close

राजेन्द्रको साहसलाई सलाम !

राजेन्द्रको साहसलाई सलाम !

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- एक साताअघिदेखि ताप्लेजुङको पाथीभरा क्षेत्रको जंगलमा लागेको डढेलो नियन्त्रण उन्मुख देखिएको छ । डढेलो लागेको क्षेत्रमै रहेका जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले आगो नियन्त्रण उन्मुख देखिएको तर भित्रभित्रै सूक्ष्म रूपमा रहेको आगो पूर्ण नियन्त्रणका लागि अझै केही दिन लाग्ने बताए ।


‘भित्रभित्रै रहेको आगोको पत्रपत्र हेरेर ननिभाइञ्जेल नहुने रहेछ । हाम्रो सम्पूर्ण शक्ति अब त्यसतर्फ केन्द्रित हुनुपर्ने देखेका छौँ’, श्रेष्ठले भने । उनले सामाजिक संजालमार्फत ‘सबैको अथक प्रयासपछि आगलागी नियन्त्रणमा, सबैलाई धन्यवाद, पाथीभरा माताले हामी सबैको कल्याण गरून्’ लेखेका छन् । 


गत बिहीबारदेखि सुरु भएको डढेलो कहिले नियन्त्रण नजिक पुग्दै फेरि दन्किँदै पाथीभरा मन्दिर नै जोखिममा परेपछि हेलिकोप्टरबाट पानी फ्याँक्ने, अग्निरेखा बनाउने, सम्भावित डढेलो क्षेत्रमा झ्यासझुस हटाउने र रूखका हाँगा कटान छटान गर्नेलगायतका सबै कार्य भएका थिए । 


पाथीभरा क्षेत्रका मुख्य सरोकारवाला पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति र पाथीभरा क्षेत्र विकास समितिको अगुवाइमा जनशक्ति परिचालनका काम भएका थिए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पाथीभरा क्षेत्रका नागरिक र मन्दिरका कर्मचारीको अथक प्रयासबाट डढेलो नियन्त्रण उन्मुख बन्दै गएको देखिएको छ ।

 
साहसिक कामका पर्याय राजेन्द्र


पाथीभरा क्षेत्रको जंगलको आगो नियन्त्रणमा लिने प्रयासका हिम्मतिला पात्र बनेका छन्- मन्दिरका कर्मचारी राजेन्द्र महत । ‘सायद राजेन्द्रको हिम्मत थिएन भने आगोको चुरो कसैले पत्ता लगाउने नै थिएन’, पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले महतको हिम्मतप्रति कृतज्ञता व्यक्त गर्दै भने । 


एक त पुसको कठाङ्ग्रिदो जाडो अनि धुम्म परेको पाथीभरा क्षेत्र । शीतले छपक्कै भिजेका जमिन । आगो तापेर बस्दा पनि कताकति चिसोको अनुभव भइराहने समय । नाङ्गो खुट्टाले जमिन टेक्दा चिसोको प्रभाव सिधै तालुमा पुग्ने डर । 


यी कुनै समस्याको परवाह गरेनन् राजेन्द्रले । बस्, उनको चिन्ता यति मात्र भयो, जसरी पनि आगो नियन्त्रणमा लिएर भइरहेको क्षति कम गर्ने । दन्दनी बलेको आगो एक्लो प्रयासले नियन्त्रण गर्न सम्भव त थिएन । ‘तर, उनको लगाव, कामप्रतिको आँट र प्रतिबद्धता मान्नै पर्छ’, पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका सचिव लक्ष्मीप्रसाद काफ्लेले भने । 


समितिका कार्यकारी निर्देशक काफ्लेले त सामाजिक संजालमा आगो नियन्त्रणका लागि राजेन्द्रले गर्दै गरेको कामको तस्बीर पोस्ट गर्दै भनेका छन्, ‘उनको साहसलाई सलाम, सबैले सम्मान गर्नलायक काम’ भनेका छन् । तस्बीरमा उनै राजेन्द्र आगो नियन्त्रणका लागि झ्याउले भरिएको रूखको हाँगा छाँट्न कम्मरमा खुकुरी भिरेर रूखमा पूरै झुण्डिएका देखिन्छ । 


यदि यो अवस्थामा अलिकति मात्र पनि तलमाथि हुने हो भने ज्यान नै जोखिममा पर्छ । राजेन्द्रले यस्तायस्ता धेरै जोखिम मोलेको काफ्लेले बताए । रूखमा भरिएको झ्याउले आगो बढ्न प्रेरित मात्र होइन, काँचो रूख बल्ने बनाइदिनसमेत सघाउ पुर्‍याउने भएकाले यसलाई हटाउनु अनिवार्य थियो । हटाएको अवस्थामा भने आगो अन्यत्र बढ्ने सम्भावना कमजोर हुने अनुमान गरिन्छ ।