close

कनकासुन्दरीवासीले ४ महिनापछि बल्ल पाए अस्थायी टावर

कनकासुन्दरीवासीले ४ महिनापछि बल्ल पाए अस्थायी टावर

Trulli
ADVERTISEMENT

मुगु- नेपाली भाषाको उद्गम थलो जुम्लाको कनकासुन्दी गाउँपालिकामा ४ महिनापछि नेपाल टेलिकमले अस्थायी टावर संचालनमा ल्याएको छ ।


पालिका खबरमा कर्णालीका हिमाली जिल्ला टेलिफोनविहीन समाचार प्रकाशित भएसँगै सरोकारवालाको ध्यान गएपछि गाउँपालिका र नेपाल टेलिकमको पहलमा अस्थायी टेलिफोन टावर सञ्चालनमा ल्याइएको हो ।


अस्थायी रूपमा टावर सञ्चालनमा ल्याइएपछि गाउँपालिकाबासीले आफन्त, छरछिमेकलगायतसँग भलाकुसारी गर्न पाएका छन् । कर्णालीका हिमाली जिल्ला जुम्ला, हुम्ला, डोल्पा र मुगुका अधिकांश पालिकामा हालसम्म पनि गतिलोसँग टेलिफोन र इन्टरनेटको पहुँच पुगेको छैन । 


यसअघि नेपाल टेलिकमले सोही स्थानमा फोरजी टावर निर्माण गर्न एक कम्पनीलाई ठेक्का दिएको थियो । तर, टावरका लागि सामान किन्दा लाखौँ रुपैयाँ हिनामिना भएपछि सो कामले निरन्तरता पाउन सकेको थिएन । 

 

त्यस क्रममा विभिन्न निकायबाट सहयोगमा आएका ७० बोरा सिमेन्ट, रड, सोलार बत्तीलगायतमा पनि अनियमितता भएको फेला परेको थियो । गाउँबासी र कार्यालय सञ्चालनमा अप्ठेरो भएपछि गाउँपालिकाले टेलिकमसँगको सहयोगमा बिजुलीका ३ वटा पोलमा अस्थायी रूपमा टेलिफोन टावर ठड्याएको छ । 


इन्टरनेट सुचारु भएपछि कनकासुन्दरीको वडा नम्बर ५ का कलबहादुर सुनारले खुसी हुँदै भने, ‘चार महिनादेखि अवरुद्ध फोन सेवा सुचारु भएपछि गाउँसँगै देश-विदेशमा रहेका दाजुभाइसँग सहजै कुराकानी गर्न सकियो ।’

 

फोन सेवा सुचारु भएपछि देशमा भइरहेका राजनीतिक घटना, अवस्था र अन्य सूचना, सन्देश हेर्न र देख्न सहज भएको उनी सुनाउँछन् । गाउँपालिकामा टेलिफोन सेवा नहुँदा करिब २ हजार २ सय ४७ घरपरिवारका १३ हजार २ सय १६ जनसंख्या सञ्चारविहीन बनेको थियो । 

 

पालिकाका दर्जनौँ बस्तीमा फोन सुविधा थिएन । भएका ठाउँमा पनि फोन सम्पर्क गर्न डाँडाकाँडा र रूख चढ्नुपर्ने बाध्यतामा सेवाग्रही थिए ।