close

युवालाई उद्यमशील बनाउन तात्यो नमोबुद्ध

युवालाई उद्यमशील बनाउन तात्यो नमोबुद्ध

Trulli
ADVERTISEMENT

काभ्रे- काभ्रेको नमोबुद्ध नगरपालिकाले युवाहरूलाई सहुलियत कर्जा प्रवाहको व्यवस्था गरी उद्यमशील बनाउने अभियान सुरु गरेको छ । सोही अभियानअन्तर्गत सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम सोमबारबाट भकुन्डेबेँसीमा सुरु भएको छ ।

 

तालिम उद्घाटन राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र नमोबुद्ध नगरपालिका प्रमुख टीपी शर्मा तिमल्सिनाले संयुक्त रूपमा गरे ।

 

कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष ढुंगेलले नमोबुद्ध नगरपालिकालाई उद्यम केन्द्र बनाउन राष्ट्रिय स्तरको युथ इनोभेसन सेन्टरको काम सुरु गरिएको बताए ।

 

युवा परिषद्ले विनाधितो युवाहरूलाई उद्यमका लागि ऋण दिने व्यवस्था ल्याएको बताउँदै उनले सहुलियतपूर्ण कर्जाको व्यवस्थाले एकै पटक मुलुकका चार लाख युवालाई समेट्ने जानकारी दिए ।

 

अभियानअन्तर्गत अहिले विभिन्न पालिकाहरूमा तालिम आयोजना गरिएको र युवालाई उद्यमशीलतातर्फ आकर्षित गरिएको ढुंगेलको धारणा छ ।

 

‘अहिलेसम्म झन्डै ३३ हजार युवाले सहुलियतपूर्ण कर्जामार्फत उद्यम गरिरहेका छन् । युवा परिषद्ले विभिन्न बैंकहरूसँग सहकार्य गर्दै स्वरोजगार बन्न चाहने युवाका लागि सहुलियतपूर्ण कर्जा प्रवाहमा सहजीकरण गरिरहेको छ’, ढुंगेलले भने । लगानी र ऋण अभावमा काम गर्न नरोकिने उनले बताए । 


कार्यक्रममा नगरप्रमुख तिमल्सिनाले युवालाई विदेश जान रोक्ने र घरगाउँमै उद्यमी बनाउने उद्देश्यले नगरपालिकाले काम गरिरहेको जानकारी दिए ।

 

नगरभित्रका युवाहरूलाई उद्यमशील बनाउन नगरपालिकामा रहेका बैंकहरूसँग छलफल भइसकेको बताउँदै तिमल्सिनाले सहुलियतपूर्ण कर्जा प्रवाहका लागि नगरपालिकाले सहजीकरण गर्ने स्पष्ट पारे ।

 
‘ऊर्जाशील युवालाई उद्यमी बनाउन चाहेका छौँ । राष्ट्रिय युवा परिषद्लगायत विभिन्न संघ-संस्थाहरूसँग सहकार्य गर्दै अघि बढ्ने योजना छ’, नगरप्रमुख तिमल्सिनाले भने । युवामैत्री नगर बनाउने उद्देश्यले नै नगरपालिकामा युवा परिषद् गठन गरेर कार्यक्रम सञ्चालन गरिएको पनि उनले जानकारी दिए ।


कार्यक्रममा नमोबुद्धका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले स्वदेशमै स्वरोजगार बन्न चाहने युवालाई उद्यमशील बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताए । युवालाई उद्यमशील बनाउन सके समग्र नगरको आर्थिक विकासमा टेवा पुग्ने पनि पौडेलको भनाइ छ ।


तालिममा नमोबुद्धका वडा नम्बर ३, ४, ५, ७ र ११ गरी पाँचवटा वडाका २५ जना युवाको सहभागिता छ । सहभागीलाई देवीप्रसाद अधिकारी र रचना पण्डितले प्रशिक्षण दिइरहेका छन् ।

 

तालिम एक सातासम्म संचालन हुने र बाँकी वडाका युवाका लागि दोस्रो चरणको तालिम आयोजना गरिने नमोबुद्ध नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष अशोक खनालले जानकारी दिए ।

 

तालिमपछि युवाहरूले बिजनेस प्लान तयार गर्ने र त्यसैको आधारमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन पहल गर्ने खनालले बताए ।