close

पाथीभराकाे जङ्गलमा लागेकाे आगाे निभाउन हेलिकोप्टर मगाइयाे

पाथीभराकाे जङ्गलमा लागेकाे आगाे निभाउन हेलिकोप्टर मगाइयाे

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- जंगलको डढेलो अनियन्त्रित हुँदा बढेको आगोले प्रसिद्ध शक्तिपीठ पाथीभरा मन्दिर जोखिममा परेपछि डढेलो नियन्त्रणको अन्तिम प्रयासका लागि हेलिकोप्टर मगाइएको छ । 

 

सिम्रिक एयरको हेलिकोप्टरले माथिबाट पानी फालेर मन्दिर जोगाउने र डढेलो नियन्त्रणको प्रयास गर्ने गरी हेलिकोप्टर मगाउने निर्णय भएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समितिका सदस्य राजेन मादेनले जानकारी दिए । 

 

लुक्लामा रहेको हेलिकोप्टर पाथीभरा क्षेत्रतर्फ उडिसकेको जानकारी आफूले पाएको मादेनले बताए । हेलिकोप्टरले माथिबाट फ्याँक्ने पानीको प्रबन्ध भइरहेको समेत उनले बताए । पाथीभरा क्षेत्रमा पानीको निकै संकट छ ।

 

अहिले मन्दिर नजिक रहेको सबैभन्दा पुरानो रूख जल्दै गरेको र मन्दिर जोगाउन मन्दिरमा टाँगिएका ध्वजापताका, डोरीलगायतका आगोले चाँडो टिप्ने सामग्री फाल्ने तयारी भइरहेको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समितिका उपाध्यक्ष नारायण थापाले जानकारी दिए । 

 

उनका अनुसार डढेलो मन्दिरभन्दा केही तल रहेको फोहोर व्यवस्थापन गर्ने केन्द्रबाट मन्दिरतर्फ अघि बढेको थियो । अहिले पाथीभरा मन्दिरमा रहेका पुजारी र कर्मचारीमार्फत मन्दिर क्षेत्र जोगाउने प्रयत्न भइरहेको थापाले बताए । 

 

गत बिहीबारदेखि फुङ्लिङ नगरपालिका वडा नं.- ११ को फावाखोलास्थित सिम्बु सामुदायिक वन क्षेत्रमा सुरु भएको डढेलो नियन्त्रणबाहिर गई मन्दिर नजिकै पुगेको हो ।