close

काठेखोलामा कालोपत्रे सुरु

काठेखोलामा कालोपत्रे सुरु

Trulli
ADVERTISEMENT

बागलुङ- मध्यपहाडी लोकमार्गले फेरो हालेको बाग्लुङको काठेखोला गाउँपालिकामा कालोपत्रे सडक देख्न गलकोट नगरपालिकाको सीमा पुग्नुपर्छ ।


लोकमार्गको घोडाबाँधे-गलकोट खण्डको झन्डै एक किलोमिटर सडक कालोपत्रेबाहेक गाउँका सर्वसाधारणले सुविधा पाउने गरी काठेखोलामा पक्की सडक छैनन् । 


गाउँपालिकाले दुई वर्षदेखि आफ्नै पहलमा वडा कार्यालयहरू जोड्ने सडकको कालोपत्रे गर्ने योजना अघि सारे पनि हालसम्म स्तरोन्नतिकै काम बाँकी थियो ।


पहिलो पटक चालू आर्थिक वर्षमा पालिका मुकाम वडा नम्बर- ६ को बिहुँसुल्डाँडा एक्लेफाँटदेखि वडा नम्बर- ७ रेश वडा कार्यालयसम्मको सडक कालोपत्रे थालिएको हो ।


गत आवमा कालोपत्रेको योजनामा रहेको यो सडकमा कोरोना महामारीका कारण बजेट फिर्ता भएपछि काम हुन सकेको थिएन । चालू आवमा संघीय सरकार र काठेखोला गाउँपालिकाको साझेदारीमा चार किलोमिटर सडक कालोपत्रे गर्न थालिएको हो ।


सुल्डाँडादेखि वडा कार्यालयतर्फको पाँच सय मिटर कालोपत्रेका लागि तयारी अवस्थामा छ । 


बहुवर्षीय योजनाअन्तर्गत गाउँपालिकामा पहिलो पटक सडक कालोपत्रे थालिएको काठेखोला गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष प्रेम लामिछानेले बताए ।


सडक कालोपत्रेको काम आचार्य जेभीले पाएको छ । ६ करोड ७१ लाख रुपैयाँमा कालोपत्रे सम्पन्न हुने गाउँपालिकाले जनाएको छ ।


अहिले कालोपत्रेका लागि आवश्यक सडक कटिङ, फिलिङ, ग्याबिन, पर्खाल तथा नाली निर्माण भइरहेको ठेकेदार कम्पनीका सञ्चालक निर्मलज्योति आचार्यले जानकारी दिए ।


‘सडकको धेरै लामो खण्डभन्दा पनि बलियो र टिकाउ हुने कालोपत्रे गर्ने योजना छ’, उनको भने । चालू योजनाले गाउँपालिका केन्द्रदेखि वडा कार्यालय नपुगे पनि आगामी वर्षको बजेटले अधुरो योजना पूरा हुने वडाध्यक्ष लामिछानेले बताए । 


रकम अभाव नभए आउँदो जेठ मसान्तसम्म कालोपत्रे सम्पन्न गरिने निर्माण व्यवसायी आचार्यले जानकारी दिए । ‘हामीलाई भुक्तानीको ग्यारेन्टी हुनुपर्छ । काम जतिसक्दो छिटो गर्छौं,’ उनले भने, ‘पालिकाको पहिलो कालोपत्रे योजना भएको हुँदा बजेट अभाव हुँदैन भन्ने विश्वास लिएका छौँ ।’


काठेखोलाले निर्वाचनको पाँच वर्षभित्र बिहुँ सुल्डाडाँदेखि प्रत्येक वडाको कार्यालयसम्म पुग्ने सडक कालोपत्रे गर्ने लक्ष्य लिएको छ ।


प्रत्येक वडा कार्यालयसम्मको सडक कालोपत्रे गर्ने योजनाअनुसार डीपीआर बनाउने काम सम्पन्न भएको गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिए । रेश र लेखानीको वडा कार्यालयसम्म जोड्ने सडकको कालोपत्रे गर्ने काम गत वर्षदेखि सुरु भएको हो ।