close

सामुदायिक विद्यालयलाई मिक्वाखोलाको निर्देशन : ६० दिनभित्र लेखा परीक्षण बुझाउनू

सामुदायिक विद्यालयलाई मिक्वाखोलाको निर्देशन : ६० दिनभित्र लेखा परीक्षण बुझाउनू

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले नियुक्ति पाएको ६० दिनभित्रै विद्यालयको लेखा परीक्षण गराई प्रतिवेदन पेस गर्न लेखा परीक्षकहरूलाई निर्देशन दिएको छ । मिक्वाखोलामा रहेका सामुदायिक विद्यालय तथा सामुदायिक सिकाइ केन्द्रको लेखा परीक्षण प्रक्रियामा गाउँपालिकाले यस्तो निर्देशन दिएको हो । 


प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङका अनुसार लेखा परीक्षकहरूले विद्यालय वा गाउँपालिकामा अनिवार्य उपस्थित भई लेखा परीक्षण गर्नुपर्नेछ । गाउँपालिकाले विद्यालय कोषबाट पारिश्रमिक लिएपछि पारिश्रमिक बुझेको भर्पाइ अनिवार्य रूपमा विद्यालयलाई उपलब्ध गराउनसमेत लेखा परीक्षकलाई आग्रह गरेको छ ।


प्रचलित कानुनविपरीतका कार्य गर्ने लेखा परीक्षकलाई कारबाही स्वरूप अर्को वर्षबाट गाउँपालिकाका कुनै पनि लेखा परीक्षणका कार्यमा सहभागी नगराउने गाउँपालिकाले जनाएको छ ।


स्थानीय सरकार संचालन ऐन, २०७४ को परिच्छेद ३, दफा ११(ज-२१) र शिक्षा नियमावली, २०५९ (संशोधनसहित) नियम १७१ अनुसार गाउँपालिकाले पालिकामा रहेका सामुदायिक विद्यालय तथा सामुदायिक सिकाइ केन्द्रको लेखा परीक्षण गर्न लागेको हो ।