close

विपन्नको उद्धारमा जुटेकी यी सीडीओसा'ब

विपन्नको उद्धारमा जुटेकी यी सीडीओसा'ब

Trulli
ADVERTISEMENT

गुल्मी– लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार खर्च तिर्न नसकेर तीन दिनदेखि अलपत्र बालकको उद्धारमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा नै सहयोग संकलनमा लागेकी छन् ।


रेसुंगा नगरपालिका–२ का १६ बर्षीय बालक सुनिल विक अस्पतालमा अलपत्र छन् । उनी ३ पुस २०७७ मा अटो दुर्घटनामा परेर गम्भीर घाइते थिए । ती बालकलाई उद्धार गर्न शर्माको सक्रियतामा बुधबार एकैछिनमा एक लाख १२ हजार एक सय ४० आर्थिक सहयोग संकलन भएको छ ।


बालक अलपत्र परेको खबर पाउने बित्तिकैबाट प्रमुख जिल्ला अधिकारी शर्मा अस्पताल र पाल्पा प्रशासनसँग समन्वयमा थिइन् । तर, अनिवार्य रुपमा पैसा बुझाउने स्थिति आएपछि सहयोग संकलनको अभियान सुरु गरिएको शर्माले बताइन् । बुधबार जिल्ला प्रशासन कार्यालयमा संचालन गरिएको सहयोग संकलन अभियानमा गुल्मी उद्योग बाणिज्यसंघबाट २० हजार, निर्माण व्यावसायी संघबाट १० हजार, जिल्ला प्रशासन कार्यालयका कर्मचारीबाट ११ हजार ५ सय ५०, सुनिल समिर निर्माण सेवाबाट १० हजार र गुल्मी अस्पतालका कर्मचारीबाट ११ हजार ८ सय १५ सहयोग प्रदान भएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण भण्डारीले जानकारी दिए ।


त्यस्तै स्वास्थ्य कार्यालय, खानेपानी कार्यालय, मदन भण्डारी राजमार्ग, जिल्ला समन्वय समिति लगायतका कार्यालय र विभिन्न व्यक्तिहरुले पनि सहयोग गरेका छन् । संकलन भएको रकम प्रमुख जिल्ला अधिकारी शर्माले अस्पतालमा अलपत्र सुनिलकी आमा सुन्तली विकलाई प्रदान गरेकी छन् ।

उनले आफैले ४ हजार सहयोग गरेर अभियानको सुरुवात गरेकी थिइन् । ‘गुल्मी आउने बित्तिकै विपन्न बालक अस्पतालमा अलपत्र परेपछि सवैलाई सहयोगको याचना गर्नुप¥यो, आज सवैले दिल खोलेरै सहयोग गर्नुभयो,’ उनले भनिन, ‘बाबुको उद्धारमा पाएको सहयोगको प्रसंसा गर्दछु ।’


जिल्ला प्रशासन कार्यालयमा सहयोग संकलन जारी भएकाले सहयोग गर्ने व्यक्ति र संस्थाहरुलाई स्वागत गर्ने शर्माले बताइन् । उनले संकलन भएको रकम तत्काल अस्पतालमा पुराएर बच्चालाई आजै घर ल्याउने काममा समन्वय भइरहेको जानकारी दिइन् ।


सुनिलका बुवा रेसुंगा माविका गार्ड भएकाले विद्यालयले सुरुदेखि सहयोग गरिरहेको छ । प्रध्यानाध्यापक प्रेम भण्डारीले अहिलेसम्म बिद्यालयबाट ५४ हजार रुपैयाँभन्दा वढी सहयोग गरेको बताउँदै फेरि पनि अभियानमा ४ हजार सहयोग गरे ।

 

त्यस्तै सोमबारकै निर्माण मजदुर हकहित संरक्षण मञ्चको नेतृत्वमा २७ हजार ५ सय र व्यावसायी प्रितम क्षेत्रीले ३५ हजार सहयोग गरेका थिए । सुनिलले क्षेत्री नेटमा तार बिछ्याउने काम गर्दै आएका थिए । कामबाट फर्कने बेलामा दुर्घटनामा परेका हुन् ।