close

चिनियाँ नागरिकलाई नागरिकता ! प्रशासकीय अधिकृत पक्राउ

चिनियाँ नागरिकलाई नागरिकता ! प्रशासकीय अधिकृत पक्राउ

Trulli
ADVERTISEMENT

झापा– इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जय साह किर्ते नागरिकता प्रकरणमा पक्राउ परेका छन् । उनीसँगै कार्यालय सहयोगी गौरीगञ्ज वडा नम्बर ६ का आसिर आलम र गौरादह वडा नम्बर ७ का कृष्णप्रसाद तिम्सिनासमेत पक्राउ परेका छन् ।


गैरनागरिकलाई किर्ते नागरिकता प्रमाणपत्रसहित राहदानीका लागि सिफारिस गरेको आरोपमा उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो ।


पक्राउ परेका उनीहरूले चिनियाँ नागरिकलाई तीन वटा नागरिकता दिएको अनुसन्धानका क्रममा खुलेको छ ।

 

नागरिकतासम्बन्धी सफ्टवेरको दुरुपयोग गरी चिनियाँ नागरिकलाई किर्ते नागरिकता दिएका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । किर्ते नागरिकता प्रकरणमा जनप्रतिनिधिको संलग्नताका विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


साविक जुरोपानी वडा नम्बर ८, हाल गौरादह वडा नम्बर ७ स्थायी ठेगाना देखाई तीन जना चिनियाँ नागरिकलाई नागरिकता दिएको अनुसन्धानका क्रममा फेला परेको छ ।

 

अमृत राई (नागरिकता नम्बर ०४–०६–७७–००५९१), दीपिका राई (नागरिकता नम्बर ०४–०६–७७–००५९२) र विशाल राई (नागरिकता नम्बर ०४–०६–७७–००५९३) लाई नागरिकता वितरण गरिए पनि नागरिकतासम्बन्धी कुनै पनि अभिलेख इलाका प्रशासन कार्यालय गौरीगञ्जमा नभेटिएपछि अनुसन्धान सुरु गरिएको थियो ।


नागरिकतासम्बन्धी सफ्टवेयर प्रयोग गरी चिनियाँलाई किर्ते गरी नागरिकता दिइएको हुन सक्ने आशंकामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।


‘प्रहरीको प्रारम्भिक अनुसन्धानमा नागरिकता वितरणपछि उक्त वितरण इडिट गरी पुनः विभिन्न मितिमा सोही नम्बरका नागरिकता अन्य व्यक्तिलाई वितरण गरिएको फेला परेको छ’, थापाले भने ।