close

कञ्चनजंघा संरक्षण क्षेत्रमा चुनावी चटारो

कञ्चनजंघा संरक्षण क्षेत्रमा चुनावी चटारो

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- उत्तरी ताप्लेजुङको आधाभन्दा बढी हिस्सा ओगटेको कञ्चनजंघा संरक्षण क्षेत्रको व्यवस्थापन परिषद्मा चुनावी चटारो सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालयले १७ पुस शुक्रबारबाट निर्वाचन सुरु हुने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।


कञ्चनजंघा संरक्षण क्षेत्र फक्ताङ्लुङ गाउँपालिकाका लेलेप, तापेथोक र ओलाङ्लुङचुङगोला तथा सिरिजङ्घा गाउँपालिकाको याम्फुदिनसम्म फैलिएको छ । ताप्लेजुङको कुल क्षेत्रफल ३ हजार ६ सय ४६ वर्गकिलोमिटरमध्ये कञ्चनजंघा संरक्षण क्षेत्रले ५१ प्रतिशतभन्दा बढी हिस्सा अर्थात् २ हजार ३५ वर्गकिलोमिटरमा क्षेत्रफल ओगटेको छ ।

 

१७ पुसदेखि उपभोक्ता समूह, आमा समूह र सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन प्रक्रिया गरी १२ माघसम्म परिषद्को निर्वाचन गर्ने तयारी भएको संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए । उनी निर्वाचन अधिकृतसमेत हुन् ।


व्यवस्थापन परिषद्को नयाँ नेतृत्वको चयनको पहिलो चरण प्रत्यक्ष निर्वाचन प्रणालीबाट गरिनेछ । संरक्षण क्षेत्रभित्र रहेका प्रत्येक घरधुरीका १-१ जना यसका मतदाता हुनेछन् । समूह हुँदै समितिमा पुगेपछि समितिका अध्यक्ष परिषद्का सदस्य हुनेछन् । तिनै परिषद्का सदस्यभित्रबाट परिषद्का लागि १-१ जना अध्यक्ष, सदस्य सचिव र कोषाध्यक्ष चयन हुनेछन् ।

 

सहमति भए सर्वसम्मत र नभए परिषद्का सदस्यबीच पुनः गोप्य मतदानबाट अध्यक्ष, सदस्य सचिव र कोषाध्यक्ष चयन गरिनेछ । संरक्षण क्षेत्रका प्रत्येक घरधुरी भने उपभोक्ता समूह, आमा समूह र सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध भएर समिति निर्माणको चरणसम्म मात्र मतदाता हुनेछन् ।


त्यसपछि उपभोक्ता समितिका अध्यक्ष परिषद्का लागि स्वतः सदस्य र परिषद्का पदाधिकारी चयनमा मतदाता हुनेछन् । परिषद्मा संरक्षण क्षेत्रभित्रका उपभोक्ता समितिका अध्यक्ष, आमा वा महिला समूहबाट प्रतिनिधित्व गरेका महिला सदस्यले प्रत्येक वडाबाट १-१ जना प्रतिनिधत्व हुने गरी आफूमध्येबाट छानेका ४ सदस्य, सामुदायिक वन उपभोक्ता समूहबाट प्रतिनिधित्व गरेका सदस्यमध्येबाट १ जना, संरक्षण क्षेत्रभित्रका वडा समितिबाट प्रतिनिधित्व गर्ने जिल्ला समन्वय समितिका सदस्य १ जना सदस्य हुनेछन् ।


यस्तै, अध्यक्षले मनोनीत गरेका पिछडिएको वर्ग, जाति वा सामाजिक कार्यकर्तामध्येबाट १ जना र संरक्षणका लागि उल्लेखनीय योगदान पु¥याएका वा निर्वाह गरेका संरक्षण क्षेत्रभित्रका व्यक्तित्वमध्येबाट १ जना सदस्य हुनेछन् ।

 

गत वर्ष २८ जेठमा परिषद् अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूको पाँच वर्षे कार्यावधि पूरा भएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले एक वर्षका लागि कार्यावधि थप गरेको थियो । 

 

एक वर्षको अवधि पूरा भएपछि परिषद् विघटन भएको थियो । परिषद् विघटन भएको ८ महिनापछि निर्वाचन हुन लागेको हो ।