close

रूपन्देहीका १६ वटै पालिकामा रणनीतिक योजना बनाउँदै प्रचण्ड-माधव समूह

रूपन्देहीका १६ वटै पालिकामा रणनीतिक योजना बनाउँदै प्रचण्ड-माधव समूह

Trulli
ADVERTISEMENT

रूपन्देही- जनादेशविपरीत निरन्तर भागबण्डा खोजेको तथा असहयोग गर्दै सरकार र संसद चल्नै नदिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दै ताजा जनादेशमा जाने घोषणा गरेपछि त्यसका पक्षर र विपक्षमा नेपाल कम्युनिस्ट पार्टकै दुई खेमाले प्रदर्शन जारी राखेका छन् । 


प्रचण्ड-माधव खेमाले त सडकमै पुगेर प्रधानमन्त्रीविरुद्ध नाराबाजी र अमर्यादित शब्दसहितका जुलुस प्रदर्शन गरिरहेको छ । नेकपामा जारी विवाद विभाजनकै अवस्थामा पुगेको छ तर घोषणा हुन बाँकी छ ।


दुवै पक्षले एकले अर्कोलाई आरोप लगाउँदै आएका छन् । खासगरी प्रचण्ड-माधव खेमाले पार्टीको विधानविपरीत आफ्नै पार्टीका प्रथम अध्यक्ष र सरकारका विरुद्ध भ्रामक प्रचारबाजीसहित कारबाही गरेको घोषणा गरेको थियो । तर, ओली पक्षले भने कसैलाई कारबाही नगरेको बरु कार्यकारी अध्यक्षको कार्यकारी अधिकार मात्र फिर्ता लिएको सार्वजनिक गरेको छ ।


नेकपामा देखिएको पछिल्लो घटनाक्रम एकआपसमा नारा-जुलुसमै परिणत भएपछि आमकार्यकर्तादेखि जनतासम्म निराशा छाएको छ । उनीहरूले प्रचण्ड-माधव खेमाले निरन्तर स्वार्थीकेन्द्रित राजनीति गरेको र सरकारलाई असहयोग गरेको भन्दै त्यसको चौतर्फी विरोध भएको छ ।


प्रचण्ड र माधव खेमाले सडकमै पुगेर नारा-जुलस गरिरहेको छ भने ओली पक्षका नेताहरूले आफ्ना पक्षका नेता, कार्यकर्ताहरूलाई संयमित, अनुशासित र सभ्य भएर प्रस्तुत हुन आग्रह गर्दै भ्रामक प्रचारबाजीलाई चिरेर जनतामा भिज्न निर्देशन दिएका छन् । 


यसै क्रममा रूपन्देहीमा भूगोलमा रहेका नेकपाका नेताहरूले सरकारले गरेका काम, प्रयास गरेका योजना, अगाडि सारेका योजना, अवरोध भएका फेहरिस्त र संसदमा बन्धक बनाइएका जरुरी महत्त्वका विषयहरूको सूची बनाएर जनतामा प्रस्ट पार्न निर्देशन दिएका छन् ।


उनीहरूले अरू (प्रचण्ड-माधव) पक्षले जतिसुकै तुच्छ, अश्लील र अमर्यादित गाली-गलौजमा उत्रिए पनि सोही प्रवृत्तिले प्रतिवाद नगरी संयमित रहन निर्देशन दिए । यस कामका लागि अगुवा स्तरका कार्यकर्ताहरूलाई समुदाय स्तरमा खटाउने ओली पक्षका यहाँका नेताहरूको तयारी छ ।


रूपन्देहीका १६ वटै पालिकाहरूमा विस्तारित बैठक बस्दै रणनीतिक योजना बनाउने काम भइहरेको नेकपा रूपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईंले बताए । प्रारम्भमा बैठक बस्ने, हालसम्म भएका कामको सूची बनाउने र जनस्तरमा प्रस्ट पार्न अगुवा कार्यकर्ता भेला गर्नेलगायतका विषयमा छलफल भएको प्रचार विभाग प्रमुख चापागाईंको भनाइ छ । 


