close

नियन्त्रण नजिक पुगेको डढेलो फेरि दन्कियाे, पाथीभरा मन्दिर जोखिममा

नियन्त्रण नजिक पुगेको डढेलो फेरि दन्कियाे, पाथीभरा मन्दिर जोखिममा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- नियन्त्रण नजिक पुगेको डढेलो फेरि दन्किँदा ताप्लेजुङमा अवस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरा मन्दिर जोखिममा परेको छ । अहिले मन्दिर नजिक रहेको सबैभन्दा पुरानो रूख जल्दै गरेको र मन्दिर जोगाउन मन्दिरमा टाँगिएका ध्वजापताका, डोरीलगायतका आगोले चाँडो टिप्ने सामग्री फाल्ने तयारी भइरहेको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन  समितिका उपाध्यक्ष नारायण थापाले जानकारी दिए । 

 

उनका अनुसार डढेलो मन्दिरभन्दा केही तल रहेको फोहोर व्यवस्थापन गर्ने केन्द्रबाट मन्दिरतर्फ अघि बढेको थियो । अहिले पाथीभरा मन्दिरमा रहेका पुजारी र कर्मचारीमार्फत मन्दिर क्षेत्र जोगाउने प्रयत्न भइरहेको थापाले बताए । 


मन्दिर क्षेत्रको जंगलमा लागेको डढेलोको धुवाँको मुस्लो सदरमुकाम फुङ्लिङबाटै प्रत्यक्ष देख्न सकिन्छ । पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले मन्दिरको मूल थान र मन्दिर क्षेत्रमा बनेका घर तथा पाटीपौवा बचाउने गरी पहिलो प्रयत्न भइरहेको जानकारी दिए । 

 

आइतवार साँझ नियन्त्रण नजिक पुगेको डढेलो राती र सोमबार बिहानको हावाको वेगले अझ मन्दिरतर्फ बढेको बताइएको छ । जोखिम टरेको अनुमानमा आगो नियन्त्रणका क्रममा डढेलो लागेको क्षेत्रमा पुगेको पाथीभरा क्षेत्र विकास समिति र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समितिको टोली फेरि जोखिम बढेपछि पाथीभरा क्षेत्रतर्फ गएको छ । 

 

गत बिहीबारदेखि फुङ्लिङ नगरपालिका वडा नं.- ११ को फावाखोलास्थित सिम्बु सामुदायिक वन क्षेत्रमा सुरु भएको डढेलो नियन्त्रणबाहिर गई मन्दिर नजिकै पुगेको हो । फुङ्लिङ नगर उपप्रमुख बमबहादुर भट्टराईले डढेलो मन्दिरको पूर्वी क्षेत्रमा पुग्न लागेको जानकारी आएको र मानवीय प्रयासले नियन्त्रणको सम्भावना नरहेको जानकारी प्राप्त भएको बताए ।