close

डढेलो प्रारम्भिक नियन्त्रणमा, पाथीभरा क्षेत्रमा जोखिम भने कायमै

डढेलो प्रारम्भिक नियन्त्रणमा, पाथीभरा क्षेत्रमा जोखिम भने कायमै

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- मन्दिर क्षेत्रको जोखिम टरे पनि पाथीभरा क्षेत्रको जंगलमा सुरु भएको डढेलो तत्काल नियन्त्रण हुने सम्भावना कम भएको छ ।

 
फुङ्लिङ नगरपालिका वडा नं.- ११ को सिम्बु सामुदायिक वन क्षेत्रबाट सुरु भएको डढेलो सिरिजङ्घाको सिकैचास्थित सुनपाती सामुदायिक वनबाट फक्ताङ्लुङ गाउँपालिकाको तापेथोकस्थित लुकुम्बा-फूलबारी सामुदायिक वनतर्फ अघि बढेको छ ।

‘आगो दन्किएर लगातार अघि बढ्दै गएको छ’, पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले भने । उनले फावाखोलाबाट फुरुम्बुस्थित मयाम पातल सामुदायिक वन क्षेत्रतर्फ आगो जान नदिन अहिले अग्निरेखा बनाउनेलगायतका कार्य भइरहेको बताए । 


मयाम पातल सामुदायिक वन क्षेत्रतर्फ आगो जान पाथीभरा मन्दिर जाने बाटो पार गर्नुपर्छ । ‘अवस्था के छ भनेर हामी निरीक्षण गर्दै नीलो चौतारा नजिक पुगेका छौँ’, महतले भने । उनले मन्दिर क्षेत्रको जोखिम टरे पनि डढेलो नियन्त्रणको सम्भावना कम भएको जानकारी दिए । 


कंचनजंघा संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले फक्ताङ्लुङ गाउँपालिकाको तापेथोकस्थित लुकुम्बा-फूलबारी सामुदायिक वन क्षेत्रमै डढेलो पुगेको तर सामुदायिक वन उपभोक्ता समूहको टोलीले डढेलो नियन्त्रणको प्रयास गरिरहेको जानकारी दिए । 


‘डढेलो आउँदाआउँदै तत्कालै वन उपभोक्ता समूहको सक्रियतामा नियन्त्रणमा लिन सकिएको छ’, तिवारीले भने, ‘थप बढ्न नदिन त्यो समूहले हरप्रयास गर्नेछ ।’ 


लुकुम्बा-फूलबारी सामुदायिक वन कंचनजंघा संरक्षण क्षेत्रमा पर्छ । ‘वन क्षेत्रमा डढेलो प्रवेश गर्न नदिने उपायका लागि १४ जनाको टोली सम्भावित डढेलो क्षेत्रमा गएको छ’, संरक्षण अधिकृत तिवारीले भने । 


पश्चिम दक्षिणतर्फबाट डढेलो अघि बढिरहेकाले जोखिम कम हुने भए पनि हिमाली क्षेत्रका हरिया रूखहरूसमेत बल्ने भएकाले अवस्था पूर्वअनुमानअनुसारको नहुने तिवारीले बताए । 


डढेलो वन क्षेत्रमा प्रवेश हुन नदिने प्रयास स्वरूप फक्ताङ्लुङ गाउँपालिकाको तापेथोकस्थित बिहानी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा सदस्यसमेत आफ्नो वन क्षेत्रको सम्भावित जोखिम स्थानमा पुगिसकेको तिवारीले बताए । 


उनका अनुसार तलबाट माथि बढ्दै गएको आगोभन्दा माथिबाट तल झर्दै गएको आगो नियन्त्रणका लागि सहज हुन्छ । ‘यही आधारमा भरसक डढेलोको फैलावट नियन्त्रण गर्ने प्रयास गरिनेछ’, तिवारीले भने । 


पाथीभरा मन्दिर क्षेत्रलाई डढेलोको जोखिमबाट टार्ने प्रयासमा आएको सिम्रिक एयरको हेलिकोप्टर अहिले पनि सुकेटार विमानस्थलमा तयारी अवस्थामा छ ।