close

फुङलिङको संस्थागत क्वारेन्टाइन खाली, खर्च विवरण सार्वजनिक

फुङलिङको संस्थागत क्वारेन्टाइन खाली, खर्च विवरण सार्वजनिक

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- लामो समयदेखि संस्थागत क्वारेन्टाइनको रूपमा प्रयोग हुँदै आएको ताप्लेजुङ सदरमुकाममा रहेको ताप्लेजुङ उद्योग वाणिज्य संघको भवन आइतबारदेखि खाली गरिएको छ । 


क्वारेन्टाइनमा प्रयोग भएका सामान तत्तत् निकायलाई बुझाउने गरी यो संस्थागत क्वारेन्टाइन खाली गर्ने निर्णय भएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवं प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले जानकारी दिए ।


संस्थागत क्वारेन्टाइनको रूपमा प्रयोग हुँदै आएको आफ्नो भवन खाली गरिदिन ताप्लेजुङ उद्योग वाणिज्य संघले अनुरोध गर्दै आएको थियो । पछिल्लो समय ताप्लेजुङका पालिकाहरूले जिल्लास्तरमै रहेको कोरोना कोषमा रकम जम्मा गरेर पीसीआर टेस्टका लागि स्वाब संकलन र परीक्षणका लागि पठाउने व्यवस्थासमेत यहीँमार्फत हुँदै आएको थियो ।


जिल्लास्तरीय कोषमा यहाँका नौ पालिकामध्ये मिक्वाखोला गाउँपालिकाबाहेक सबैले रकम जम्मा गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आइतबार फुङ्लिङ नगरपालिका, सिरिजङ्घा, पाथीभरा याङ्वरक, आठराई त्रिवेणी, सिदिङ्वा, मेरिङ्देन, फक्ताङ्लुङ  र मैवाखोला गाउँपालिकाबाट प्राप्त भएको दुई-दुई लाख गरी १६ लाख रुपैयाँको खर्च विवरणसमेत सार्वजनिक गरिएको छ ।


प्रजिअ चापागाईंका अनुसार आठ लाख १६ हजार २५ रुपैयाँ खर्च भएको छ । बाँकी रकम जिल्लास्तरीय कोरोना कोषमा बचत रहनेछ । साउन महिनामा दुई लाख ८२ हजार ९१० रुपैयाँ, भदौमा एक लाख एक हजार ३८९ रुपैयाँ, असोजमा दुई लाख १९ हजार ५०० सय रुपैयाँ खर्च भएको छ ।

 

कात्तिक र मंसिर महिनामा दुई लाख १२ हजार २२६ रुपैयाँ खर्च भएको देखिएको छ । कोषको रकम क्वारेन्टाइन व्यवस्थापन खर्च, पीसीआर संकलन, परीक्षणका लागि पठाइने एम्बुलेन्स खर्चमा प्रयोग हुँदै आएको छ । बचत भएको रकम अब पीसीआर संकलन, परीक्षण लागि पठाइने एम्बुलेन्स खर्चमा प्रयोग गरिनेछ ।