close

४६ घरधुरी जस्ताले टल्किने, वडाले थप १० लाख बजेट खर्चिंदै

४६ घरधुरी जस्ताले टल्किने, वडाले थप १० लाख बजेट खर्चिंदै

Trulli
ADVERTISEMENT

‍ताप्लेजुङ- ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं.- २ ले सुरक्षित नागरिक आवास कार्यक्रमका लागि वडापालिकाभित्रका ४६ घर परिवार छनोट गरेको छ । शहरी विकास मन्त्रालयअन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना झापामार्फत सो वडामा २९ वटा आवास इकाइ स्तरोन्नति गर्ने कोटा तय भएकामा वडाले अरू बजेट थप गरेर घरधुरी संख्या ४६ पुर्‍याएको हो । 


वडा अध्यक्ष सुरेश थापाका अनुसार वडापालिकाबाट सुरक्षित नागरिक आवास कार्यक्रमका लागि १० लाख रुपैयाँ बजेट रहेको छ । शहरी विकास मन्त्रालयले तयार पारेको कार्यविधिभित्र रही मन्त्रालयबाट प्राप्त कोटामा थप १७ घर परिवारलाई सुरक्षित नागरिक आवास कार्यक्रममा समेटिएको वडा अध्यक्ष थापाले जानकारी दिए । 


कार्यविधिअनुसार फुस, स्याउला, आसवेटस, प्लास्टिक आदि आगो, पानी र हावाहुरीबाट सहजै प्रभावित हुन सक्ने सामग्री लगाएर छानो छाएका परिवार सुरक्षित नागरिक आवास कार्यक्रमको अनुदान पाउन योग्य हुनेछन् । 


यसबाहेक यो सुविधा पाउन सम्बन्धित स्थानीय तहले गरिवीको रेखामुनि रहेको भनी सिफारिस गरेको कागज, गरिवीको रेखामुनि रहेका आफैँले सुरक्षितत आवास निर्माण गर्न चाहेको तथा निर्माण गरेको घर परिवार भएको प्रमाणित प्रतिलिपि, जग्गाधनी प्रमाणपूर्जा वा घरजग्गाको तिरो वा शुल्क बुझाएको प्रमाण वा बिजुली, धारा वा अन्य सुविधा शुल्क बुझाएको प्रमाणको प्रतिलिपि, विगतदेखि त्यस स्थानमा अस्थायी बसोवास गर्दै आएको प्रमाणको प्रतिलिपि र प्रकोपका कारण घरबारविहीन भएकाको हकमा जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयसहित सम्वन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिसको प्रतिलिपि भएका नागरिकले सुरक्षित नागरिक आवासको सुविधाका लागि आवेदन दिन पाउने व्यवस्था छ । 


मिक्वाखोला गाउँपालिकाभित्र १४५ वटा आवास इकाइ स्तरोन्नति गर्ने कोटा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले जानकारी दिए ।