close

प्रतिनिधिसभा ब्युँताउन देशभर यसरी जाग्दै छ कांग्रेस

प्रतिनिधिसभा ब्युँताउन देशभर यसरी जाग्दै छ कांग्रेस

Trulli
ADVERTISEMENT

काठमाडाैं- नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी प्रर्दशन जारी राखेको छ । पश्चिम नवलपरासीका दुई वटै क्षेत्रका दुई पालिकामा समेत कांग्रेसुले विरोध प्रदर्शन गरेको छ ।

 

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ ले प्रतापपुरको गोपीगन्ज र क्षेत्र २ ले रामग्राम नगरस्थित परासीमा विरोध प्रदर्शन गरेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति तथा रामग्राम नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले बताए ।


परासीमा कांग्रेस पार्टी कार्यालयबाट सुरु भएको विरोध ¥याली परासी बजार परिक्रमा गर्दै बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

 

विरोधसभामा कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले प्रधानमन्त्री ओलीका कारण मुलुक अप्ठेरोमा परेको बताउँदै संसद् पुनस्र्थापना गर्नुपर्नेमा जोड दिए ।


मुलुक कोरोना महामारीमा परेको समय सरकार जिम्मेवार हुनुपर्नेमा उल्टै प्रतिनिधिसभा नै विघटन गर्नु गलत भएको उनले बताए ।

 

प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, जिल्ला सभापति विष्णु पौडेल, महासमिति सदस्य राधेश्याम चौधरीलगायतले विरोधसभालाई सम्बोधन गरेका थिए ।

 

गोपीगञ्जमा भएको कोणसभालाई सम्बोधन गर्दै नेता देवकरण कलवारले कम्युनिस्ट सरकार लोकतन्त्रको पक्षधर नरहेको बताए । उनले दुई तिहाइ बहुमत हुँदाहुँदै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेकाले सरकार जनताका पक्षमा नरहेको दाबी गरे ।

 

संविधानसभा सदस्य विक्रम खनालले वैकल्पिक व्यवस्था हुँदाहँुदै पनि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्र नै मास्न खोजेको आरोप लगाए ।


उदयपुरको बेल्टार बजारमा पनि प्रदर्शनहरु भएका छन् । पार्टी कार्यालयबाट निस्किएको र्‍याली नगरको लाफाचोक, स्कुलडाँडा, नगरपालिका लाइन, सिटिहल, बिपीचोक, पुष्पलालचोक हुँदै बेल्टारमा पुगेर कोणसभामा परिणत भएको थियो ।

 

जिल्ला सभापति बिदुर बस्नेत, प्रदेश सांसद हिमाल कार्की, सज्जा दनुवार, त्रियुगा नगर सभापति सरोज बस्नेत, चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईलगायत भ्रातृसंगठनका अगुवाले विरोध प्रदर्शनलाई सम्बोधन गरेका थिए ।

 

कांग्रेसले २००७ सालदेखि २०६२/०६३ सम्म आइपुग्दा विभिन्न कालखण्डमा निर्णायक आन्दोलन गरेकाले प्रधानमन्त्री केपी ओलीले गरेको असंवैधानिक प्रतिनिधिसभा विघटनलाई ब्युँताइछाड्ने उनीहरूले उद्घोष गरे ।


यो सरकारको पाराले, दुःख पायो साराले, अधिनायकवाद मान्दैनौँलगायतका नारा लगाउँदै कांग्रेसका नेता–कार्यकर्ताले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय प्रतिगामी भएको बताए  ।

 

सोमबार साँझ उदयपुरमा नेकपा दाहाल– माधव नेपाल समूहका युवा विद्यार्थीले सदरमुकाम गाईघाटमा बृहत् मोटरसाइकल ¥याली प्रदर्शन गरेका थिए भने मंगलबार यो समूहको विरोध प्रदर्शनको कार्यक्रम छ ।

 

उता तनहुँमा प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन भएको छ । तनहुँको क्षेत्र नम्बर १ को दमौली र क्षेत्र नम्बर २ को भीमाद बजारमा कांग्रेसले विरोधसभा गरेको हो ।

 

विरोध सभालाई सम्बोधन गर्न तनहुँ पुगेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीले चुनाव गराउनका लागि प्रतिनिधिसभा विघटन नगरेको दाबी गरे ।

 

उनले भने, ‘नेकपाभित्र कसले पार्टी कब्जा गर्ने भन्ने रडाकोकै कारण आकस्मिक रूपमा प्रतिनिधिसभा विघटन गरिएको हो । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालमा रिट परेको छ । अदालतले जे भने पनि सडक संघर्षबाटै प्रतिनिधिसभा ब्युँताउनुपर्छ ।’

 

भीमादमा भएको विरोधसभालाई सम्बोधन गर्दै पौडेलले अदालतले लोकतन्त्रको रक्षा गर्नुपर्ने बताए । त्यसका लागि प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्ने उनको भनाइ छ ।

 

कार्यक्रममा युवा नेता प्रदीप पौडेलले प्रतिनिधिसभा विघटन गरेपछि पनि सत्ताको भोक मेटाउन प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल विस्तार गरेको आरोप लगाए ।