close

कालापानीका घरदैलोमा सुनकोसीको पानी सलल

कालापानीका घरदैलोमा सुनकोसीको पानी सलल

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको खोटेहाङ गाउँपालिका वडा नम्बर- ९ लिच्कीराम्चे कालापानीकी देवीका राउत घरै अगाडिको धारामा पानी भर्न पाउँदा दंग छन् । 


घरभन्दा करिब एक हजार ८०० मिटर तल सुनकोसीको रसुवाघाटबाट नदीको पानी पम्पिङ गरेर बस्तीमा पुर्‍याइएपछि राउतले घरका धारामै पानी भर्ने सुविधा पाएकी हुन् ।

 

यसअघि घन्टौँ हिँडेर खोलाको पानी ल्याएर घरधन्दा गरिरहेका लिच्कीराम्चे कालापानीबासीलाई घरमै पानीका धारा बगेपछि हाइसन्चो भएको छ ।

 

छ-सात वर्षअघि गाउँमा सुनकोसीको पानी निकाल्ने चर्चा चल्दा स्थानीय वृद्ध अम्बरबहादुर राउतलाई पनि पत्यार लागेको थिएन । ‘पानी पनि कहीँ उकालो बग्छ र !' भन्ने लाग्थ्यो उनलाई । अहिले सुनकोसीको पानी गाउँमा निस्कँदा आफ्नै गाउँ स्वर्ग जस्तै लाग्न थालेको अम्बरबहादुर सुनाउँछन् ।


‘गाउँमा पानीको कन्तबिजोग थियो । पानीकै लागि रातभर सुत्न पाइन्नथ्यो । खोला किनारमा खेत हुने मान्छे त्यही गएर दशैँ मनाउँथे, नहुनेले पानी ओसारेर घरैमा दशैँ मनाउँथे', अम्बरबहादुरले भने, ‘त्यहीँ कोसी थियो । हामी यहाँ काकाकुल भएर बस्थ्यौँ ।’

 

गाउँमा पानी ल्याउने बुद्धि भएको मान्छे भएन भन्दाभन्दै बाबुबाजे बितेको उनको स्मरण छ । पहिलाको दुःख सम्झिँदा अहिले स्वर्ग यही रहेछ भन्ने लागेको उनी बताउँछन् । 


पिउने पानीको विकराल समस्या भएको कालापानीमा सुनकोसीको पानी निकाल्ने रसुवाघाट-कालापानी खानेपानी आयोजना सम्पन्न भएपछि देवीका र अम्बरबहादुर जस्ता अन्य स्थानीय उत्तिकै हर्षित छन् ।

 

नेपाल सरकार खानेपानी तथा सरसफाइ मन्त्रालयको अनुदान तथा उपभोक्ताको ३६ लाख रुपैयाँ बराबरको श्रमदान गरी करिब एक करोड ८० लाख रुपैयाँमा रसुवाघाट-कालापानी खानेपानी आयोजनाको काम सम्पन्न भएको हो । गत २४ पुस २०७६ सालदेखि निरन्तर पानी वितरण भइरहेको रसुवाघाट-कालापानी खानेपानी आयोजनाको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले उद्घाटन गरे ।

 

कोभिड- १९ को महामारीका कारण रसुवाघाट-कालापानी खानेपानी आयोजना सम्पन्न भएको वर्ष दिनपछि उद्घाटन गरिएको उपभोक्ता समिति अध्यक्ष कर्णबहादुर राउतले बताए ।


११ चैत २०७२ सालमा शिलान्यास गरिएको लिफ्टिङ आयोजनाबाट कालापानीका ६२ घरमा धारा झरेका छन् ।

 

बाह्रैमास कलकल बग्ने सुनकोसीमाथिको कालापानी जिल्लाकै सुख्खाग्रस्त क्षेत्रमा पर्छ । पिउने पानी अभावकै कारण बसाइँसराइ बढी रहेको कालापानीमा कुनै बेला पानी माग्दा ‘छोरीचेलीकोे पेवा पानी छोरीचेलीलाई नसोधी दिन मिल्दैन’समेत भनिन्थ्यो ।

 

