close

लिसंखुपाखरबासीलाई धिताे बिनै ५ लाखसम्म ऋण

लिसंखुपाखरबासीलाई धिताे बिनै ५ लाखसम्म ऋण

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक- जिल्लाको लिसंखुपाखर गाउँपालिकाले तीन वर्षदेखि कृषि, पशुलपालनलगायत लघु उद्यम गर्नेहरूलाई परम्परागत प्रणालीमा आधारित अनुदान उपलब्ध गराउँदै आएको छ ।

सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये आन्तरिक आम्दानी कम भएको लिसंखुपाखरले अब भने गाउँपालिकाभरका स्थानीयलाई लक्षित गरी उद्यमका लागि १ प्रतिशत ब्याजदरमै ऋण अनुदान उपलब्ध गराउने भएको छ ।


गाउँपालिकाले यसअघि उद्यम गर्न अनुदानको रकम उपलब्ध गराउँदै आए पनि उक्त रकम सदुपयोग भएको थिएन । गाउँपालिकाले यो वर्षदेखि भने सहुलियत ब्याजदरमा स्थानीयालाई बिनाधितो ऋण उपलब्ध गराउन लागेको हो । नेपाल बैंक केन्द्रीय कार्यालयसँग गाउँपालिकाले सहुलीयत ब्याजदरामा प्राप्त गर्ने अनुदानको लागि सम्झौता गरेपछि असोज देखि स्थानीयलाई १ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष कमल नेपालले जानकारी दिए ।


सिन्धुपाल्चोकका १२ स्थानीय सरकार मध्ये लिसंखुपाखर गाउँपालिकाले यसरी पहिलो पटक गाउँमा नै उद्यम गर्न चाहानेहरूका लागि सहुलीयत ब्याजदरमा ऋण उपलब्ध गराउन लागेको हो ।  गाउँपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा अध्यक्ष उद्यमशीलता विकास कार्यक्रम निर्देशिका पारित गरेर सहुलियतपूर्ण कर्जामा उद्यम व्यवसायका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधिसमेत तयार पारिसकेको छ । पहिलो वर्ष उद्यमका लागि कम्तीमा ५ करोड रुपैयाँ लगानी गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष कमल नेपालले जानकारी दिए ।


गाउँपालिकाले नीति तथा कार्यक्रममै अध्यक्ष उद्यमशीलता योजनालाई प्रमुख कार्यक्रमका रुपमा अघि सारेको छ । गाउँपालिकाले सहुलियतमा कर्जा उपलब्ध गराउने भएपछि स्थानीय निवेदन लिएर आउन थालेको अध्यक्ष नेपाल बताउँछन् । ‘धेरै स्थानीय ऋण लिन इच्छुक छन् । यो प्रभावकारी भए अबको केही वर्षमा आर्थिक रुपमा गाउँपालिका धेरै सक्षम हुनेछ’, अध्यक्ष नेपालले भने 'गाउँपालिकाले सुरु गरेको अध्यक्ष उद्यमशीलता विकास कार्यक्रमका लागि नेपाल बैंकसँग सम्झौता गरेसँगै अब स्थानीयले सहुलियतमा कर्जा पाउने बाटो खुलेको छ ।'


गाउँपालिकाले बनाएको ब्याज अनुदानसम्बन्धी कार्यविधिमा १ लाखदेखि ५ लाखसम्म ऋण बिनाधितो नै पाउनेछन् भने ऋणबापत जम्मा १ प्रतिशत मात्रै ब्याज बैंकलाई बुझाउनुपर्नेछ ।  त्यस्तै, १० लाखसम्म कर्जाका लागि भने आफूसँगको जायजेथा जे छ, त्यही धितो राख्नुपर्ने व्यवस्था रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए ।


१० लाखसम्म कर्जाका लागि पनि ब्याज भने १ प्रतिशत नै बुझाए पुग्ने अधिकृत दुलालले बताए । ‘१० लाखभन्दा माथि ऋण लिन चाहनेहरूका लागि पनि गाउँपालिकाले बैंकसँग समन्वय गरिदिन सक्छ’, दुलालले भने, ‘बैंक र ऋणदाताबीचको विश्वासमै अरू प्रक्रिया अघि बढ्छ ।’

