close

गाउँपालिकाकै खर्चमा काेराेना अस्पताल

गाउँपालिकाकै खर्चमा काेराेना अस्पताल

Trulli
ADVERTISEMENT

खोटाङ - कोरोना संक्रमणलाई लक्षित गर्दै खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले अस्थायी काेराेना (काेभिड-१९) अस्पताल सञ्चालनको तयारी गरेको छ ।


कोरोना संक्रमण दर फैलिरहेको अवस्थामा नागरिकको सहज उपचार व्यवस्थापनका लागि दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा स्वास्थ्यचौकीमा ५ शैयाको अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न लागिएको हो । गाउँ कार्यपालिकाको बैठकले आगामी दसैंसम्म स्वास्थ्यचौकीको नयाँ भवनमा कोभिड–१९ सम्बन्धी अस्पताल सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । 

 

अस्थायी कोभिड अस्पताल निर्माणका लागि संघीय सरकारले उपलव्ध गराएको १० लाख र गाउँपालिकाले अस्पताल व्यवस्थापनका लागि विनियोजन गरेको ३५ लाख बजेटबाट कोभिड अस्पताल सञ्चालनमा ल्याइने उनले जानकारी दिए ।

 

अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि गाउँपालिकाले १ जना एमबिबिएस डाक्टर, २ जना स्टाफ नर्स, १ जना ल्याब असिस्टेन्ट र १ जना कार्यालय सहयोगी नियुक्त गर्नेछ । असोज १ देखि सरकारले अन्तरजिल्ला यातायात सञ्चालन गर्न दिने निर्णय गरेको तथा दसैंतिहारजस्ता चाडवाड नजिकिँदै गर्दा गाउँघरमा हुने बाक्लो आउजाउले समुदायस्तरमा कोरोना संक्रमण दर फैलने खतरा बढेकाले अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष राई सुनाउँछन् ।

 

गाउँपालिकामा कोरोना संक्रमित भेटिए उपचारका लागि जिल्ला अस्पताल वा जिल्लाबाहिर पठाउनुपर्ने बाध्यता अन्त्यका लागि अस्थायी कोभिड अस्पतालको अवधारणा अघि सारिएको गाउँपालिकाले जनाएको छ ।

 

‘काठमाडौंमा बढी संक्रमित भेटिइरहेको अवस्था छ । राजधानी वा विदेशबाट आउने व्यक्तिबाट बराबरी जोखिम छ । यही अवस्थामा संघीय सरकारले लामो दूरीका सवारी साधन खोल्ने निर्णय ग¥यो’, गाउँपालिका अध्यक्ष राईले भने, ‘संक्रमित क्षेत्रबाट आएका नागरिकलाई पिसिआर परीक्षण गर्दा संक्रमण देखियो भने बाहिर पठाउनुभन्दा आफ्नै ठाउँको आइसोलेसनमा राख्ने व्यवस्थाका लागि अस्पताल सञ्चालन गर्ने निर्णय गरिएको हो ।’ 

 

कोभिड अस्पतालमा आवश्यक जनशक्ति नियुक्तिका लागि गाउँपालिकाले गत बिहीबार १० दिनको विज्ञापन आह्वान गरेको छ । संक्रमणका कारण गम्भीर बिरामी परेका वा कावुबाहिरको अवस्थामा मात्र संक्रमितलाई बाहिर पठाइने गाउँपालिका अध्यक्ष राईले बताए ।