close

अदालतले संसद् पुनर्स्थापना नगरे जनताले सडकबाटै गर्छन् : घनश्याम भुसाल

अदालतले संसद् पुनर्स्थापना नगरे जनताले सडकबाटै गर्छन् : घनश्याम भुसाल

Trulli
ADVERTISEMENT

रूपन्देही- माधव नेपाल-पुष्पकमल दाहाल समूह नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य घनश्याम भुसालले मुलुकमा संसद् पुनर्स्थापना वा सत्यानाशको बाटोबाहेकको अर्को विकल्प नभएको बताएका छन् ।

 

गृहजिल्ला रूपन्देहीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दे नेता भुसालले संसद् पुनर्स्थापनाबाहेक अन्य कुनै बाटोले मुलुकलाई अगाडि लैजान नसक्ने दाबी गरे । ‘जनताले अब संसद् पुनर्स्थापना रोज्ने कि मुलुक र विधिको शासनको बाटो रोज्ने बेला आएको छ’, भुसालले भने ।

 

प्रधानमन्त्री केपी ओलीले लोकतन्त्रमाथि प्रहार गरेको उनले बताए । संविधान, लोकतन्त्र र स्थिरतामाथिको प्रहारलाई हरेक पटक जनताले पराजित गरेको उल्लेख गर्दै नेता भुसालले अहिले पनि जनताले संसद् पुनर्स्थापना गरेरै छाड्ने ठोकुवा गरे ।

 

नेता भुसालले अदालतले पुनर्स्थापना नगरे जनताले विद्रोहका माध्यमबाट सडकबाटै संसद् पुनर्स्थापना गर्ने चेतावनी दिए ।

 

सबै संवैधानिक शक्ति मुठीमा लिएर बसेका राजाले विघटन गरेको संसद् ब्युँताउन सक्ने जनता संविधानमै नभएको अधिकार प्रयोग गरेर अहिलेका प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटन उल्टाउन सक्षम रहेको प्रतिक्रिया दिए ।


उनले भने, ‘अहिले ओली समूहमा लागेकामध्ये एक जना पनि प्रधानमन्त्रीले ठीक गरे भनेर गएका होइनन् । दुई-चार जना गएका छन्, ती सबै व्यक्तिगत कारणले गएका हुन् ।’

 
पूर्वसभामुख ओनसरी घर्तीले प्रधानमन्त्री ओलीको सरकार कामचलाउ मात्र रहेकाले केही गर्न नसक्ने बताइन् । प्रधानमन्त्री ओलीले नै प्रतिनिधिसभा विघटन भएको स्वीकारेपछि मन्त्रिपरिषद् विस्तार हुनै नसक्ने दाबी उनले गरिन् । घर्तीले भनिन्, ‘एउटै घरमा बसेका हामी महाभारतमा पाण्डव र कौरव जसरी भिड्नुपरेको छ ।’