 

विदेशबाट फर्केकालाई प्राथमिकता

 

अध्यक्ष उद्यमशीलता विकास कार्यक्रममा गाउँपालिकाले उद्यम गर्न चाहने सबैलाई समेटेर कर्जा उपलब्ध गराउनेछ । गाउँपालिकाको प्रमुख प्राथमिकतामा भने वैदेशिक रोजगारीबाट फर्केर गाउँमै उद्यम, व्यवसाय गर्ने चाहने तर आर्थिक अभावमा नभएकाहरू रहनेछन् ।  त्यसैगरी व्यावसायिक कृषि तथा पशुपन्छी कर्जाअन्तर्गत १९ प्रकृतिको व्यवसायका लागि सहुलियत कर्जा गाउँपालिकाले उपलब्ध गराउनेछ । शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा पनि गाउँपालिकाले उपलब्ध गराउनेछ ।


कृषि व्यवसाय उत्पादन, प्रशोधन, भण्डार तथा बिक्री वितरणका लागि पनि यो कर्जा उपलब्ध गराइने गाउँपालिका उपाध्यक्ष हेमगंगा मोक्तानले बताइन् ।

‘किसानलाई खाद्यान्न, नगदेबाली, फलफूल, जडीबुटी, सिँचाइ उपकरण, कृषि औजार खरिदका लागि पनि कर्जा उपलब्ध गराइनेछ’, उपाध्यक्ष मोक्तानले भनिन् । 

गाउँपालिकाले यसअघि कृषिलगायतका क्षेत्रमा ५० हजारदेखि १ लाखसम्म अनुदान उपलब्ध गराउँदै आएको थियो । तर, त्यो अनुदानको प्रभावकारिता नदेखिएकाले यो कार्यक्रम ल्याइएको प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए ।  राष्ट्र बैंकले सहुलियतपूर्ण कार्यविधि, ०७५ अनुसार विभिन्न क्षेत्रमा लगानी गर्न बैंकहरूलाई निर्देशन दिएको नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बताए ।


स्थानीयले लिएको सहुलियत कर्जाको ब्याजदरका लागि गाउँपालिकाले नेपाल बैंकमा पहिलो वर्ष १ करोड ५० लाख रुपैयाँ मुद्दती खातामा जम्मा गर्नेछ । उक्त रकमबाट गाउँपालिकाले एक वर्षमा साढे १० लाख रुपैयाँ ब्याज दिनेछ । एक वर्षमा गाउँपालिकाले ५ करोड लगानी गरे करिब १६ लाख ब्याज बैंकलाई बुझाउनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुलाल बताउँछन् । 

 

१ प्रतिशत ब्याजमा ऋण दिने सिन्धुपाल्चोकको पहिलो पालिका

 

नेपाल बैंकले देशभर अहिलेसम्म ८ स्थानीय तहमा सहुलियतपूर्ण कर्जाको कार्यक्रम सुरु गरेको छ । प्रदेश ५ का स्थानीय तहमा यो कार्यक्रम विस्तार भए पनि बाग्मती प्रदेशको धादिङको एउटा स्थानीय तहले मात्रै यसअघि ऋणको ब्याज तिरिदिएको थियो । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाले मात्रै यसरी ऋणीहरूको ब्याज भुक्तानी गर्ने कार्यक्रम ल्याएको प्रमुख कार्यकारी अधिकृत अधिकारीले दाबी गरे ।


पाल्पाको वगनशकाली गाउँपालिकाबाट नेपाल बैंकले डेढ वर्षअघि यो कार्यक्रम सुरु गरेको थियो । ‘अरु स्थानीय तह पनि इच्छुक भए हामी यो कार्यक्रम लिएर जान तयार छौं’, प्रमुख कार्यकारी अधिकृत  अधिकारीले भने ।