले रारा र सिंजा जाने पर्यटकलाई सास्ती हुनुका साथै बिरामी भएर फर्किने गरेका छन् । स्थानीयलाई पनि उत्तिकै सास्ती हुने गरेको छ । सो बाटोमा एम्बुलेन्ससमेत हिँड्न कठिन भएको स्थानीय बरमबहादुर शाहीले बताए ।