close

बाहुनसँगै बसेर वैदिक कर्मकाण्ड सिक्दै छन् दलित (भिडियाे खबर)

बाहुनसँगै बसेर वैदिक कर्मकाण्ड सिक्दै छन् दलित (भिडियाे खबर)

ADVERTISEMENT

ताप्लेजुङ- विवाह, शुद्धाइँ, ब्रतबन्ध र पूजाआजा जस्ता कर्मकाण्ड गराउने कर्ताको अभाव टार्न ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं. ३ ले तीन महिने वैदिक कर्मकाण्ड प्रशिक्षणको सुरुवात गरेको छ । 


ताप्लेजुङको एक मात्र संस्कृत पाठशाला फुङ्लिङ नगरपालिका वडा नं.- ३ मा रहेको वासु माविमा वैदिक कर्मकाण्ड प्रशिक्षण कार्यक्रम सुरुवात भएको हो । संस्कृत पाठशाला भए पनि द्वन्द्वकालयता यहाँ विद्यालय तहमा संस्कृत विषयको पढाइ भने भएको छैन । 


नगरपालिकाले यहाँ वैदिक कर्मकाण्ड प्रशिक्षण सुरु गर्दा जातीय विविधता पनि झल्किएको छ । यो वैदिक कर्मकाण्डमा ब्राह्मण, क्षेत्रीसहित दलित समुदायका व्यक्तिहरू पनि सहभागी छन् । यसले वैदिक कर्मकाण्डको सिकाइलाई पनि विविधतायुक्त बनाएको छ । 


वैदिक कर्मकाण्ड सिक्न आएका अशोक सुजीलाई करिव २६ वर्षपछि कर्मकाण्डको थप सिकाइ आर्जन गर्न प्रेरित गरेको छ । २०५० सालमा वासु संस्कृत माध्यमिक विद्यालयमा संस्कृत विषय पढेका उनलाई अहिले बाबुको प्रेरणाबाट कर्मकाण्डको सिकाइका लागि ध्यानाकृष्ट गरेको हो । बाबु आफैँ पण्डित भएका र समुदायमा कर्मकाण्ड गर्ने मानिसको अभावका कारण यो वैदिक कर्मकाण्डको पढाइ सुरु गरिएको उनले जानकारी दिए । 


वैदिक कर्मकाण्डको सिकाइका लागि अहिले समुदाय वा सम्प्रदाय नहेरिने वैदिक सनातन धर्म संस्कृति तथा संरक्षण समितिका अगुवा रामचन्द्र उपाध्याय दाहाल बताउँछन् । वैदिक सनातनभित्र सम्पूर्ण ओमकारका सदस्य अटाउने भएकाले वैदिक कर्मकाण्डको सिकाइका लागि ब्राह्मण, क्षेत्रीदेखि दलित समुदायका व्यक्तिसमेतको सहभागिता रहेको दाहालले बताए । 


उनका अनुसार २० जना सहभागी हुने वैदिक कर्मकाण्ड सिकाइका क्रममा दुई जना भने दलित समुदायका व्यक्ति सहभागी छन् । अन्य भने ब्राह्मण, क्षेत्री समुदायका छन् । 


चालू आर्थिक वर्षका लागि नगरपालिकाभित्रका सबै विद्यालयहरूमा भाषा अध्ययन गर्न फुङ्लिङ नगरपालिकाले प्रतिविद्यालय ५० हजार रुपैयाँ विनियोजन गरेको छ । स्थानीय आवश्यकता र परिवेशअनुसार सबै विद्यालयहरूमा भाषा अध्ययन गर्न प्राप्त रकमबाट वासु माविमा वैदिक कर्मकाण्डको प्रशिक्षण सुरु गरिएको वडा अध्यक्ष युवराज बराल बताउँछन् । 


रकम सानो भए पनि नयाँ प्रकृतिको सिकाइ र अहिले समाजमा आवश्यकताको विषय भएकाले यो प्रशिक्षण कामयावी हुने वडा अध्यक्ष बरालले बताए । अवस्था र प्रकृति हेरेर नगरपालिकामार्फत वडापालिकाले यस्ता प्रकृतिका अरू कार्यक्रमसमेत संचालन गर्ने योजना उनले सुनाए । 


नेपालकै  विभिन्न क्षेत्रहरूमा अध्ययनका क्रममा तल्लो र माथिल्लो जात भनेर गरिने भेदभावका खबरहरू पनि बेला बखतमा आउने गरेका छन् । तर, फुङ्लिङ नगरपालिका वडा नं.- ३ मा सुरु भएको यस्तो विविधतायुक्त अध्ययनले कुप्रथाको रूपमा रहेको जातीय भेदभाव अन्त्यका लागिसमेत योगदान पुग्ने विश्वास गर्न सकिन्छ ।