close

खोटेहाङको ‘पालिका गान’ सार्वजनिक 

खोटेहाङको ‘पालिका गान’ सार्वजनिक 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको खोटेहाङ गाउँपालिकाको ‘पालिका गान’ सार्वजनिक भएको छ । ‘समन्वयमा आधारित खोटेहाङ, दिगो विकास र समृद्धि हाम्रो अभियान’ बोलको गीत बुधबार गाउँपालिका अध्यक्ष प्रदीप राईले पालिकावासीलाई सुनाउँदै सार्वजनिक गरेका हुन् । 


खोटेहाङ गाउँपालिका- ६ इन्द्रेणीपोखरीमा अस्थायी कोभिड अस्पताल एवं वडा कार्यालय उद्घाटनको अवसरमा पालिका गान सार्वजनिक गरिएको हो । ६ मिनेट लामो गीतमा गाउँपालिकाको भूगोल, समाज, भाषा, संस्कृति, जातजाति, परम्परा, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषिलगायतका पक्षलाई चित्रण गरिएको छ ।


पालिका गान छनोट समितिले खोटेहाङ गाउँपालिकाकै स्रष्टा कृष्णश्री राई र इन्द्र नारथुंगेको शब्दलाई पालिका गानको रूपमा छनोट गरेको हो । संगीतकार महेश खड्काको संगीत रहेको पालिका गानलाई  खड्कालगायत अन्य गायक/गायिकाको स्वरमा रेकर्ड गरिएको छ । हरेक महत्त्वपूर्ण कार्यक्रमको बेलामा बजाइने पालिका गानलाई भिडियोसहित ल्याउने तयारी भइरहेको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए । 


पालिका गान निर्माणका लागि गाउँपालिकाले गीत उपलब्ध गराउन सार्वजनिक सूचनामार्फत आह्वान गरेको थियो । ६ जना स्रष्टाबाट प्राप्त गीतमध्ये मौलिकता, शब्द संरचना, भावलगायतका मापदण्डका आधारमा कृष्णश्री राई र इन्द्र नारथुंगेको गीत बराबर अंकसहित छानिएपछि दुई गीतलाई पुनः एकाकार गरेर पालिका गान बनाइएको हो । 

 

गाउँपालिका अध्यक्षको संयोजकत्वमा संगीतकार महेश खड्का र योजना शाखा प्रमुख पीएसपी राई रहेको पालिका गीत छनोट समितिले गीतको टुंगो लगाएको हो । 

 

पालिका गान सार्वजनिक कार्यक्रममा रचयिता कृष्णश्री राई र इन्द्र नारथुंगेलाई जनही १५ हजार रुपैयाँका साथमा सम्मानपत्र प्रदान गरिएको छ । यस्तै, पालिका गानका लागि गीत उपलब्ध गराउने स्रष्टा मानबहादुर खत्री, भगवतीप्रसाद शर्मा, रोशन पौडेल र अनिल घिसिङलाई जनही ५/५ हजार रुपैयाँसहित सम्मानपत्रसमेत प्रदान गरिएको छ ।