close

वालिङमा औद्योगिक ग्राम निर्माण हुँदै

वालिङमा औद्योगिक ग्राम निर्माण हुँदै

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको वालिङमा निर्माण हुने औद्योगिक ग्रामको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । वालिङ नगरपालिकाको वडा नम्बर १० बैंडीमा निर्माणाधीन अवस्थामा रहेको औद्योगिक ग्राममा पूर्वाधार निर्माण गर्न २७ करोड ९५ लाख १३ हजार नौ सय १२ रुपैयाँ लागत लाग्ने नगरप्रमुख दिलीपप्रताप खाँणले बताए । 

 

केन्द्रीय सरकारले अगाडि बढाएको एक पालिका एक औद्योगिक ग्राम नीतिअनुसार वालिङले संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा औद्योगिक ग्राम निर्माण अगाडि बढाएको नगरप्रमुख खाँणले जानकारी दिए । ‘औद्योगिक ग्राम निर्माणमा तीन वटै सरकारको संयुक्त लगानी हुन्छ,’ नगरप्रमुख खाँणले भने, ‘यसको स्वामित्व स्थानीय तहमै रहने र व्यवस्थापन पनि स्थानीय तहले नै गर्नेछ ।’

 

औद्योगिक ग्रामको डीपीआर तयार भइसकेको र हाल आँधीखोला नियन्त्रणका लागि तटबन्ध तथा ग्रामसम्म पुग्न पहुँच मार्ग निर्माण गरिएको छ ।

 

विशेषगरी स्थानीय उत्पादन र कच्चा पदार्थ प्रयोग गरी सञ्चालन गरिने साना तथा मझौला उद्योगहरू यहाँ सञ्चालन हुनेछन् । उद्योगहरू एकै ठाउँ सञ्चालनमा आउने भएकाले पनि व्यवस्थापनका लागि सहज हुनेछ ।

 

पहिलो चरणको निर्माण कार्यका लागि संघको ९२ लाख, गण्डकी प्रदेश सरकारको ३० लाख र बाँकी वालिङ नगरपालिकाको लागत सहभागितामा आर्थिक वर्ष २०७६÷७७ मा नदी नियन्त्रणका लागि एक करोड ४८ लाख ३३ हजार रुपैयाँको लागतमा ठेक्का सम्झौता भई काम भइरहेको नगरपालिकाका इञ्जिनियर ध्रुव रेग्मीले बताए ।

 

पहिलो चरणमा केन्द्र र प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट आँधीखोला तटबन्ध तीन सय ५० मिटर, ६० मिटर आरसीसी वाल र एक कल्भर्ट निर्माण, ग्रामसम्म पुग्न पहुँच मार्ग, पर्खाल, प्रवेशद्वार निर्माण गरिने इञ्जिनियर रेग्मीले जानकारी दिए ।

 

‘नगरपालिकाले विनियोजन गरेको बजेटबाट प्रशासनिक भवन, विद्युत् प्रसारण लाइन, स्वास्थ्य चौकी, सुरक्षाकर्मी भवनसहित नाकेडाँडा १७ मिटर कटान गरिनेछ’, इञ्जिनियर रेग्मीले भने । औद्योगिक ग्रामले स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्ने र उद्योगी व्यवसायीलाई राहत मिल्ने विश्वास इञ्जिनियर रेग्मीको छ । 


नगरपालिकाले वालिङभित्रका वडा नम्बर १० बैंडी, वडा नम्बर १ को बौवा, वडा नम्बर ११ को पञ्चमूल, वडा नम्बर १२ को धनमूढा, वडा नम्बर १३ को बाह्रबिसे र वडा नम्बर १४ को तिवारी पसल गरी पाँच स्थानमा औद्योगिक ग्राम निर्माणका लागि जग्गा छनोट गरेको छ । पहिलो चरणमा बैंडीमा काम थालिएको नगरपालिकाले जनाएको छ ।