तिनै छोरीचेलीले खोला वा कुवाबाट घन्टौँ उकालो हिँडेर घरमा पानी ओसार्नुपर्थ्यो । घुमडुलका क्रममा कालापानी पुगेका जोकोहीले सितिमिति पिउने पानी पाउँदैनथे । 


सुनकोसीको पानी निकालेपछि कालापानीमा पिउने पानीको विकराल समस्या हल भएको स्थानीय शिक्षक अश्विन राउतले बताए । गाउँ र नदीको बीचमा निर्माण गरिएको पहिलो र दोस्रो सप्लाइ ट्यांकी हुँदै सबैभन्दा माथि निर्माण गरिएको ३५ हजार लिटर क्षमताको मूल ट्यांकीमा नदीको पानी निकालेर ५ ०० भन्दा बढी उपभोक्तालाई वितरण गर्ने व्यवस्था मिलाइएको छ । 

 

खानेपानीको समस्या रहेको कालापानीका स्थानीयले चुहार पँधेरा, मानेखोला पँधेरा र खारखोला पँधेराबाट कम्तीमा दुई घन्टा लगाएर पिउने पानी ओसारेर आफ्नो जीविका चलाउँदै आएका थिए । 


छिमेकी वडा इन्द्रेणीपोखरीबाट ल्याइएको पानीको मुहान सुकेपछि कालापानीका ११५ घरपरिवार घन्टौँ धाएर पानीको जोहो गर्न बाध्य थिए । लिफ्टिङ आयोजना सुरु गर्ने बेला ९७ घर रहेको कालापानीमा नदीको पानी निस्किँदा ६२ घर मात्र देखिएको उपभोक्ता समितिका अध्यक्ष राउतले बताए ।

 

‘९७ घरलाई धाराको स्टिमेट गरिएको थियो तर आयोजना सम्पन्न हुँदा बसाइँसराइले ६२ घर मात्र बाँकी रहे’, अध्यक्ष राउतले भने, ‘नदीको पानी निकालेपछि पानीको समस्या समाधान भएको छ । उपभोक्तामाथि पर्ने आर्थिक भार कम गर्न विद्युत्को सट्टा सौर्य ऊर्जा प्रयोग गर्ने लक्ष्य राखेका छौँ ।’

 

खानेपानी आयोजना जिल्लाकै पहिलो र ठूलो लिफ्टिङ परियोजना हो । बसाइँ सरिसकेका दुई परिवार नदीको पानी गाउँमा निस्किएपछि पुनः गाउँ फर्किएका छन् ।

 

सुख्खाग्रस्त क्षेत्रका रूपमा रहेको कालापानीमा ल्याउने पानीको अन्य स्रोतको भरपर्दो विकल्प थिएन । कालापानीमा खानेपानीको समस्या हल गर्न नदीको पानी निकाल्नु वा बस्ती सार्नुपर्ने अवस्था देखिएपछि दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष राईकै पहलमा रसुवाघाट-कालापानी पम्पिङ आयोजनाको काम अघि बढाइएको थियो । 


खानेपानीको समस्या चर्किंदै गएपछि कालापानीमा सुनकोसीको पानी लिफ्ट गर्ने प्रयास स्वरूप २०७० सालमा विस्तृत सर्भे गरिएको थियो । 


लिफ्टिङ आयोजनाका लागि नदी किनारमा मेसिन राख्ने घर निर्माण गरेर पानी तान्ने बोरिङ उपकरण जडान गरिएको छ । बोरिङ स्थलबाट विद्युतको सहायतामा ५० एमएमको जीआई पाइपमार्फत १०/१० हजार लिटर क्षमताका दुईवटा सप्लाइ ट्यांकीमार्फत सबैभन्दा माथि गाउँमा निर्माण गरिएको ३५ हजार लिटर क्षमताको आरसीसी ट्यांकीमा पानी जम्मा गरेर वितरण गरिन थालेको उपभोक्ता समितिका अध्यक्ष राउतले बताए । 


कालापानीमा सुनकोसीको पानी तान्ने योजना सुरु भएसँगै हलेसी क्षेत्रमा दूधकोसीको, रावाबेँसीको डुम्रेधारापानीमा दूधकोसीको र दिक्तेलमै साप्सु खोलाको पानी लिफ्ट गर्ने योजना अघि बढाइसकिएको छ ।