close

यस्तो बन्दै छ रघुगंगाको प्रशासकीय भवन

यस्तो बन्दै छ रघुगंगाको प्रशासकीय भवन

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिकाले प्रशासकीय र अस्पताल भवनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ । 


गाउँपालिकाको केन्द्र मौवाफाँटमा समुदाय स्तरबाट प्राप्त भएको जग्गा व्यवस्थापनलाई अन्तिम चरणमा पु¥याएको रघुगंगाले पूर्वाधार निर्माणका लागि डीपीआर तयार पारेको हो । परामर्शदाता एडम इञ्जिनियरिङ सोलुसनले प्रशासकीय र अस्पताल भवनको डीपीआर बनाएको हो ।  


इञ्जिनियर सुवास पन्तले भवन निर्माण हुने ठाउँको माटो परीक्षण, स्थलगत निरीक्षण र नापजाँच गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको मापदण्डअनुसारको डीपीआर तयार पारेको बताए ।  


अस्पताल, प्रशासकीय भवन र सभाहलको माटो परीक्षणसहित डीपीआर तयार पार्न गाउँपालिकाले सो कम्पनीसँग १० लाख ७५ हजार रुपैयाँमा सम्झौता गरेको थियो । तीन तल्ले प्रशासकीय भवन निर्माणमा करसहित नौ करोड ३२ लाख १६ हजार ६६० रुपैयाँ लागत अनुमान गरिएको डीपीआरमा उल्लेख छ । 


तीन तल्ले नै हुने अस्पतालको भवन निर्माणमा करसहित सात करोड नौ लाख सात हजार २४९ रुपैयाँ लागत अनुमान गरिएको छ । प्रशासकीय भवनको भुई तल्लामा अध्यक्ष, उपाध्यक्ष, प्रशासकीय अधिकृत, प्रशासन, लेखा, प्राविधिकलगायतका शाखाको कार्यकक्ष प्रस्ताव गरिएको छ । 


दोस्रो तल्लामा बैठक कक्ष, शिक्षा, स्वास्थ्य, पशु सेवा, कृषि, महिला तथा बालबालिका र न्यायिक समितिको कार्यकक्ष बनाउन प्रस्ताव गरिएको छ । २५ शय्या क्षमताको अस्पतालका लागि आकस्मिक, बहिरंग, प्रशासनिकलगायत विभिन्न सुविधा सम्पन्न संरचनाको प्रस्ताव गरिएको छ ।


चारैतिर घेराबारा, प्रवेशद्वारबाट छिर्नेवित्तिकै बगैँचा, आकर्षक विद्युत र संरचनादेखि पार्किङ स्थल बनाउन प्रस्ताव भएको छ । गाउँपालिकाको प्रशासनिक भवनलगायतका पूर्वाधार निर्माणका लागि मौवाफाँटमा साढे २४ रोपनी निजी जग्गा व्यवस्थापन गरिएको छ । 


चक्लाबन्दी र व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको जग्गा व्यवस्थापन समितिका संयोजक हरि सुवेदीले बताए । पाँच रोपनीमा १६ वटा घडेरी बनाएर सम्बन्धित जग्गाधनीलाई फिर्ता गर्ने र बाँकीमा गाउँपालिकाले संरचना बनाउने सम्झौता भएको अध्यक्ष भवबहादुर भण्डारीले बताए । 


३२ जना जग्गाधनीमध्ये नौ जनाले साढे आठ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । चालू आर्थिक वर्षमा बहुउद्देश्यीय सभाहल निर्माणका लागि ठेक्का सम्झौताको तयारी भएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । प्रशासकीय भवन बनाउन संघीय सरकारसँग साझेदारी गरिने गाउँपालिकाले जनाएको छ ।