सोही क्रममा मंगलबार नेकपाको बुटवल उपमहानगर कमिटीको विस्तारिक बैठक बसेको छ । उक्त बैठकमा सहभागी पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला र पालिका तहका नेताहरूले भ्रामक प्रचारबाजीलाई चिरेर अगाडि बढ्ने गरी योजना बनाइरहेको बताएका थिए ।


बैठकमा सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा रूपन्देही जिल्ला इन्चार्ज एवं लुम्बिनी प्रदेश सरकारका मन्त्री लीला गिरीले गलत काम नगर्न र अरूले गर्ने गलत कामलाई पनि अब सहेर बस्न नहुने बताए । उनले अहिले पार्टीको नेतृत्वमा रहेको सरकारले गरेका कामका बारेमा भन्दा विपक्षीले लगाएका भ्रामक आरोपका आधारमा धारणा बनाएर विरोध भइरहेको भन्दै त्यसैलाई चिरेर सत्य स्थापित गर्न अगुवा कार्यकर्तालाई आग्रह गरे ।


‘सकडमा तमासा देखाउनभन्दा खास कुरा के भएको हो, के गर्न खोजिएको हो, त्यसलाई समुदाय स्तरमै गएर प्रस्ट पार्नुपर्नेछ । समृद्ध नेपाल सुखी जनताको संकल्प साकार पार्ने गरी काम गर्नुपर्नेछ’, नेता गिरीले भने, ‘भ्रमको खण्डन अर्को भ्रमले होइन, तथ्यले गर्नुपर्नेछ । यही काममा केन्द्रित रहनुहोला ।’


नेकपाका नेता तथा लुम्बिनी प्रदेशसभाका संसदीय समितिका सभापित भोजप्रसाद श्रेष्ठले सत्ता स्वार्थ, भागबण्डा र तिकडम सफल हुन नसकेपछि पार्टीलाई विभाजनको अवस्थामा पु¥याएर अहिले सडकमा तमासा देखाउने गरी भइरहेका प्रदर्शनबाट कोही पनि आत्तिन जरुरी नरहेको बताए ।


जनस्तरमा प्रस्ट र सत्य कुरा राख्दै अगाडि बढ्न जरुरी रहेको भन्दै नेता श्रेष्ठले तीनै तहमा पार्टीको नेतृत्वमा रहेका सरकारले गरेका कामको सूची बनाएर जनतामा जाने गरी तयारी भइरहेको बताए । अर्का नेता पुरन गुरुङले सरकारले गरेका राम्रा काम, संसदमा प्रस्तुत भएका विषय र त्यसमा भाँजो हाल्नेहरूका विवरणसहित जनतामा पठाउने तयारी भइरहेको बताए ।


उपमहानगर कमिटीका अध्यक्ष बाबुराम पन्थीले अगुवा कार्यकर्ता भेलासँगै स्वास्थ्य मापदण्ड र स्वास्थ्य सुरक्षा अपनाउँदै जिल्लाव्यापी कार्यक्रमको तयारी भइरहेको जानकारी दिए । उनले उपमहानगर कमिटीले १९ वटै वडा र टोलमा जनपरिचालन गर्ने गरी योजना बनाइएको जानकारी दिए । 


उपमहानगर कमिटी सदस्य जानकी नेपालले जनादेशअनुरूप सरकार पनि चल्न नदिने र संसदलाई गतिशील पनि बनाउन नदिने षड्यन्त्रका विरुद्ध प्रधामन्त्रीले उपयुक्त कदम चालेको बताइन् । प्रधानमन्त्रीको यही उपयुक्त कदमको पक्षमा र सरकारले गरेका कामहरूको सन्देश बोकेर टोलटोलमा अभियान संचालन गरिने उनको भनाइ थियो ।


१९ गते अगुवा कार्यकर्ता भेला


यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रूपन्देहीले १९ पुसमा बृहत् अगुवा कार्यकर्ता भेलाको आयोजना गर्ने भएको छ । नेकपा रूपन्देहीका अध्यक्ष शिवराज सुवेदीको अध्यक्षतामा बसेको जिल्ला कार्यालयको विस्तारित बैठकले १९ पुस बिहान ११ बजे बुटवलमा अगुवा कार्यकर्ता भेला गर्ने निर्णय गरेको नेकपा रूपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईंले जानकारी दिए । उक्त अगुवा भेलामा नेकपाका केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।