close

सापकोटाको चरा मोह : चरा फार्म कमाइ र घुमाइको केन्द्र बन्दै

सापकोटाको चरा मोह : चरा फार्म कमाइ र घुमाइको केन्द्र बन्दै

Trulli
ADVERTISEMENT

बागलुङ- चरा प्रजातिको फार्म पनि लोभलाग्दो कमाइ र मानिसको आकर्षणको केन्द्र बन्न सक्छ भन्ने उदाहरण बागलुङका एक किसानले देखाइदिएका छन् ।


हाइब्रिड एवं बोइलर कुखुरा पाल्ने र त्यसबाट फाइदा खोज्नेको भीडमा बागलुङ नगरपालिका वडा नम्बर ३ का बैकुण्ठ सापकोटाको लोकल कुखुरासहितका चरा प्रजातिको फार्मले धेरैको मन जितेको हो । 


सापकोटाको फार्ममा फरक-फरक प्रजातिका चरापालन गरिएका छन्, जुन अर्गानिक हुन् । स्थानीय उपभोक्ताको मन जित्न सापकोटाले केही वर्षदेखि यो नौलो काम थालेका हुन् । उनको यो कामबाट अर्गानिक स्वाद खोज्ने उपभोक्ताको माग पूरा भएको छ भने आम्दानीले डाँडा कटाउन थालेको छ ।
 

सापकोटाले केही वर्षदेखि थालेको लोकल कुखुराको उत्पादन बढाउ“दै चरा प्रजातिसमेत थपेर आफ्नो फार्मलाई आकर्षणको केन्द्र बनाएका छन् । उनले कडकनाथ, जंगली कुखुरा (लुइचे), घा“टी खुइले, गुजुमुजे, उल्टे, साकिनी, फेन्सी, वेन्टम, पोलिस, सिल्की, बट्टाई, टर्की, जुरेलीलगायतका चरा पालेका छन् ।


ती चरामध्ये एक-दुई प्रजाति देखाउनका लागि मात्रै हुन् । तर, सोखिनका रूपमा पाल्नेले ती चराका चल्ला पनि हजारौँ मूल्यमा लैजाने गरेका छन् । उनको फार्ममा लोकल र कडकनाथ कुखुरा खरिद गर्ने र अन्य चरा हेर्न पनि  मानिस आउन थालेका छन् ।

 

आफ्नै मामा जगदीश पौडेलले दशकअघि सुझाएपछि कुखुरापालन थालेको सापकोटा बताउँछन् । ‘मामाको भनाइबाट बल्ल मैले काम गर्नुपर्छ भन्ने सिकेँ’, उनले भने, ‘आफ्नै फार्ममा कुखुरादेखि चरासम्म पाल्न थालेपछि घरमै खरिद गर्नेको भीड लाग्ने गरेको छ ।’ 


सापकोटाले एक पटकमा २ हजार २ सय अन्डा कोरल्ने ह्याचरी मेसिनसमेत भित्र्याएपछि परिवारका ४ जना सदस्यले दैनिक १२ घन्टा काममै बिताउँछन् । ७ लाख खर्चेर सापकोटाले ह्याचरी मेसिन ल्याएका हुन् ।


मेसिनमा मासिक चार हजार अन्डा कोरल्न सकिन्छ । बागलुङसहित काठेखोला गाउँपालिका र पर्वतका विभिन्न गाउँबाट उनको मेसिनमा अन्डा कोरल्न आउने गरेका छन् । सापकोटाले लोकल कुखुरासहितका चराको अन्डा कोरलेर मासिक चार हजार वटासम्म बेच्ने गरेका छन् । लोकल भए प्रतिगोटा १ सय र कडकनाथको चल्ला भए प्रतिगोटा ३ सय रुपैयाँ कोरलेको लिने गरेका छन् ।


अर्गानिक उत्पादनबाट कमाइसमेत बढेको सापकोटा सुनाउँछन् । उनको खोरमा झन्डै १ हजार ५ सय कुखुरा छन् । तीमध्ये १ हजार स्थानीय जातका छन् भने ३ सय कडकनाथ र २ सय अन्य प्रजातिका कुखुरा छन् । 


कडकनाथको बजार मूल्य प्रतिकेजी २ हजार ५ सय रुपैयाँ छ । फेन्सी कुखुरा एउटाको १० हजार रुपैयाँसम्म पर्छ । लोकल प्रजातिका कुखुरा भएकाले २० जिल्लासम्म पुग्ने गरेको सापकोटाले बताए । ‘लोकल कुखुरा प्रतिगोटा २ हजारदेखि ४ हजार रुपैयाँसम्म बेच्ने गरेको छु’, सापकोटाले भने ।

 

वन कार्यालयको अनुमति लिएर उनले कोइलीसमेत पाल्ने तयारी थालेका छन् । सापकोटाले वार्षिक १० लाख रुपैयाँभन्दा बढी कमाइ हुने गरेको सुनाए ।


सापकोटाका छिमेकी विजय शर्मा र गणेश शर्माले पनि उनको कामबाट प्रभावित भएर कुखुरा र भैँसीपालन थालेका छन् । सापकोटा प्राविधिक जेटीएसमेत भएकाले उपचार र औषधीको मात्राबारे राम्रो ज्ञान राख्छन् ।


लोकल र कडकनाथ कुखुराबाट धेरै प्रकारका रोगसमेत निको हुने उनको अनुभव छ । झन्डै १२ वर्षसम्म गैरसरकारी संस्थाको अगुवा भएर काम गरेका सापकोटाले दाताको अनुदान पाएसम्म मात्र एनजीओले काम गर्छन् भन्ने भम्र चिर्न आफैँ कृषि कर्म गरेर देखाएको बताउँछन् ।


उनको कामबाट प्रभावित भएपछि भेटेनरी अस्पताल तथा पशु स्वास्थ्य कार्यालयले अनुदान दिने सोचाइ बनाएको पशु स्वास्थ्य अधिकृत केशव पौडेलले जानकारी दिए ।


‘मिहिनेत गरेका किसानको लगानीमा साथ दिने कार्यालयको योजना छ’, उनले भने, ‘प्रक्रिया पुगेकालाई सजिलै अनुदान मिल्छ ।’ जिल्लाका २९ व्यावसायिक किसानलाई चालू वर्ष अनुदानको व्यवस्था गरिएको उनले बताए ।