close

१२ घण्टाका २० खबरः सम्सीलाई अदालतको अंकुश, जस्ताले जनताको मनखुस (भिडियो खबर)

१२ घण्टाका २० खबरः सम्सीलाई अदालतको अंकुश, जस्ताले जनताको मनखुस (भिडियो खबर)

ADVERTISEMENT

देशभरका पालिकामा के भए ? कुन जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका २० खबर

१) सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाबाट लागुऔषध ब्राउन सुगरसहित शान्ति सिंह र कौशिला सिंह पक्राउ, पक्राउ पर्ने सासू-बुहारी रहेको खुलासा ।


२) धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका विद्यालय संचालन, विद्यार्थीको स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकता ।


३) रामेछाप नगरपालिकाले सुरु गर्‍यो एकीकृत घुम्ती शिविर गाउँगाउँमा, घर आँगनमै सेवा पाउँदा नागरिक दंग ।


४) महोत्तरीको सम्सी गाउँपालिका कार्यालयलाई विकास बजेट खर्च नगर्न उच्च अदालत जनकपुरले दियो आदेश, स्थानीय सरकार संचालन ऐन, २०७४ को कार्यविधि पूरा नगरी गाउँसभा गरेको खुलासा ।


५) पर्साको वीरगंज महानगरपालिकाबाट छ लाख रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद, बरामद गरिएका सामान भन्सार कार्यालयमा बुझाइयो ।


६) ललितपुरको बागमती गाउँपालिकाले आउँदो २५ देखि २९ पुससम्म ‘बागमती गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता- २०७७’ आयोजना गर्ने, प्रतियोगिता प्युटारस्थित गाउँपालिकाले निर्माण गरेको खयरघारी खेल मैदानमा संचालन हुने ।


७) रूपन्देहीका महिला जनप्रतिनिधि सम्मिलित उद्यमशीलता प्रवर्द्धन समिति गठन, संस्थाको घुम्ती बैठक लुम्बिनी सांस्कृतिक नगरपालिकाको सभा हलमा सम्पन्न ।


८) ताप्लेजुङको पाथीभरा जंगलमा केही दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आएन, दुर्लभ वन्यजन्तु रेड पाण्डा संकटमा ।


९) पूर्व-पश्चिम राजमार्गअन्तर्गत धनुषाको धनुषाधाम नगरपालिका– ९ धारापानीमा भारतीय ट्रक र इन्धन बोक्ने ट्यांकर एकआपसमा जुध्दा दुई जनाको मृत्यु, बाक्लो हुस्सु लाग्दा राजमार्गको यात्रा कठिन बन्दै ।

 

१०) जुम्लाको गुठीचौर गाउँपालिका- २ निवासी शारीरिक रूपमा पूर्ण अशक्त निर्मला बुढा र विष्णुमाया बुढालाई पुनर्स्थापना गर्न मानव सेवा आश्रम सुर्खेत पठाइयो, गुठीचौर गाउँपालिकाले एक जना सहयोगीसहित जहाजबाट सुर्खेत लाने व्यवस्था मिलाइदियो ।


११) तेह्रथुमका स्थानीय तहलाई प्रधानमन्त्री रोजगार कार्यक्रमको छ करोड रुपैयाँ, अब एक हजार ७०० भन्दा बढी नागरिकले रोजगारी पाउने ।


१२) ताप्लेजुङको मिक्वाखोला गाउँपालिका- २ ले सुरक्षित नागरिक आवास कार्यक्रमका लागि गर्यो‍ ४६ घर परिवार छनोट, टल्किने भए जस्ताले घर ।


१३) दोलखाको भीमेश्वर नगरपालिकाका नगरप्रमुख भरत केसीलाई कोरोना संक्रमण पुष्टि, केसी बसे होम आइसोलेसनमा ।


१४) झापाको मेचीनगर नगरपालिका-८ बाट अवैध लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ, पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २४ वर्षीय सुरज पौडेल र अर्जुनधारा नगरपालिका- ८ का २१ वर्षीय अंकित शर्मा ।


१५) सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले गर्यो‍ ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण, गर्भवती महिलालाई कोसेली वितरण कार्यक्रम पनि सम्पन्न ।


१६) किरात समुदायको चाड साकेला उधौलीको अवसरमा उदयपुरका दुई पालिकाले दिए सार्वजनिक बिदा, बिदा दिनेमा लिमचुङबुङ गाउँपालिका र चौदण्डीगढी नगरपालिका ।


१७) रसुवाको आमाछोदिङ्मो गाउँपालिका– ३ गत्लाङमा दुईवटा घरमा आगलागी, घरभित्र भएको सामान जलेर नष्ट ।


१८) चितवनको माडी नगरपालिकाका सबै विद्यालयमा दिवा खाजा कार्यक्रम संचालन, ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीलाई दिवा खाजा ।


१९) वैकल्पिक विधि प्रभावकारी नबनेपछि इलाममा विद्यालयबाटै पढाइ सुरु, विद्यालय खुले पनि विद्यार्थीको सहभागिता भने कम ।


२०) खोटाङको हलेसी तुवाचुङ नगरपालिका- ३ बालनमारीकी ४५ वर्षीया भ्याकी राईको सुनकोसी नदीले बगाएर मृत्यु ।